Headlines News :
Home » » रात्रीबसको यात्राबारे एउटा मन छुने प्रेम कथाः सीट नं- १२

रात्रीबसको यात्राबारे एउटा मन छुने प्रेम कथाः सीट नं- १२

Written By news on Friday, 12 August 2016 | 00:13


नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क आँशु झरे । मलाई यो नारीको कमजोरीपना त्यति उचित लागेन । त्यसैले मैले पनि नारी गुण देखाएर आमाको सार मिलाउनुको सट्टा नदेखेजस्तो गरेर टारेँ ।
काम विशेषले म काठमाडौँबाट विराटनगर जानुपर्ने थियो । घरमा बूढा भईसक्नुभएका आमा-बुबामात्र हुनुहुन्थ्यो । दाजुभाइहरू सबै परदेशमै थिए । त्यसैले मेरो सहयोगी कोही पनि थिएनन् । अर्कोतिर मैले आˆनो सक्षमताको परिचय दिनु पनि थियो । त्यसकारण मैले मेरो यात्रा एक्लै नै गर्नुपर्ने थियो । आमा-बुबाको दृष्टिमा त म कमजोर नारीकै रूपमा गनिन्थेँ । त्यसैले पनि सुरक्षा र सजिलोको दृष्टिले मलाई दिउँसोको बसमा जाने सल्लाह दिनुभयो ।
म आफ्नो सामान बोकेर हिडेँ । बस स्टेण्डमा पुगेर टिकट काटेँ । विद्यार्थी सहुलियत भाडा दिएपछि मलाई चौध नं.को सिट देखाइदियो । सहुलियत दर भाडा वा रोजिएको अगाडिको सिट दुबैमा मैले एकलाई चुन्नु थियो । मैले सोचेँ- “आखिर गाडि एउटै त हो नि…अगाडि बसे पनि पछाडि बसे पनि के को फिक्री ?”
गाडीमा चढेँ । दाहिनेपट्ट िझ्यालको सिट चौध नंको रहेछ । आˆनो सामान त्यही सिटमुनिहालेँ, केही माथी छज्जीमा राखेँ । मनमा कौतूहल जाग्यो- “अर्कौ खाली सीट कसको होला ? आइमाई होला कि लोग्नेमान्छे ? तरुनी वा तन्नेरी नै होलान कि बुढाबुढी ? तल्लो स्तरका भुत्रे झामे्र काम गर्ने ढाक्रे खालका होलान कि उच्च स्तरका स्मार्ट…? म सोच्दै बसेँ …।
यो सीटमा कुनै आकर्षक युवक परे पनि लामो र पट्यारलाग्दो यात्रा सजिलै कट्थ्यो” भन्ने मिठो कल्पना गर्न थालँे । अनि हिँड्ने बेलामा आमाले “आइमाई भएको सिट मिलाएर बस्नु है” भन्ने सम्झिएँ । अनि आमाको त्यस वाक्यप्रति उपेक्षित हाँसो हाँसे । किनकि कुनै तन्नेरी युवकसँगको सामिप्यतामा गरिने यात्राको मज्जा बिचरा मेरी बूढी आमालाई के थाहा र.. ।
गाडीमा चढने प्रत्येक व्यक्तिलाई म कौतूहलपूर्ण रूपले हेर्ने गर्थेँ । कतै यही त हैन मेरो सिटपार्टनर…। हमसफर…। सहयात्री…।
अरू सिट एकाएक गर्दै भरिन लाग्यो, तर धेरै समयसम्म पनि मेरो सिटमा दाबी गर्न कोही पनि आएनन् । केही क्षणपछि एउटा झुत्रे..काम गरेर खाने जस्तो..सोझो..झुस्स दाह्री जुँगा भएको व्यक्ति नजिकै आएर “पन्द्र नंको सिट यही हैन” भन्यो ? मैले उसको हुलिया र स्थितिप्रति उपेक्षित भावले नाक खुम्चाउँदै आफू सभ्य हुनुको परिचय दिँदै “हो” भन्ने जवाफ दिएँ । मेरो भित्री आकाङ्क्षा र चाहना सबै चकनाचुर भयो । कहाँ स्मार्ट युवकको प्रतिक्षा गरिरहेकी म त्यस्तो झुत्रे झ्याउरेसँग यति लामो यात्रा गनुपर्ने…। कसरी दिनभरीको यात्रा यस्तो व्यक्तिसँग बसेर काटौं… । क्या बोर…। म छट्पट्टएि…। निस्सासिएँ…। बस्न नदिउँ भने ऊ उसको सिट दाबी गर्न आइरहेको छ…। दिउँ भने…उफ…!!
