Headlines News :
Home » » ‘घरकाले नै भने – जा….पोइल जा ! नबस तेरो को छ र यहाँ ?”

‘घरकाले नै भने – जा….पोइल जा ! नबस तेरो को छ र यहाँ ?”

Written By news on Saturday, 9 July 2016 | 22:53


अनि पढेर भोलीपर्सी के बन्ने सोंच छ ?’ मलाई उनको भविष्यको योजना जान्न मन लाग्यो । हुन त ७ वर्षकी बच्चीलाई के थाहा हुन्थ्यो र भविष्यका बारेमा ? तैपनि मैले सोधें ।
‘म त ब्रम्हकुमारी बन्ने हो ।’ उनले भविष्यको योजना सुनाइन् । मैले सोंचेभन्दा बिल्कुल फरक जवाफ थियो । सामान्यतया साना केटाकेटीले भविष्यमा कि त डाक्टर, इन्जिनियर या त पाइलट बन्ने भन्छन् । उनले पनि सायद यस्तै जवाफ देलिन् भन्ने मैले सोंचेको थिएँ । तर मेरो सोचाई पुरै गलत भयो ।
भविष्यमा ‘ब्रम्हकुमारी’ बन्ने उनको सपनाका बारेमा मलाई जान्न मन लाग्यो । अनि सोधें, ‘किन ब्रम्हकुमारी बन्ने ?
के हुन्छ यो बन्यो भने ?’ उनले जवाफ दिइनन् । मैले धेरै पटक सोंधे र पनि भनिन् ।
अलि परबाट हाम्रो कुरा सुन्दै गरेकी उनकी आमाले छेवैमा आएर भनिन्, ‘लौ के भनेको ब्रम्हकुमारी बन्ने ? हुँदैन ।

हेर नानी, कि त मास्टर बन्नुपर्छ अनि हामीजस्तै थुप्रै गरीबका छोराछोरीलाई पढाउनु पर्छ । होइन भने गरीब दुःखीका कुरा सुन्दै हिड्ने पत्रकार बन्नुपर्छ । ’
आमाछोरीको कुराले म अलमलमा परें ।
७ वर्षकी छोरीको ब्रम्हकुमारी बन्ने सपना ।
अनि छोरीलाई गरीब दुःखीको प्रिय बनाउने उनकी आमाको सपना |
उनको नाम मैले पहिले नै सोधिसकेको थिएँ, भविष्यको योजनाका बारे सोध्नुभन्दा पहिले । ‘नाम आकृति पराजुली । घर फुल्पिङकोट हो । जुगल बोर्डिङ हाइस्कुलमा टु मा पढ्छु । मनपर्ने सब्जेट साइन्स, अनि मनपर्ने सर चाहिँ मोहन सर । कम्प्युटर पढाउनु हुन्छ त्यसैले मोहन सर मन पर्छ ।’ मैले उनको बारेमा सोधेको प्रश्नहरुमा मिठो आवाजमा क्रमैसँग फटाफट जवाफ फर्काएकी थिइन्, उनले । फुल्पिङकोट कुन जिल्लामा पर्छ भन्नेचाहिँ थाहा थिएन उनलाई ।

२०७२ चैतको ५ गते सिन्धुपाल्चोकको चौतारामा घुम्दै गर्दा उनलाई देखेपछि मैले बोलाएँ, अनि कुरा गर्न थालेँ । उनलाई मैले चिनेर बोलाएको थिइनँ । यतिकै कुरा गर्न मन लागेर बोलाएको । साना बच्चाहरु खुबै मनपर्ने भएकाले नचिनेका बच्चाहरुसँग पनि बोलिरहेको हुन्छु । जुनसुकै ठाउँका बच्चा हुन्, उनीहरु बोलुन् या नबोलुन् म बोलाई हाल्छु ।
आकृतिसँग एकछिन कुरा गरेपछि म उनकी आमासँग कुरा गर्न थालें । मलाई जान्नु थियो कि, किन उनले छोरीलाई गरीब दुः खीको प्रिय बनाउन चाहेकी हुन् ? अनि मास्टर या पत्रकार नै बनाउने सपना किन देखिन् ? उनको सपनाको रहस्य त्यतिबेला थाहा पाएँ जब म उनको जिन्दगीको कथा सुन्न थालें । उनलाई आफ्नो दुःख कसैलाई सुनाउनु रैछ । थाहा छैन जीवनमा कतिलाई आफ्नो दुःख सुनाइन् । तर जब मलाई सुनाइन्, साँच्चै गाह्रो भयो निदाउन । उनको जीवनका कथाहरु लेख्ने हो भने त एउटा उपन्यास नै बन्थ्यो होला । मैले एउटा लेखमा कसरी अटाउन सक्थें र ?

