|
|
काठमाडौं, २६ साउन –
शेखर कोइरालालाई दिएको बचन तोड्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवालाई परराष्ट्रमन्त्री बनाउन पहल गरेका छन्। तर, सरकारको नेतृत्वकर्ता दल माओवादी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने अझै मानेका छैनन्।
सत्तारुढ दुई घटकबीच परराष्ट्र मन्त्रालय कांग्रेसले लिने लगभग सहमति भएको छ। सुरुमा माओवादीले सुरेन्द्र (राम) कार्कीलाई पराराष्ट्र मन्त्री बनाउन चाहेको थियो। तर, कांग्रेसले आफ्नो दाबी छाडेन।
त्यसबेला मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सरकारमा आए उनलाई दिने बहस पनि दुई दलमा भएको थियो।
तर, परराष्ट्र कांग्रेसले लिने सहमति भएपछि प्रधानमन्त्री प्रचण्डको सपथ लगत्तै भएको मन्त्रिपरिषद् विस्तारमा शेखर परराष्ट्रमन्त्री बन्ने अनुमान थियो। माओवादीले पनि कार्की नभए शेखरलाई भने परराष्ट्र मन्त्रालय छाडन सकिने बताएको थियो । तर, अन्तिम समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले उनको नाम पठाएनन्।
हिले भने कांग्रेस सभापति देउवा आफ्नै पत्नी आरजुलाई परराष्ट्र मन्त्री बनाउन पहल थालेका छन्। ‘देउवाले पत्नी आरजूलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाव दिइरहनुभएको छ, तर, हामीले मानेका छैनौं,’ प्रधानमन्त्री निकट उच्च स्रोतले भन्यो।
माओवादीले भने परराष्ट्र आफूले नपाए शेखरलाई मात्र स्वीकार गर्न सक्ने संकेत गरेको छ । प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘कांग्रेसबाटै बनाउने भए हाम्रो रोजाइमा शेखर कोइराला छन्, शान्ति प्रक्रियामा भूमिका खेलेको, मधेसलाई समेत बुझेको र छिमेकीहरुसँग सम्वन्ध सुधार्न शेखरसँग काम गर्न प्रधानमन्त्रीलाई सजिलो हुन्छ।’
देउवाले भने यो सुझाव मानेका छैनन् । देउवा समूहमा शेखरलाई मन्त्री बनाउन नहुने ठूलो दबाव छ। धेरैले आरजुको नामको विरोध गर्न सकेका छैनन्। तर, उनी नभए प्रकाशशरण महतलाई अघि सार्नु पर्ने तर्क देउवा समूहमा छ।
विगतमा गिरिजाप्रसाद कोइरालाले आफ्नी छोरी सुजाता कोइरालालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउँदा देउवा पक्षका नेताहरुले परिवारवाद लादेको आरोप लगाएका थिए। अहिले देउवाले यही परिवारवादको पदचाप पछ्याएको आरोप कांग्रेसभित्रै लाग्न थालिसकेको छ।
तर, अब परराष्ट्रमन्त्री डा. आरजु बन्छिन् कि डा. शेखर ? यो चाहिँ साउनभित्रै खुलासा भइसक्ने छ। किनभने साउनभित्रै मन्त्रालयलाई पूर्णता दिइसक्ने प्रधानमन्त्री प्रचण्डको योजना छ।
|
|
Post a Comment