|
|
काठमाडौँ, २६ साउन – नेपालमा साउन २८ गते उग्र उल्कावर्षा हुने अनुमान गरिएको छ।
स्ट्रोनोमिकल सोसाइटीले साउन २ गतेदेखि सक्रिय ययाति उल्कावर्षा २८ गते अत्यधिक हुने अनुमान गरेको हो। सोसाइटीका अध्यक्ष खगोलविद् सुरेश भट्टराईका अनुसार २८ गते उत्कावर्षा उत्तर तथा उत्तरपूर्वी आकाशमा देखिने छ। २८ गते साँझ ६ः४५ देखि ९ः१५ सम्मको अवधिमा उल्कावर्षा बढी सक्रिय हुने अनुमान गरिएको छ।
अत्याधिक उल्का वर्षाको समय साउन २८ गते भएकाले साउन २७-२९ गते मौसम सफा रहे उल्का वर्षा हेर्न चाहनेका लागि सुनौलो मौका हुनसक्छ, सोसाइटीले भनेको छ, यसवर्ष प्रतिघन्टा एक सय वटासम्म उल्का वर्षा देख्न सकिनेछ।
उल्का वर्षाको स्रोत यायाति तारामण्डल भएको जस्तो देखिने हुनाले यसलाई ययाति उल्कावर्षा नाम दिइएको सोसाइटीले बताएको छ। सोसाइटीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘उल्का वर्षाको गति प्रति सेकेन्ड ६० किलोमिटरसम्म हुने भएकाले करिब ७० किलोमिटरमाथि पृथ्वीको वायुमण्डलमा घर्षण पैदा भइ यस्तो दृश्य देखिने गर्दछ।’
‘स्वीफ्ट टटलले सूर्यको परिक्रमा गर्न एक सय ३३ वर्ष लगाउछ। यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षामा धुलोका कण र चट्टान छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छेताराको कक्षाको नजिक आइपुग्छ तब धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तिब्र गतिले ठोक्किएर जल्दछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई नै हामी उल्का वर्षा भन्छौँ।’
उल्का वर्षालाई सामान्य बोलीचालीको भाषामा तारा खसेको भन्ने गरिन्छ।
|
|
Post a Comment