म सुन्न थालें उनका कथा…..उनी भन्दै गइन् । ‘घर सिन्धुपाल्चोकको माङ्खा ७ । अहिले घरमा सासु र ससुरा हुनुहुन्छ ।  देवर देउरानी काठमाडौं बस्नुहुन्छ । घर छोडेको ६ वर्ष भयो । घरमा श्रीमान हुनुहुन्न । श्रीमान नभएपछि सपोर्ट गर्ने मान्छे पनि कोही छैन । बिरामी हुँदा उपचार गर्नपनि कसैले लादैँनन् ।

घरमा बस् भन्ने पनि कोही छैन ।{ जा….पोइल जा । यहाँ नबस तेरो यहाँ को छ र ? }भनेर घरकाले भनेपछि घरमा बस्नै मन लागेनँ । एकदिन होइन, दुईदिन होइन ….सधैको मानसिक तनाबले घरमा बस्नै सकिनँ ।’ सुन्दा कुनै चलचित्रको स्क्रिप्ट जस्तै लाग्ने यी वाक्यहरु देवीमायाले आफ्नो जीवनमा भोगका पीडाहरु हुन् ।
उनी आफ्नो कथा भन्दै गइन्, “करेन्ट लागेर श्रीमान बित्नुभयो । विद्युत् प्राधिकरणमा काम गर्नुहुन्थ्यो । श्रीमानको मृत्युपछि प्राधिकरणले दिएको ९ लाख पैसा सबै देवरले नै खाइदिनु भयो । प्राधिकरणले दिएको ९ लाख रुपैयाँमा एक रुपैयाँ पनि मैले देख्न पाइनँ । सायद यहि पैसा दिनुपर्छ भनेर होला मलाई पोइल जा भनेका । मामा ससुराको छोरीलाई श्रीमति बनाएछन्, उनकी छोरीलाई छोरी बनाएर पैसा निकालेर ल्याएछन् । तीन महिनापछि मात्रै थाहा पाएँ यो कुरा । तर हिम्मत हारेको छैन, एउटा छोरीलाई जसरी नि पढाउँछु । ” देवीमायाको कथा सुन्दैगर्दा मेरो आवाज आफैं रोकियो । म सुन्न मात्रै थालें ।

हुन त श्रीमान् हुँदा पनि उनले सुख भने पाइनन् । धेरैजसो बाहिरै बस्ने भएकाले उनका आनीबानी पनि थाहा छैन, देवीमायालाई । श्रीमानले खासै वास्ता गर्दैन थिए । खाए पनि भोकै बसेपनि, के खाइस् ? भनेर सोध्दैन थिए । श्रीमानको माया कस्तो हुन्छ भनेर अनुभव गर्न पाइनन्, उनले । २०६६ मा नुवाकोटको त्रिशुलीमा काम गर्दै गर्दा करेन्ट लागेर उनका श्रीमानको ज्यान गयो । त्यतिबेला छोरी एक वर्षकी मात्रै थिइन् । बिवाह भएको दुई वर्षमै श्रीमानको साथ छुट्यो, त्यो पनि सदाको लागि ।

लामो सुस्केरा हाल्दै आठ वर्ष अघि फर्किइन् देवीमाया, जतिबेला उनको लगनगाँठो कसिएको थियो । सायद त्यो गाँठो बेसकन कसिएन छ क्यार । पुरापुर दुई वर्षपनि हुन नपाई चुडियो, गाँस्नै नमिल्ने गरी । हुन त त्यतिबेला पनि आफ्नो रहरले त बिहे गरेको होइन । उनले भनिन्, “गाउँघरको समाज त्यस्तै हो । केही थाहा थिएन त्यतिबेला, बच्चैजस्तो थिएँ । बिहे गर्दिनँ भन्दाभन्दै आमाबुवाले कर लगाएर बिहे गर्दिनु भयो ।” बेहुली बन्दा उनी १७ वर्षकी मात्रै थिइन् ।