मैले अगाडि पछाडि सबैतिर हेरेँ । सायद कसैले पनि मेरो छटपंटिलाई बुझिरहेको थिएनन् । ठीक मेरो अगाडिको दुवै सिट खाली थियो । अैलेसम्म पनि त्यो सिटमा बस्ने कोही आएका थिएनन् । सायद यो खाली नै होला भन्ने ठानेँ र जुरुक्क उठेँ अनि “तपाई बस्नु है” भनेर अघिल्लो सिटमा गएर बसेँ । त्यो बाह्र नंको सिट रहेछ । मैले झसङ्ग आमाले भनेको संझिए । “भरसक झ्याल र आठ बाह्र नंको सिट नपार्नु है । फाप्दैन…।” तर म त घुमीफिरी बाह्र नंको सिटमा नै पो परेछु…।
हुनत मजस्तो पढेलेखेको मान्छेले र आज एक्काइसौँ शताब्दीमा आएर पनि यस्तो अन्धविश्वास गर्न नचाहे पनि परम्परागत संस्कारमा हुर्किएको मेरो मनले सोच्यो- “कतै बाह्र नं. सिट साँच्चै नै नफाप्ने पो हो कि…? अब फापे नफापेको प्रमाण त मेरो सिट पार्टनरको रूपमा आउने यात्रीले गर्छ । यदि मेरो भित्री चाहना अनुरूपको यात्री पर्‍यो भने फापेको मान्नुपर्ला…। नत्र नफापेको…।” मलाई अर्को डरपनि थियो कतै यो सिट दाबी गर्ने कोही त आउँदैन ? यो सिट खाली नै छ भन्ने निश्चित पनि त थिएन ।
म झयालबाट बाहिर देखिने क्रियाकलापहरू हेरिहरेकी थिएँ । ड्राइभर, खलासी, कण्डक्टरहरू नजिकैको पसलमा चिया खाइरहेका थिए । कुल्लीहरू/भरियाहरू गाडीमा सामान लोड गरिरहेका थिए । बाहिर चोकमा कतिपय मान्छेहरू आफन्तलाई गाडी चढाउन आएका र बिदाईका हात हल्लाउँदै गाडी हिँड्ने प्रतीक्षामा उभिइरहेका थिए । साना केटाहरू पत्रिका बेच्न कराइरहेका थिए । सडकमा राजधानीबाट बाहिर जाने गाडीहरू ध्र्यार-ध्र्यार गरिरहेका थिए । खलासी र टिकट दलालहरू सम्बन्धित ठाउँको नाम लिएर यात्रुहरू डाकिरहेका थिए । धरान-धरान, विराटनगार-विराटनगर, काँकडभिट्टा-काँकडभिट्टा आदि ।
“एक्सक्युज मी” बाह्र नं. सिट त मेरो थियो । एउटा पुरुष स्वरले मेरो छेउमा पुकार्‍यो । म झसङ्ग भए । किन कि बाह्र नं सिटमा त म बसिसकी थिएँ र कोही यो सिटको हकदाबी गर्न आइरहेको थियो ।
मलाई के गरौँ कसो गरौँ भयो । हुन त एघार नं.को सीट पनि खाली नै थियो । तर म त्यता बस्न चाहन्नथेँ । किनकि उभिएका मान्छे वा लोकल यात्रीहरू अथवा कन्डक्टरहरू आˆनो जीउ दराल्दै हिँडेको अनि उभिने बहानामा बस्नेसँग त्यसमा पनि केटीसँग ढेसिएको मलाई पटक्कै मन पर्दैनथ्यो । त्यसैले झ्यालपट्ट िबस्न मलाई मनपर्थ्यो र आफूलाई सुरक्षित ठान्थेँ । मैले खाली भएको सिटपट्टी इशारा गर्दै भने- “म झ्यालतिर बस्छु…। तपाई यता बस्नुस् न हुँदैन र ?” यति भन्दै मैले उसको अनुहार हेरेँ । अहँ ऊ मेरो चहानानुरूपको आकर्षक रूप रङको स्मार्ट पटक्कै थिएन ।
मलाई झनक्क रिस उठयो ऊप्रति…। किन र के कारणले रिस उठयो त्यो मलाई थाहा थिएन । तर रिस उठनुपर्ने वास्तविक कारण त्यही मान्छे, जुन मेरो चहानानुरूपको नहुनु नै थियो सायद…। उसको कुनै प्रतक्ष दोष थिएन । थियो केवल मेरो कल्पना र मनले सोचेजस्तो सुन्दर नहुनु मात्र ।
हुन त मेरो भित्री इच्छा पनि सिट पार्टनर कुनै पुरुषको नै अपेक्षा थियो र ऊ पनि पुरुष नै थियो । एकप्रकारले त मेरो आकाँक्षा पूरा नै भएको थियो । तर यहाँ त समस्या झन खडा भयो पुरुष त पर्यो तर चाहनानुरुपको आकर्षक र राम्रो परेन ।
“कस्तो अनुहारपनि नपरेको मान्छे…। त्यसमा पनि कालो चस्मा लगाएको…। हेर्दा गुण्डाजस्तो…। हैन, अनुहारपनि हुनुपर्छ नि गगल्स लगाउनलाई त…। सुहाओस नसुहाओस् । केटीलाई चिहाई चिहाई हेर्न लगाएको होला नि…।” एक्कासी मनमनै आक्रोस पोखेँ ।
“अब यति राम्री, जवान केटीसँग ढेसिएर, एकै सिटमा यात्रा गर्न पाउँदा त मख्ख पर्‍यो होला नि ! फेरी कहाँको पात्ले घारीमा जुका टिप्दै भेडा हेर्नेको छ जस्तो रूपरङ र हुलिया पनि । खुबै कति न शिक्षित र पढेलेखेको भएजस्तो गरेर अँगे्रजी बोल्छ- “एक्स्क्युज मी” त्यसको अर्थ त थाहा छैन होला त्यसलाई…।” अझै रिस मरेन मेरो । मैले मनमनै त्यो मान्छेलाई थुप्रै गाली गरेँ…।
ममा रूपको घमण्ड थियो । सायद त्यसैले होला म नराम्रो मान्छेलाई घृणा गर्दथेँ । आफूजस्तै राम्रो मान्छेसँगमात्र बिहे गर्छु भन्ने भित्री आकाङ्क्षा थियो । त्यसैले त अहिले पच्चिस कट्दा पनि बिहे गरेकी थिइनँ । आफूले खोजेजस्तो सुन्दर नभेटेकोले…। अनि अर्कोकुरा, म नराम्रा मान्छे सबैलाई फटाहा नै ठान्थेँ र उसलाई पनि मैले त्यस्तै ठानेँ ।
गाडीका सिट लगभग पुरै भरिए । म त्यो मान्छेपट्टी फर्किंदापनि नफर्की, त्यसलाई मजाले हेर्दापनि नहेरी, अर्कोपट्टी फर्केर झ्यालबाट देखिने दृष्यहरूमा भुलिन थालेँ । ऊभने कति न शिक्षित र सभ्य भएजस्तो भएर पत्रिका पढन थाल्यो । अनि सायद मसँग बोल्ने निहुँले होला ‘पढ्ने हो , भनेर मतिर बढायो । मैले समाएँ तर पढने मुढ नै थिएन । शीर्षक पढदै पाना पल्टाउँदै गएँ ।
गाडी कलंकीबाट गुड्यो र क्रमशः काठमाडौँलाई बाई-बाई गर्दै फुत्त ओरालो लाग्यो । पहाडी क्षेत्रको नागबेली परेको घुमाउरो बाटोहँुदै । म आँखाभरि पारी गाउँका रमाइला र मनोरम दृष्यहरूलाई सँगाल्दै त्यो मान्छेप्रतिको वितृष्णा वा आक्रोश शान्त पार्ने प्रयास गर्दै थिएँ ।
धार्केमा चियानास्ता खानकोलागि गाडी रोकियो । सबै यात्रुहरू उत्रिए । मेरो सहयात्री पनि तल उत्रियो ।
मेरो बराबरीको अर्को सिटमा एउटी महिला थिइन् । उनीपनि सायद एक्लै थिइन् । त्यसैले मेरो साथी तल उत्रिएको बेला मैले आफ्नो सँगैको सिटमा तिनै महिलालाई राख्ने विचार गरेँ । म आफ्नो सिट पार्टनरलाई हटाउन चाहन्थेँ । यस्तो मनले नरुचाएको व्यक्तिसँग यात्रा गर्नु भन्दा त बुढी आइमाईसँग बस्नु नै राम्रो…। त्यसैले मैले उनलाई बोलाएँ, “ए दिदी तपाई यहाँ आउनुस न । केटी केटी मान्छे मिलेर बसौँ । यहाँको मान्छेलाई बरु त्यता पठाइदिउँ हुन्न ?”
