|
|
न्युयोर्क (अमेरिका), ८ असार ।
सोमवार विहान आत्मघाती बम आक्रमणमा मारिएका १४ जना नेपाली कामदारप्रति अफगानी जनताको गहिरो दुःख तथा समवेदना रहेको एक जना अफगानी सांसदले वताएका छन् ।
साउथ एसिया डट कमका अनुसार अफगानी सांसद खालिद पास्तनले क्यानडाको एक समाचार दिने वेबसाइटलाई नेपालीले कहिले पनि अफगानीविरुद्ध बन्दुक नउठाएको बताएका हुन् । उनीहरुले सुरक्षित मानिने हरियो सूचीमा रहेको क्यानडाको दूतावास सुरक्षामात्र दिएका थिए, उनले भने ।
अफगानिस्तानको राजधानी काबुल स्थित क्यानडाको दुतावासमा सुरक्षा दिदै आएका ती १४ नेपाली त्यहांको सार्वजनिक मिनिवसमा यात्रा गर्ने क्रममा आत्मघाती बम आक्रमणमा परि मारिएका थिए ।
‘मारिने सुरक्षा गार्ड मात्र थिए बन्दुकधारी सेना थिएनन, अफगानी जनताले पनि यही रुपमा उनीहरुलाई लिएका थिए,’ उनले भनेका छन् ‘नेपाली सुरक्षा गार्ड क्यानडा दूतावासमा मात्र होइन अन्य कयौं कुटनीतिक नियोगमा कार्यरत छन् ।’
पास्तनले मृतकका परिवारप्रति आफ्नो र अफगानी जनताको गहिरो संवेदना व्यक्त गरेका छन् । क्यानडा सरकारले पनि आफ्नो दूतावासमा कार्यरत नेपालीको मृत्यु प्रति गहिरो दुःख व्यक्त गरेको छ ।
क्यानडाको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरि दुःख व्यक्त गरेको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो घटनालाई कायरताको संज्ञा दिएका छन् ।
अहिलेसम्म नेपाल सरकारले ३ हजार ३ सय ५३ लाई अफगानिस्तानमा कामदारका रुपमा जान स्विकृती दिएको छ । कुटनीतिक नियोग, राष्ट्रसंघ जस्ता कम जोखिम मानिने ग्रिन जोन जानमात्र नेपालले श्रम स्विकृती दिन्छ । तर, उक्त वेभसाइटले ८ हजार देखि ११ हजारसम्म नेपाली कामदार अफगानिस्तानमा रहेको उल्लेख गरेको छ । गैरकानुनी वाटोवाट नेपाली युद्धग्रस्त अफगानिस्तान पुग्ने गरेका छन् ।
|
|
Post a Comment