टेस्ट परीक्षा सकेर एसएलसी दिइन्, एसएलसीमा ब्याक लाग्यो । त्यसपछि पढ्न छोडिन् । त्यही वर्ष बिहे भयो । सँगैका साथी अहिले पनि पढ्दैछन् । धेरैको त बिहे पनि भको छैन । कतिले सरकारी जागिर खाएका छन्, कोही एनजीओ÷आएइनजीओमा काम गर्छन् । उनीहरुलाई देख्दा देवीमायालाई पछुतो लाग्छ । चाडै बिहे गरेछु, धेरै पढ्न पर्ने रैछ भन्ने कुराले चिथोरिरहन्छ । कम्तीमा एउटा जागिर खाएर मात्रै बिहेको कुरा सोंचेको भए अहिले दुःख हुँदैन थियो भन्ने लाग्छ ।
उनी अहिले सदरमुकाम चौतारामा कोठा लिएर बस्दि आएकी रहिछिन् । छोरी पढाउन । “अलिअलि खर्च माइतबाट आमा बुवाले पठाइदिनु भाछ । कहिलेकाही भाइले पठाईदिन्छ । कहिलेकाही अरुकोमा काम गर्न जान्छु, त्यसरी नै चलिराछ । माइत फुल्पिङ्कोट २ । घरबाट निस्केपछि माइतमै बस्थें । अनि अहिलेचाहिँ छोरी पढाउन सदरमुकाममा कोठा लिएर बसेको । अस्तिको भुकम्पले लान्छ होला जस्तो लागेको थियो, तर लगेन । भुकम्पका बेला त आफन्त कसैलाई केही भएन तर भुकम्पका कारण मानसिक रुपमा बिछिप्त हुनुभएको दाइले दुई महिनापछि आत्महत्या गर्नु भयो । दुईजना दाजुभाई थिए, अब एउटा भाई मात्रै छ । माइतमा पनि आमा बुवा मात्रै हुनुहुन्छ, अहिले ।भाइबुहारी काठमाडौं बस्छन् । ” उनले आफ्नो खर्च देखि माइतिसम्मको सबै कुरा सुनाइन् ।

उनले मलाई आफ्नो पुरै कहानी सुनाउन भ्याएकी थिइनन् । यतिकैमा उनलाई कतै जानुपर्ने भयो । मसँग बिदा मागिन् । मैले हतार हतार उनको फोन नम्बर मागें र उनलाई बिदा दिएँ । रोकेर राख्न पनि त सक्दैन थिएँ । साँझ पर्दै गयो, सबैजना बास बस्ने जोह गर्न थाले । मलाई भने छट्पट्टी बढ्दै गयो । देवीमायासँगको भेट र दिउँसो उनीसँग भएको कुराले चिमोटिरह्यो । उनलाई भेट्न जाउँकी जस्तो लाग्यो । फोन गरें, “दिदी तपाईको कोठामा आउन मिल्छ ?” मिल्छ भनेपनि म उनको कोठासम्म पुगें ।
एउटा सानो कोठा, सिंगल बेडजत्रो खाट । एकापट्टी किचन र्याक, छेवैमा ग्यासको सिलिन्डर, किचन र्याकमाथी चुलो । अलि माथी झुन्ड्याएको र्याकमा केही थान भाडा । पल्लापट्टि अर्को खाटमाथी केही लुगाका पोका र बोराहरु थिए । भित्ताहरुमा थुप्रै भगवानका फोटोहरु । हरेक दिन सुनाउँदिहुन्, ति भगवानका फोटाहरुलाई आफ्नो पीडा । नजाने, सुन्छन् कि सुन्दैनन् । म कोठामा पुग्दा आकृति पढ्दै रैछिन्, अंग्रेजीको एउटा कविता । नेपालीमा उल्था गरेर मलाई पनि सुनाइन् । आकृतिले मलाई कविता सुनाइरहँदा देवीमायाका मुहारमा देखिएको उज्यालोले म मनमनै खुशी भएँ । तर बाहिर मुस्कुराइनँ ।