उनले पनि सजिलै भनिन्- “अहँ नाइँ ! म त आउँदिन ..। तपाईं बरु यता आउनुस न…।”
उल्टै उनले पो मलाई बोलाइन् । मेरो कुरा उनले सजिलै अस्विकार गरिदिइन् । मलाई ती आइमाईप्रति पनि रिस उठ्यो किनकि मैले सोचे बिपरित उनले नै मलाई पो बोलाइन् । मेरो कुरा त सजिलैसँग इन्कार भएकोमा मैले मनमनै गाली गरेँ …”हेरन ! कस्ती मै हुँ भन्ने रहिछे…। हेर्दा भने कस्ती काँठे छे…। यता आइज न भन्छु, उल्टै म पो उता जानु अरे…। हैन, त्यसले मलाई के सम्झिएकी छ…हँ ? म जान्छु कि केहो ऊ पट्टि…?? त्यससँग निहुरिन जानुभन्दा त बरु यही पाखेसँग बस्नु नै जाति ।” मैले आफूलाई नै जिताउने अठोट गरेँ…।
मैले आफैंले प्रर्याप्त खानेकुरा बोकेकी थिएँ । झिकेर खाएँ । बोटलको पानी पिएँ । पुनः यात्रीहरू आ-आफनो ठाँउमा आएर बसे…।
मेरो सहयात्री भनाउँदो पनि आएर बस्यो । मैले उसलाई यसो ध्यान दिएँ लगभग ऊ र म सँग सँगैका जस्ता लाग्यो, म पनि बच्ची थिइनँ । छब्बीस टेकिसकेकी थिएँ । सामान्य स्तरको रफ लगाइ र आँखामा कालो चस्मा र नपरेको अनुहार त्यसमा पनि कालो वर्णको । उसको हुलिया देखेर मैले सोचेँ, दिनभरीको जवान केटीसँगको यात्राको फाइदाचाहीँ यसले पक्कै पनि उठाउने नै छ । बरु म उसलाई भाइ भन्ने सम्बोधन गरिदिन्छु । सायद यसो गर्दा त ऊ दिदी माथि केही गर्न सक्दैन वा दिदीप्रति को मर्यादाले मप्रति कुभावना राख्न पनि अलिक आँट आउँदैन कि । कुनै अभद्र व्यवहार गर्दैन कि ।
म यता यस्तै सोचेर टोल्हाउदै थिएँ । “बहिनी कहाँ जाने ?” उसको एक्कासीको प्रश्नले र त्यसमा पनि बहिनी सम्बोधनले म झसङ्गै भए । म उसलाई “भाइ” बनाउन खोज्दैछु तर उल्टै उसैले पो मलाई बहिनी भनेर सम्बोधन गर्‍यो ।
सायद उसले आफ्नो पौरुषत्व देखाएको होला । बहिनी भनेपछि त जे गर्न पनि सकिन्छ भनेर अधिकार देखाउन खोजेको होला नि ! मसँग ढेसिएर बसौँला.., छिल्लिएर जिस्कौं ला, गाडी गुड्दा हल्लिएको बहाना गर्दै बेलाबेलामा मेरो शरीर छुन पाउँला अनि निदाएको बहानामा मेरो काँधमाथि झुलौँला…। म निदाएको बेला सुम्सुम्याउँला…भन्ने सोचेको त होला नि त्यस मोराले…।
मेरो मनमा चिसो पस्यो…। मुटु ढक्क भएर फूल्यो…। सम्भावित घटना घटन सक्ने परिकल्पनामा अनेकाँै शङ्का-उपशङ्काहरू रुमल्लिन थाले मष्तिस्कमा । म अब आफू असुरक्षित हुन सक्छु भन्ने शङ्काले झन् सर्तक हुन थालेँ…। वास्तवमा बाह्र नंको सिट फाप्दो रहेनछ त । अपसकुन नै हुदोँरहेछ…। यस्तै यस्तै तर्कना गर्नथालेँ म…।
धेरै लोग्ने मान्छेहरू गाडीमा वा अन्य ठाँउमा भएको भीडको फाइदा लिइहाल्छन् । सिटमै बसेको छ भने पनि विभिन्न बहानाले छुन खोज्छन् । हात बाँधेर बस्ने बहानामा केटीका संवेदनशील अंगमा छुन खोज्छन् कोही भने निदाएर र थाहा नपाएको (बहाना) अभिनय गर्दै आफ्नो शरीरलाई लथालिङ्ग छोडिदिन्छन् अनि केटीको काँधमा टाउको बोकाउन पनि पछि पर्दैनन् । उभिएको छ भने पनि जहाँ केटी छ, त्यहीँ नजिक आइपुग्छन् । अनि गाडीको असन्तुलनसँगै आˆनो शरीर पनि असन्तुलन भएको बहाना गर्दै केटीसँग ठोकिन्छन् । यो त उनीहरूको सामान्य प्रयासमात्र हो ।
लोग्नेमान्छेका यस्ता सस्ता कुप्रवृतिबाट परिचित मपनि उसलाई त्यही प्रवृत्तिकै सोच्न थालेँ । समय दिउँसो भए पनि सिटमा ऊ र म मात्र त थियौँ । लामो दुरीको यात्रामा ऊ पनि निदाएको बहानामा शरीर मलाई बोकाउन सक्छ । अथवा म निदाएको बेलामा उसले मौकाको फाइदा उठाउन सक्छ । हातहरू मेरो शरीरमा ल्याइपुर्‍याउन सक्छ । जे पनि त हुन सक्छ ।
यदि यस्तै नै भयो भने..? त्यसले त्यसै गर्‍यो भने ? अहँ म त कसैगरी पनि निदाउँदिन । म त सिधै कराउँछु । हकार्छु । अनि पछाडि गएर बस्ने धम्की दिन्छु । म भित्रभित्रै निकट भविष्यमा घट्नसक्ने संभावित घटनाकोलागि पूर्व तयारी गर्नथालेँ । अनि अझ खुम्चिएर सानो भएर बसेँ…।
म यस्तै यस्तै सोचिरहेकी थिएँ । उसले फेरी सोध्यो- “बैनी ! कहाँ जाने हो ?”
