|
|
काठमाडौं, १९ असार ।
सांसदहरूले नेपाल–भारतसम्बन्ध विग्रिएकोप्रति चिन्ता जनाउँदै यसलाई सुधारका लागि सुझाव दिएका छन् ।
संसदको आइतबारको बैठकमा विनियोजन विधेयक २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसदहरूले नेपाल–भारतको सम्बन्ध विग्रिदा धेरै नोक्सान भएको बताएका हुन् । उनीहरूले भनेका छन्, ‘नेपाल–भारतसम्बन्ध विग्रदा नेपाली जनताले ठूलो दुःख कष्ट झेल्नु परेको छ । नेपालमा भारतविरुद्धको भावना भड्किएको छ ।’ दैनिक नेपालमा खबर छ ।
भारतको हेपाह प्रवृत्तिले पनि नेपाल–भारतसम्बन्ध विगार्नमा भूमिका खेलेको सांसदहरूको आरोप थियो । विशेष गरेर एमाले निकट सांसदहरूले भारतकै कारण नेपाली जनतामा भारत विरोध भावना भड्किएको आरोप लगाए । उनीहरूले सन् १९५० को असमान सन्धीका विषयमा पनि समय सापेक्ष सुधारको माग गरेका थिए ।
सांसद लालबाबुप्रसाद यादवले छिमेकी मुलुकसँग कसरी सम्बन्ध सुधार गरेर अगाडि बढाउनु पर्छ भनेर सरकार सम्बेदनशील बन्नु पर्ने बताउनुभयो । ‘छिमेकीसँगको सम्बन्ध कहिल्यै पनि बिग्रन दिनु हुँदैन’, उहाँले भन्नुभयो, ‘दुई हात्तीले रमाइलो गर्दा त्यसको पीडा घाँसलाई हुन्छ भन्ने कुरालाई कसैले ध्यान दिनु हुँदैन ।’
संसदमा धारणा राख्ने अन्य सांसदहरूले सरकारले कुटनीतिक मर्यादाभित्र बसेर भारतसँग बिग्रिएको सम्बन्ध सुधारमा ध्यान दिनुपर्ने बताए । ‘जति ठूला कुरा गरेपनि भारतसँगको हाम्रो सम्बन्ध विग्रिएको छ’, सांसदहरूले भने, ‘यसलाई सुधार अनिवार्य भएको छ ।’
|
|
Post a Comment