म पुग्नेबित्तिकै दिदीले चिया पकाइन्, पदैन भन्दाभन्दै । चियासँगै एक प्याकेट बिस्कुट पनि दिइन् । मैले भनें, “दिदी म पाहुना होइन नि, यति धेरै सत्कार गर्नुपर्दैन के । ” बिस्कुट खाइनँ । भोली नानीलाई स्कुल जानेबेलामा खाजा पठाइदिनु होला भनें । आकृति पढ्ने बोर्डिङ उनीहरुको कोठा नजिकै रहेछ । उसैले देखाई । दिदीले चियामा चिनी धेरै नै हालिछिन्, निकै गुलियो भएछ । तर उनका कथाहरु आँसु मिसिएका नुनिलाथिए । म एकैपटक दुईवटा स्वाद लिदै थिएँ । चियाको गुलियोलाई आँसुको नुनिलोले जित्यो । हामीले फेरि कुरा सुरु गर्यौं ।
श्रीमानको मृत्यु, घरपरिवारबाट पनि हेला । केही वर्ष उनले रोएरै बिताइन् । भन्न त मान्छेहरु आँसुले जीवनका पीरहरु बगाएर लान्छ भन्छन् । तर यो कुरा विश्वास लाग्दैन, देवीमायालाई । वर्षौसम्म उनले बगाएका आँसुले पीरहरु त बगाएर लगेन नै, त्यही आँसुले रोगको भारी पनि बोकाएर गयो । धेरै रुँदारुँदा एकप्रकारले उनी मानसिक रोगी नै बनिन् । बेस्सरी रोएर कमजोर भइन् । बिहेअघि केही रोग थिएन । जिल्लामा उपचार गर्दा निको नभएपछि टिचिङ र बीएनबीमा पनि देखाइन् । सबै ठाउँमा डाक्टरले चिन्ताले हो धेरै चिन्ता नलिनु । नरुनु भने । चाहँदैमा चिन्ता नलिइने भए त कहाँ रहर थियो र देवीमायालाई ? तर आँसु बगाएर मात्रै पनि त समस्या टर्दैन रैछ । यही सोंचेर हिजोआज रुन्नन्, उनी । “के गर्नु बहिनी जति रोएपनि आफ्नो पीर आफैंसँग छ । आँसुसँगै पीर जादैन रैछ । ” हिजोआज आफैंले आफैंलाई सम्झाउँछिन्, उनी । छोरीलाई हेर्छिन् र मुस्कुराउँछिन् ।

