|
|
काबुल,१२ असार ।
तालिवानी आतंककारीबाट भएको बम विस्फोटमा नजिक दूरीमा रहेका र आफन्तसहित १३ जना मित्र गुमाएका एक साक्षी हुन् नुवाकोटका आइसिङ। जहाँ उनले चार जना आफन्तसहित सँगै क्याम्पमा बस्ने १३ जना प्रिय साथीहरु गुमाए । आइसिङ बुधबार नेपाल एयरलायन्सको विमान चढेर अब कहिल्यै काबुल नफर्कने गरि आफन्त र साथीहरुको शवसहित घर फर्किए।
उनी बम बिस्फोट हुँदाको त्यो दर्दनाक क्षणको साक्षी मात्रै रहेनन्, उनले आफन्त र साथीहरुको शव लिएर नेपाल आउन र २४ जना नेपालीलाई घर फर्काउन पनि काबुलमा उल्लेख्य भूमिका निभाए। त्रिभुवन विमानस्थलमा सिमित पत्रकारसंग भएको कुराकानीमा आइसिङले काबुल विस्फोटबारे केही नयाँ तथ्यहरु खुलासा गरेका छन्। उनका अनुसार तालिवानीहरु नेपालीमाथि आक्रामक बनेर उत्रिने योजनामा छन् ।
पूर्व सूचना दिएरै उनीहरुले नेपालीमाथि निसाना साँध्न सुरु गरेका छन् । सोमबार २० तारिखका दिन नेपालीमाथि गरिएको बम बिस्फोटको पूर्व सूचनासमेत तालिवानीले दिएका थिए। तर त्यो सूचना काबुलस्थित क्यानेडियन दूतावास र नेपाली सुरक्षा गार्ड परिचालन गर्ने ब्रिटिस कम्पनी साब्रे इन्टरनेशनल सेक्युरिटीले लुकाए । परिणामः १३ नेपालीको ज्यान गयो।
तालिवानले २७ तारिख सोमबार (भोली) पनि नेपालीमाथि ठूलो आक्रमण गर्ने चेतावनीसहितको सूचना त्यहाँको इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प र सम्बद्ध निकायमा दिएको छ।
क्यानेडियन दूतावास र साब्रे इन्टरनेशनलमा कार्यरत नेपाली पनि पुनः तालिवानी आक्रमणको सूचिमा छन्। गत सोमबारको घटनापछि अफगानिस्तानमा नेपाली संलग्न क्याम्पहरूमा सुरक्षा सतर्कता बढाइएको त्यहाँस्थित नेपाली कामदारले नेपाल फर्केका साथिलाई जनाएका छन्। काबुलबाट फर्केका अर्का एक सत्यनारायण श्रेष्ठका अनुसार तालिवानीहरु पहिले नेपालीहरुप्रति नरम थिए तर उनीहरुले आफ्नो पुरानो रवैया फेरेका छन्। अहिले त्यहाँका मुस्लिम समुदायको रमादान पनि चलिरहेको छ । रमादानको समयमा तालिवानीहरु सकेसम्म धेरै शत्रु मारेर आफू पनि मर्ने भावनाले काम गर्छन्।
काबुलबाट फर्केका बेलप्रसाद गुरुङ, मिणराम खनाल, बीरबहादुर तामाङ लगायतका नेपालीहरुको एउटै बुझाइ छ पछिल्लो समय तालिवानीहरुले नेपालीप्रतिको नरम नीति फेरेर आक्रामक बनेका छन्। अफगानिस्तानमा नेपालीहरु कार्यरत कम्पनीहरुलाई यसअघि एकखालको सुरक्षा राहात नै थियो, तालिवानीहरु नेपालीमाथि तुलनात्मक कम आक्रामक छन्।
त्यसैले नेपाली कामदार त्यहाँ रोजिन्थे पनि। नेपालीहरुको सुरक्षा सतर्कता पनि ढिलाढाला नै थियो। सोमबार बम बिस्फोट गरिएको त्यो बसमा न त नेपालीसँग हतियार थियो न अन्य सुरक्षाकर्मी थिए। यही सहजतालाई यो पटक तालिवानीले अवसरका रुपमा उपयोग गरे र बिगुल फुके ।
|
|
Post a Comment