“विराटनगर” मैले सटिक उत्तर दिएँ सकभर उसलाई आˆनो सहि परिचय नदिने उद्देश्यले आˆनो ठेगाना भनिन् ।
“नास्ता खान किन नगएको त ?” उसले सायद मप्रति अपनत्व देखाउँदै सोध्यो ।
“हैन खानेकुरा मसँगै थियो, यहीँ खाएँ” मैले नचाही नचाही पनि उत्तर दिएँ ।
“म पनि जनकपुर जान भनेर हिडेको थेँ, फेरि जान मन लागेन…। काँकडभिट्टासम्म जानुपर्ने काम थियो, उतै जान्छु भनेर लागेको…” मैले नसोधिकन नै उसले आˆनो गन्तव्य बतायो ।
“पुरै यात्राभरि साथ पाउने भइस मोरो ! त्यसैले त निहुँ पारी-पारी बोल्न खोज्दैछस् ।” मैले मनमनै त्यसलाई गाली गरेँ ।
मैले उसप्रति गहिरो चाख नदेखाएकोले होला सायद, ऊ चुपचापसँग हात बाँधेर बस्यो । मलाई कतै छुइन्छ कि भन्ने सतर्कता अपनाउदैँ । म झयालबाट देखिने बाहिरी दृष्यमा अलमल्लि रहेँ । ऊ चुपचाप भएकोमा मलाई पनि ढुक्क लाग्यो ।
धादिङ पुगेपछि आˆनै गतिमा गुडिरहेको गाडि घचक्क रोकियो । सबै यात्रुहरूले उत्सुकताबस बाहिर हेरे । खालासीले भन्यो “ल गाडी जाममा परेजस्तो छ ।” मैले पनि झ्यालबाट हेरेँ अगाडीको सडक पुरै गाडी नै गाडी । हल्लखल्ला भयो, “कृष्ण भीरमा पहिरो गएको छ अरे । गाडी जानै सक्दैन…। अब के गर्ने…?” सबैको मुहारमा प्रश्न झल्कियो ।
मेरो सहयात्रि पनि निकैबेर पछि ब्युँझियो वा त ब्युँझिएको अभिनय गर्‍यो । “के भयो ?” भन्दै चनाखो भयो । मलाई बोल्न करै लाग्यो- “गाडी जाममा पर्‍यो अरे ।”
अरू यात्रुहरूसँगै ऊपनि तल उत्रियो बस्तुस्थिति बुझ्न । एकछिनपछि तल उत्रिएकाहरूले खबर सुनाउन थाले । ऊ पनि अरूलाई भन्दा खासगरी मलाई खबर सुनाउन आयो । “बाटो नै छैन अरे… गाडी जाने त चान्स नै छैन…। पुरै जाम छ …।” उसले सुनाएको यस कुरालाई चाहिँ मैले राम्रै ध्यान दिएर सुनेँ । किनभने यो त मेरो पनि चासोको विषय थियो ।
ऊ पुनः उत्रियो…। वातावरण उराठलाग्दो थियो । तल धमिलो त्रिशुली बटारिएर आˆनै गतिमा बगिरहेको थियो । माथि त्रिशुलीको भीरमा कुनै महान व्यक्तिको स्वागतमा पंक्तिबद्ध उभिरहेका स्वागतार्थी जस्ता रंगिचंगि गाडीहरू दोहोरो लाइनमा खडा थिए । मध्यान्हको घाम । त्रिशुलीको खोँच । घामले तात्तिएर चौपट्टै उष्ण गर्मी थियो ।
गाडीका यात्रुहरूले बोकेको पानी सकिइसकेको थियो । त्रिशुलीको वेगलाई हेरेर तिर्खाएको जिब्रोले ओठ चाट्नुपर्ने अवस्था थियो । किनभने नजिकै बाटामा कतै घरहरू थिएनन । तल हेर्दा कहालीलाग्दो उर्लिएको त्रिशुली । माथी हेर्दा आक्कासिँदो भीर र त्यही भीरको बीचमा भएको बाटोभरि गाडी नै गाडी र मान्छेहरू ।
खानेकुरा बोकेका यात्रुहरूले आफूसँग भएका खानेकुराहरूले भोक मार्न थाले । नहुनेहरू सन्तोष मानेर निन्द्रासँग भोक साट्ने प्रयास गरिरहेका थिए । सधैँ नौ बजे खाना खाने बानी । आज त बाह्र बजिसकेको थियो । त्यसैले मैले पनि आˆनो सिट पार्टनर नभएको मौका पारेर कुपुकुपु खाएँ आफूले बोकेका खानेकुरा । एकक्षण पछि त ऊ पनि आइपुग्यो ।
“कस्तो भोक लागिसक्यो…कतै घर पनि छैन…होटलपनि छैन । दोकान भए त चाउचाउ बिस्कुट किनेर खानुहुन्थो नि…केही पनि छैन” भन्दै सिटमा आएर बस्यो ।
अहिले मैले बाह्र नंको सिटको अपसकुनलाई सम्झिएँ । एक त मनले नरुचाएको साथी पर्नु, अर्को यस्तो जाममा पर्नु, खान नपाउनु…। सबै सम्झिँदा आठ बाह्र नंले पिर्छ भन्ने आमाको मान्यतालाई मैले नचाहँदा नचाहँदै पनि सप्रमाण स्विकार्न पुगेँ ।
मौकाको फाइदा उठाउन गाडी रोकिएको ठाँउबाट एक दुई कोश वरपरका टुकुरे दोकानका व्यापारीहरू चाउचाउ र बिस्कुटको प्याकेट लिँदै आइपुगे । दशको पन्ध्र भन्दापनि सजिलै बिक्यो उनीहरूको सामान । किनकि काठमाडौँबाट पूर्व लाग्ने सबै गाडी त्यहिँ थुपि्रएका थिए । यात्रुको अनुपातमा त्यो सामान थोरै थियो । फेरि दिउँसो एक बजिसकेको थियो । भोकको अगाडि पन्ध्र रुपियाँ सामान्य नै थियो ।
एउटा फुच्चेले कार्टुन बोकेर चाउचाउ भन्दै आयो ।झ्यालबाट उसले त्यस केटालाई भित्र आउने इशारा गर्‍यो तर ऊ आइपुग्दा नपुग्दै अगाडीको यात्रुहरूले कार्टुन रित्याइहाले । मेरो सहयात्री हेरेको हेर्‍यै भयो । अनि बाध्य भएर धैर्य हुन खोज्यो र कुनै उपाय नभएपछि पुनः सिटमा नै चुपचाप लागेर बस्यो । ठिक्क पर्याे भन्यो मेरो मनले ।
बाटो यति भीड थियो कि श्वास पनि नछिर्ला जस्तो । तै पनि अलिकति ठाँउ भेट्टायो कि डाइभरले गाडी सुलुत्त निकाली हाल्थो । त्यस्तो सानो बाटो । दुवैपटि गाडी तैपनि प्रतिस्पर्धामा गाडी निकाल्यो अनुभवि डाइभरले । तर आफ्नो भने जिउ नै सिरिङ्ग हुन्यो ।
अलिकति अगाडी बढेर रोकियो गाडी । त्यहाँ बाटामा दुई चारवटा घर र खुद्रा पसल देखिए । त्यो सबैको आशाको त्यान्द्रो थियो फेरि सबै यात्रुहरूसँग ऊ पनि उत्सुकतावश बाहिर देखिएका घरहरू चियाउन थाल्यो । अनि यसो मपटि ढल्केर उसले आफ्नो पाइन्टको भित्री गोजीबाट एउटा पैसाको बन्डल निकाल्यो र “खुद्रा पैसा पनि बाहिर रहेनछ” भन्दै चार पाँचवटा हजारका र चार पाँचवटा नोट फटाफट निकाल्यो । मैले ध्यान दिएँ, ऊसँग कम्तिमा पनि लाख जति पैसा थियो । बाँकी पैसा पुनः यथास्थानमा राखेर तल उत्रियो ।
म छक्क परेँ । हेर्दा त्यस्तो खाते जस्तो छ । पाँच रूपैयाँ पनि मागेर पाउला जस्तो छ तर यत्रो पैसा…? मलाई आश्चर्य साथै डर पनि लाग्यो । जनकपुर हिँडेको भन्दै काँकडभिट्टा जान्छु भन्छ । सामान पनि खास केही भएजस्तो लाग्दैन । फेरी गगल्स लगाएर काग जस्तो देखिन्छ । पक्का पनि यो मान्छे गुण्डा हो यता दुइनम्बरी काम गर्ने हो । कि त केटी बेच्ने दलाल पो हो कि…? नत्र किन यसले यत्रो पैसा बोकेको छ ? कहाँबाट ल्याएको होला यत्रो पैसा ? यस्तो खाते जस्तो मान्छेले ??
मलाई त ऊ देखि झन डर लाग्यो । कतै यसले बिभिन्न उपायले, तरिकाले मलाई पनि बेच्न लग्यो भने ? भयंकर शङ्कालु प्रश्न म आफैभित्र उब्जियो । “गाडीमा अपरिचितले दिएको कुनै पनि खानेकुरा नखानु” भन्ने कुरा सम्झेँ । उसले पनि मलाई बाध्यतावश कुनै कुरा झुक्याएर खुवाउन सक्छ । बेहोशीमा ललाएर, फकाएर लैजान र बेच्न पनि त सक्छ ।
मेरो मुटु झन फूल्यो । ऊ पुनः खिन्न हुँदै आयो र मलाई आफै सुनायो- “पसलमा केही पनि छैन अगाडिका यात्रुहरूले सबै खानेकुरा सकिसकेछन् । मरिने भइयो भोकले ।”
उसले भनेको कुरालाई मैले खासै ध्यान दिइनँ । मलाई डर लागेको कुरा वा उसको सत्य पत्ता लगाउने उत्सुकता जागिरहेको थियो । त्यसैले मैले पत्ता लगाउने उद्धेश्यले डराउँदै सोधेँ- “तपाई के काम गर्नु हुन्छ ?”
“म एउटा व्यावसायिक संस्थामा काम गर्छु ।” उसले भन्यो । “म त्यसको व्यवस्थापक हुँ । संस्थाको कामले नै काठमाडौँ आएको थिएँ । एउटा मान्छेलाई नभेटी नहुने थियो । अब काँकडभिट्टा जाँदैछु ।”
“उफ व्यवस्थापक रे हेर्दापनि त्यस्तै लाग्छ….” मैले मनमनै उपेक्षा गरे उसलाई ।
एउटा यात्रु गाडीमा चढ्यो र भन्यो “कोही भात खान चाहन्छ भने यहाँ एउटा (होटलमा) घरमा गुन्द्रुक र भात रु चालीसमा पाइन्छ अरे ।”
उसलाई सायद ज्यादै भोक लागेको थियो । म त गुन्द्रुकसँग भए पनि भात खाने भनेर हत्त न पत्त उत्रियो । तर उ उत्रिएको केही बेरमा नै सडकका गाडी अलिकति चल्मलाए । हाम्रो ड्राइभरले पनि गाडी ध्यार्र…टिं…पारिहाल्यो । खलासीले सबै यात्रीलाई बोलायो सबै यात्रु आए । गाडी हिँडयो । ऊ पनि सिटमा आएर बस्दै भन्यो, भात त पाकिसकेको रहेछ तर खानै भ्याइएन…।
म खुच्चिङ मार्दै मनभरि हाँसिरहेँ…। उसले खान नपाएकोमा ।
दिन क्रमशः ढल्कन लागेको थियो । समय दिउँसोको दुई वा तीन बजिसकेको थियो । अरू दिन यसबेला ढल्केबर वा लाहानतिर पुग्ने गाडी त्यसदिन त्रिशुलीलाई छोड्न सकेको थिएन । सबै यात्रुहरू अब भोकबाट लखतरान भएर सिटमा चुपचाप निदाउने अभिनय गर्न थाले । भोको पेटमा साँच्चीकै निदाउने चाहिँ सायद एक दुई जनामात्र थिए होला…।
अरु यात्रीको जस्तै मेरो सहयात्रीको अवस्था पनि दयनीय नै थियो । उसले धेरै प्रयास गरेको थियो भोक लाग्दा एकपेट खानलाई…। तैपनि केही पनि खान पाएको थिएन ।
ऊ भित्री रूपमा जे जस्तो भए पनि, जो भए पनि र मैले उसलाई जे जस्तो सोचे पनि मानवताको नाताले मलाई उसप्रति टीठ लाग्यो । मसँग खानेकुरा प्रशस्त थियो । फलफुल पनि थियो । मेरो मानवताले मलाई उसलाई केही दिन अह्रायो । बिचरा जे जस्तो व्यवसाय गरेर कमाएको भए तापनि त्यत्रो बिधि पैसा गोजीमा छ तर मुखमा एक गाँस पनि खान पाएको छैन ।
मान्छेहरू पैसालाई नै ठुलो ठान्छन् तर समय र परिवेश अनुसारमात्र पैसा ठूलो हुँदोरहेछ । खै त त्यत्रो पैसा उसको गोजीमा भएर पनि उसले भोक मेट्न सकेन त…। आखिर भोक मार्न त खानेकुरा नै त चाहिँदो रहेछ…जे जस्तो भए पनि…। पाँचतारे होटलको भए पनि मागेर खाएको एकमुठी भात भए पनि । आखिर जीवन धान्नु नै त मुख्य उद्देश्य हो रहेछ । मैले पैसा र खानेकुराको तुलना गरेँ र पैसाको मूल्यको पनि गणना गरेँ ।
मैले मसँग भएको खानेकुरा झिकेर उसलाई खान दिएँ । उसले लिन मानेन । मैले “लिनु न भोक लाग्यो होला” भनेर पुनः अनुरोध गरेँ ।
“बिहान मैले त नास्ता खाएको छु नि…बरु तपाईलाई पो भोक लाग्यो होला त…नास्ता पनि खानु भएन…।” उसले उल्टै पो मलाई सहानुभुति दर्शायो । नखाए नखा न त मोरा मनमनै भनेँ र क्वाम क्वाम पारेँ उसलाई दिन ठीक पारेको खानकुरा ।
मैले थाहा नपाएजस्तो गरेर उसलाई ध्यान दिएँ । भोकले उसको मन पनि उसको बसमा थिएन । बेला बेला उसका नजर चोरी चोरी मैले खाएको खानेकुरामा नै पर्ने गथ्र्यो । मलाई अझै दया लाग्यो उसप्रति । मैले पुनःअनुरोध गरेपछि उसले अप्ठ्यारो मान्दै लियो । मैले पनि अरू खाएँ । त्यसपछि उसको भोक केही शान्त भयो सायद, ऊ पुनः आरामले हात टाउकोमाथि राखेर बस्यो ।
हाम्रो अन्य बोलचाल भएन । ऊ निदाएको जस्तो लाग्यो । मैले ध्यान दिएँ, अभिनय नभएर ऊ साँच्चै नै निदाएको रहेछ ।
मैले उसलाई सर्सर्ती हेरेँ ।
उसको बसाई हेरेँ । अनि आफूले उप्रति लगाएका सम्भावित लान्क्षनाहरू दोहोर्‍याएँ । अहिलेसम्म लगभग नौ घण्टा सँगसँगै बसेको बेलाका क्रियाकलापको मूल्यांकन गरेँ । तर अहँ, मैले सोचेजस्तो शङ्का गरेजस्तो उसको क्रियाकलाप थिएन । ऊ सिधा र सर्तक भएर बसेको थियो । मपटि ढेसिएको पनि थिएन । उसको र मेरो बीचमा खाली ठाँउ थियो । म भन्दा पनि ऊ पो सतर्क भएर बसेको थियो । उसले न त मसँग अनावश्यक प्रश्न सोधेको थियो, न त फाल्तु गफ नै । कुनै पनि क्रियाकलाप गरेर मलाई छोएको पनि थिएन ।
मैले ऊ निदाएको मौका पारेर उसलाई नियालेर हेरेँ । थोरै कालो वर्णको…दाह्री जुँगा काटेको छोटो छोटो कपाल राखेको । मान्छे खासै नराम्रोचाहिँ हैन रहेछ । उचाई, शरीरको बान्की, अनुहारको बनौट पनि ठीकै रैछ नियालेर हेर्दा त । लुगा पनि साधारण । सेतो रङको कोठा कोठा भएको हाफसर्ट र खैरो रङको पाइन्ट लगाएको ।
अहिलेसम्मको उसको गतिविधि र पहिरन, बनावट, बोलाई, सबैको मुल्यांकन गर्दा ऊ मैले सोचेजस्तो फटाहा हैन रहेछ जस्तो लाग्यो मलाई । कता कता ढुक्क भएँ । त्यसैले मपनि अब निदाउने बहाना गर्नथालेँ । त्रिशुलीको लेदो पानी र पारी देखिने जंगलको दृष्यले मेरो आँखा पनि पोलिरहेको थियो ।
बामे सरेर पाँचबजे बल्ल नारायणगढ आइपुग्यो र रोकियो गाडी थचक्क । सबै यात्रुहरू चल्मलाउन थाले र उत्सुकतावश झयालबाहिर हेर्नथाले । ऊ पनि ब्युँझियो र गगल्स निकाल्यो आँखा (पुच्छ्यो) मिच्यो । मैले त्यसबेला देखेँ, उसको एउटा आँखा त पुरै सेतो पो रहेछ । सायद फूलो परेर बिग्रेको होला । त्यसैले पो उसले गगल्स लगाएको रहेछ । बल्ल मलाई थाहा भयो उसले गगल्स लगाएको वास्तविकता…। यसबेला मलाई मेरो शङ्का र उसप्रतिको उपेक्षाप्रति झिनो पश्चाताप लाग्यो…।
नारायणघाट सुरुसँगै मूसालधारे पानी पर्‍यो । असिना झर्‍यो त्यसैले एकाध घण्टा गाडी रोकियो । असिना र्झन छोडेपछि पुनः गाडी अगाडि बढ्यो । सबैको इच्छा केही खाने थियो । दिनभरिको गाडीको बसाई र भोकले यात्रुहरूको बोल्न सक्ने शक्ति क्षीण भइसकेको थियो । ड्राइभरले पनि सानैदेखि ठूलोसम्म सबै होटलमा गाडी लग्यो तर मुसलधारे पानी र कुबेला भएकोले यात्री सबैलाई पुग्ने खाजा/नास्ता समेत कतै पाइएन । पुनः लाचार भएर ड्राइभरले गाडी अघि बढायो ।
सधैँ यसबेला आˆनो गन्तव्यमा पुग्ने गाडी आज त्यो समयमा लगभग आधा बाटोको दुरीमात्र पार गरेको थियो । यसपछि गाडीले तीव्र बेग लियो । चन्द्रनिगाहपुर पुग्दा रातको दश बजेको थियो । त्यहाँपनि खाना पाइएन । एउटामा मात्र अघिल्लो बसका यात्रुले खाएर बाँकी रहेको खाना भेटियो । नपाउनु भन्दा जेजस्तो भए पनि त्यहि खाने भनेर सबैले खाना खाए । मेरो सहयात्री पनि गयो र मलाई पनि आग्रह गर्‍यो खान जान । मैले नखाने भनेँ । मैले आफूसँगै भएको खानेकुरा खाएँ ।
ऊ खाना खाइसकेर आयो र सहयात्री हुनुको कर्तव्य निभाउँदै मलाई पनि एउटा फ्रुटी र चटपटे ल्याएर दियो । म झसङ्ग भएँ “अपरिचितले गाडीमा खान दिएको नखानु” भनेको सम्झेँ । फेरि मेरो मनले अघि नै उसलाई केटी बेच्ने दलालसम्म सम्भिmसकेको छ । कतै ऊ त्यही त हैन ? फेरि खानेकुरामा बेहोस पार्ने औषधि मिसाएको त छैन ? अब त झन् रातको समय छ मैले थुप्रै कुराहरू सोचेँ र खान्न भनेँ ? उसले अनुरोध गर्दापनि मैले खाएको भनेर लिँदै लिइनँ । उसले त्यो आफै खायो । मेरो डर अलिक कम भयो । उसले आफै खाएकोमा ढुक्क भएँ ।
हाम्रो यात्रा पुनः सुरु भयो । रातको समय थियो । अब त गाडीमा बत्ती पनि निभेको थियो । दिनभरिको भोकै र अहिलेको खानेकुरा अनि गाडीको थकाई । सबै यात्रु ओइलाए । यात्रुहरू गफ गर्न छोडे । बस भित्र शान्ति छायो । कति जना त निदाएर घुर्न थाले । ऊ पनि पुनः अघिकै जस्तो गरेर आरामसाथ ढल्कियो । अघिकै जस्तो गरेर निदायो ।
गाडी तीव्र बेगमा हुइंकिरहेको थियो । म भने तनमन देखि नै जागै थिएँ । निन्द्रा मदेखि धेरै टाढा थियो । मैले चुपचाप ब्यागको गोजीबाट एउटा साडीपिन निकालेर हातमा लिएँ । जब ऊ बहाना गरेर मप्रति ढल्केर टाँसिन खोज्छ तब म त्यही पीनले र्वाम्म पारिदिन्छु अनि मजा चाख्छ यस मोराले….। मनमनै म दंग परेर ऊतिर हेरेँ र कुटिल हाँसो हासेँ ।
धेरै वेर सम्म म मौका खोजिरहेँ । उसले केही गर्ला र म जाइलागुँला वा आक्रामक हुँला भनेर । तर ऊ त केही गर्नु त कता हो कता सुइँ सुँइ निदाइ पो रह्यो । मेरो पूर्वतयारी बेकार भयो । हातमा झिकेर राखेको सेप्टि पीन पुनः व्यागको फीतामा खिलेँ ।
पुनः मेरो ध्यान ऊप्रति केन्दि्रत भयो । ऊ एकदम सर्तक मुद्रामा थियो । सायद निदाएको बेलामा अनजानवश मलाई छोइन्छ कि भनेर छेउमा र सर्तक भएर बसेको थियो ।उसको हरेक पक्षबाट मूल्यांकन गर्दा मेरो सोचाइभन्दा एकदम भिन्दै निस्कियो ऊ त । मेरा मनका अघिका ऊ प्रतिका भावहरू पुरै परिवर्तन भइसकेको थियो अब । । उसले जसरी मलाई ‘बहिनी’ भेनेर सम्बोधन गरेको थियो, त्यो सम्बोधनको र सम्बन्धको मर्यादा पनि त्यसैगरी राखेको थियो ।
मैले सोचेभन्दा बिपरित उसलाई पाउँदा म झन् छक्क परेँ ।उसको त्यो व्यवहार वा कर्तव्यपरायण वा भलादमीपन प्रति कताकता रिस पो उठ्यो मलाई त । उसले मलाई हराएको थियो । किनकि उसका भावना, सोच, व्यवहार त उच्च र पवित्र रहेछ तर सङ्कुचित र पाप त म मा नै पो रहेछ कि क्या हो ।
मेरो ऊ प्रतिका भावनाले अर्कै मोड लिए । अघि मलाई उसले मप्रति कुभावना राख्छ, गलत व्यवहार गर्नसक्छ भनेर रिस उठेको थियो । अब मलाई “उसले किन त्यस्तो व्यवहार गरेन ? पुरुष भएर पनि किन उसले आˆनो पौरुषत्व देखाउने प्रयास गरेन…।” भनेर पो रिस उठन थाल्यो ।
मैले उसलाई हेर्दै मनमनै गाली गरेँ- “यो कस्तो खालको लाटो वा हुस्सु पो रहेछ…। काँतर अनि डरछेरुवा…। पुरुष भएर पनि लाछी…। कि यो कतै नपुंशक पो हो कि…? नत्र यत्रो लामो यात्रा…सँगै एउटी नौजवान सुन्दरी केटी…। त्यसमा पनि एक्लै…। कस्तो समयको सदुपयोग गर्न, मौकाको फाइदा उठाउन नजानेको होला…। गाडीमा न त उसको परिचित कोही थिए, न त मेरो नै…। फेरि, ऊ र म पूर्णपरिचित पनि त थिएनौँ…कस्तो उल्लु …।
उसले चाहेका भए हाम्रो यतिलामो यात्रा रङ्गिन र रमाइलो पनि त हुनसक्थ्यो नि…। उसले मीठो-मीठो गफ गरेको भए हुन्थ्यो…। हाँसे हँसाएको भए हुनेथियो । मेरो सुन्दरताको बयान गर्दै मलाई फुरुक्क पारेको भए हुन्थ्यो…। जिस्किएकोे, चलेको भए हुन्थ्यो…। गाडीको कुदाई वा उप|mाइसँगै हल्लिएको बहानामा घरिघरि मसँग ठोकिएको भए हुन्थ्यो । अनजानमा भएको अभिनय गर्दै जानाजान ठोकिएको भए हुन्थ्यो…।
एउटा वस्यक केटा र केटी बीचको सामिप्यता वा अन्जानमै भए पनि स्पर्शको मीठो अनुभुति सायद यसलाई थाहै पो रहेनछ कि…? थुइक्क नपुशंक । रातको मौसम…। सुनसान समय…। साथमा जवान केटी…। ऊ भने आनन्दसगँ निदाई पो रहेको छ । कसरी सकेको होला…। कुनै पुरुषको स्पर्शको सुक्ष्म तृष्णा जाग्यो ममा । पुरुषको गन्धले रोमान्चित बनायो मलाई ।
ममा अर्कै किसिमको भाव पैदा भयो । अनि उल्टै उसलाई परीक्षण गर्न चाहेँ । घुँडा निरको भाग अलिअलि गर्दै टसाएँ । बिस्तारै ऊ भएतिर सरेँ । अनि निदाएको अभिनय गरेँ । निद्रावस्थामा गाडीको उफ्राइसँगै अनजानवश ऊसँग ठोक्किएको बहानामा घरिघरि जानाजान ठोक्किनँ थालेँ । अनि निदाएको बहानामा ऊपट्टी ढल्किएँ र उसको काँधमा टाउको अड्याउन खोजेँ…। तर ऊ निदाएकै थिएन या त निन्द्रामै भए पनि आफ्नो कर्तव्यप्रति सचेत थियो, ऊ अलिक पर सर्‍यो । मैले झन मस्त निन्द्रामा भएको अभिनय गर्दैरहेँ । जानाजान उसमाथि जिउ नै छोडिदएँ लत्रङग पारेर ।
“सरी है” भन्दै उसले आफ्नो हातमा भएको ब्यागले मलाई घचेटेर उठाउने कोशिस गर्यो । मैले झसङ्ग भएर ब्युँझिएको अभिनय गर्दै सचेत भएझैँ गरेँ ।
थुइक्क मोरा ! कमसेकम हातले छोएको भए त हुने । कति रमाइलो हुन्थ्यो होला । मनमनै कुडिएँ म । मलाई उप्रति एकातिर झन् रिस उठिरहेको थियो भने अर्कोतिर एकदम श्रद्धापनि लागिरहेको थियो ।
अनायास खलासीले “इटहरी झर्ने कोही छ” भन्यो । उ “छ है” भन्दै उठ्यो । आˆनो झोला टिप्यो र ‘गएँ ल’ भनेर उत्रियो ।
मैले घडि हेरेँ रातको दुई बजेको रहेछ । ऊ गएको हेरिरहेँ । मसँग करिब बीस घण्टा सँगै बसेर गयो ऊ । मेरो दृष्टिमा ऊ एउटा खाते थियो । पाखे थियो । गुण्डा थियो । काँतर थियो । केटी बेच्ने दलाल थियो । बलात्कारी थियो । डरछेरुवा थियो । नपुंसक थियो, अनि नाता र रगतको सम्बन्ध बाहेकको एउटा संरक्षक वा ‘दाइ’ थियो । तर ऊ वास्तवमा को थियो ? के नाम थियो ? त्यो मलाई थाहा थिएन । न त मैले नै सोधेँ न त उसले नै बतायो ।
ऊ गइसकेपछि सिट हेरेँ। मलाई मेरै आत्मीय जनसँगको बिछोडको अनुभुति भयो । बिचरा ! रातको दुईबजे सुनसान सडकमा कहाँ जान्छ होला ? उज्यालो हुन्जेल कहाँ बस्छ होला ? उसँग यत्रो पैसा छ कतै कसैले केही गरे भने…?? मलाई उप्रति सहानुभुति भयो । मैले अनुभव गरेँ…। वास्तवमा नै बाह्र नं.को सिट नै नफाप्दो रहेछ ।
गन्तब्यमा पुगेर गाडी रोकियो मैले आˆनो प्यारो बाह्र नं.को सिटलाई त्यसैगरी मन नलागी नलागी छोडेँ, जसरी मैले काठमाडौँ, थानकोट, कृष्णभिर, त्रिशुली…नारायणघाट, हेटौडा लगायत बाइस घण्टाको सहयात्रीलाई छोडेकी थिएँ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger