|
|
कुश्मा, २६ साउन –
मौसम खरावीका कारण मुस्ताङबाट पोखरा उडेका दुई हेलिकप्टर पर्वत सदरमुकाम कुश्मा बजारमा आकस्मिक अवतरण गरिएको छ।
हिमालपारिको जिल्ला मुस्ताङको लेतेबाट पोखरातर्फ फर्कदै गरेका मनाङ एयरका दुई हेलिकोप्टर बुधबार दिउँसो आकस्मिक अवतरण भएका हुन्।
पर्वतको सदरमुकाम कुश्माबजार स्थित शसस्त्र प्रहरी बलको चण्डिका गणमा रहेको खेल मैदानमा अवतरण गरिएको छ। मनाङ एयरको ९एन एएलडी र ९ एन एएलसी कल साइन हेलिकोप्टर मौसम खरावीका कारण आकस्मिक अवतरण गर्नुपरेको क्याप्टेन प्रकाश सेढाइँले बताए।
उनका अनुसार वर्षा र बाक्लो कुहिरोका कारण आकस्मिक अवतरण गर्नुपरेको हो। दुवै हेलिकप्टरमा दुई दुई जना नेपाली यात्रु सवार रहेका थिए। भारतीय पर्यटकलाई लेतेमा झारेर पुन अर्को उडान भर्नका लागि पोखरा आउँदै गर्दा एक्कासी मौसममा खराबी आएको अर्का क्याप्टेन कमल बुढाले जानकारी दिए। सुरक्षाको दृष्टिले समेत उपयुक्त ठानेर पर्वत सदरमुकाम कुश्माबजारमा अवतरण गरिएको हो।
मौसममा सुधार आएपछि मात्र गन्तव्यतर्फ जाने उनीहरुले बताएका छन्। उनिहरुको अर्को उडान पुन भारतीय पर्यटकलाई लिएर मुस्ताङको लेतेका लागि जाने रहेको पनि बताएका छन्।
अहिले पर्वत लगायत आसपासका क्षेत्रमा मुसलधारे वर्षा र बाक्लो कुइरो लागिरहेको छ।
|
|
Post a Comment