उमेरले हिसाब गर्ने हो भने त भर्खर बिहे गर्ने बेला भएको छ, देवीमायाको । २५ पूरा भएर २६ लागिन् । तर यही उमेरमा उनले जीवनका थुप्रै अप्ठ्याराहरु पार गरिन् । धेरै भूमीका निर्वाह गरिसकिन् । खुड्किलाहरु चढिन् कतै लडिन्, कतै अघि बढिन् । छोरीबाट बुहारी भइन्, कसैको श्रीमति बनिन् । आमाजु भइन्, भाउजुको भूमीका पनि निभाइन् । आमा बनेर छोरीलाई भएभरको सबै माया दिइन् । जति भूमीका फेरिए पनि उनको जीन्दगी फेरिएन । दुःखले साथ छोडेन ।
श्रीमानको मृत्युपछि प्राधिकरणले दिएको पैसा पाउनको लागि प्रशासनमा निवेदन दिइन्, सहयोग माग्दै महिला विकास कार्यालयमा पुगिन् । तर कतैबाट पनि सहयोग पाइनन् । “त्यतिबेला महिला विकासमा अन्जु ढुङ्गाना हुनुहुन्थ्यो । उनले सम्झिइन्, “ सुरुमा त सहयोग गर्छु भन्नुभाको थियो पछि त आफ्नै परिवार हो मिलेर बस्नु भन्नु भयो । ” देवरले सबै पैसा लिएर हिड्नु भयो, म कोसँग मिलेर बस्ने ? प्रश्न गर्छिन्, देवीमाया । “प्रहरीले पनि सघाएन, देवरले पैसा खुवाइदिनु भयो क्यारे ! नत्र त मैले न्याय पाउनपथ्र्यो । ” शंका लाग्छ देवीमायालाई प्रहरीसँग पनि ।
भूकम्पपछि त सिन्धुपाल्चोकमा थुप्रै एनजीओ÷आइएनजीओ खुलेको छ त दिदी, कतै ट्राई गर्नु भको भए जागीर पाइन्थ्यो कि ? मैले सुझाए उनलाई । “आ….बहिनी…….संस्था त थुप्रै छन् नि, यही चौतारामा वल्र्ड भिजन, सेभ द चिल्र्डेन, युनिसेफ, अफ्सन नेपाल जस्ता थुप्रै संस्था छन् । सबैले आफ्नैलाई जागिर लगाउँछन् । आफ्नो बोल्दिन मान्छे कोही छैन । हामी कोही नहुनेलाई कसले दिन्छ काम ? धेरै ठाउँमा प्रयास गरें, सबैले आश्वासन मात्रै दिन्छन् ।” उनलाई थुप्रै संस्थाको नाम कण्ठै रैछ । “केही सिप सिकौं, काम गरौं जस्तो त लाग्छ नि तर भारी काम गर्न सक्दिनँ ।” उनले भनिन्, “अलि पहिला एउटा तालिम आको थियो, विद्युत् सम्बन्धी । दुई महिनाको त्यो तालिम लिएपछि वाइरिङको काम सबै गर्न आउँछ । वल्लो घर पल्लो गर बोलाको ठाउँमा गएर बिग्रेको बत्ति बनाइदिन्छु । तर पैसा लिएर अहिलेसम्म काम गरेको छैन । ”
कुरा गर्दागर्दै अबेला भयो । “आज यतै बसौं बहिनी ।” उनकै कोठामा बस्न अनुरोध गरिन् दिदीले । सिंगल बेडको खाटमा आमाछोरी कसरी अटाउछन् थाहा छैन, त्यसमा  म पनि के थपिनु । “होइन दिदी म जान्छु ।” मैले नबस्ने कुरा गरें । साथीहरुसँग खेल्न गएकी आकृति हामी कुरा गर्दागर्दै आइपुगिन् । उनको चिया सेलाइसकेको थियो । गिलासभरीको चिया घटघट पिइन् । “दिदी म कुन बाटो जानुपर्छ ?” मैले उनको कोठाबाट म बस्ने होटलसम्म आइपुग्ने बाटो देखेको थिइनँ । “नानीले पुर्याईन्छिे ।” छोरीतिर देखाउँदै दिदीले भनिन् । “नानी दिदीलाई अलि पर बाटोसम्म पुर्याइदेर आउँ ल । ” उनले छोरीलाई अह्राइन् । आकृतिलाई अघि लाउँदै म हिडें । “दिदी म गएँ, फेरि आउँदा भेटौला है ! धेरै पीर नलिनु, सबै विस्तारै ठीक हुँदै जान्छ । ” मैले बिदा मागें दिदीसँग । उनले हाँस्दै भनिन्, “ जति पीर लिनु लिइसकें नानी, अब जसरी हुन्छ यही छोरीलाई पढाउने हो । यसैले पाल्छे त होला नि पछि ।” मैले आकृतितिर हेरेर भनें, “ममीलाई पाल्छौ नि भोलिपर्सी ?” उनले मुन्टो हल्लाइन् । दिदी मुस्काइन्, उनीसँगै म पनि मुस्कुराएँ ।

मैले बाटोमा आकृतिसँग फेरि सोधें, “ नानी नढाटी भन त भोलीपर्सी के बन्ने ? ” “म त ब्रम्हकुमारी नै बन्ने हो दिदी । ” उनी आफ्नो निर्णयमा अडिग थिइन् । मैले भनें “हुन्छ, तिमीलाई जे मन लाग्छ त्यही बन्नु । तर ममीलाईचाहिँ पाल्नुपर्छ नि । राम्रोसँग पढ है ! ” उनले ‘हुन्छ’को संकेतमा टाउको हल्लाइन्

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger