Headlines News :
Home » » ‘माग्ने बूढा’ भन्छन्- आन्द्रा किराले खाएछ, अब डाक्टरको सल्लाह मान्छु..

‘माग्ने बूढा’ भन्छन्- आन्द्रा किराले खाएछ, अब डाक्टरको सल्लाह मान्छु..

Written By news on Sunday, 19 June 2016 | 00:49


५ असार, काठमाडाैं । सिरियल होस् या फिचर फिल्म, केदार घिमिरे (माग्ने बूढा) को उपस्थिति हुनेवित्तिकै दर्शकले लख काट्छन्  कि अब यी बूढाले हसाउँछन् । तर, स्टेजदेखि म्युजिक भिडियोसम्म दर्शकलाई हँसाउँदै आएका माग्नेबूढा अहिले अााफैँ रूने अवस्थामा पुगेका छन् ।

सानो आन्द्राको एकपत्र किराले खाएपछि उनी अहिले  कलाकारिताको कामै छोडेर उपचारमा लागेका छन् । तर, उपचारका क्रममा अस्पताल जाँदा र घरमा भेट्न अाउनेहरूको सुझाव सुन्दा माग्ने बुढा हैरान बनेका छन् ।

पछिल्लो सयम विल्सन विक्रम राईसँगको सहकार्यमा ‘खासखुस्’ नामक सिरियल निर्माण गरेका माग्नेबूढा ‘खासखुस’मा मुख्य भूमिका थिए । पछिल्लो चारहप्ता यता उनी खासखुसमा पनि देखिएका छैनन् ।

विभिन्न चिकित्सकसँग चेकजाँच गराएपछि घरमै आराम गरिरहेका माग्नेबूढा अहिले कस्तो अवस्थामा छन् त ? पढ्नुहोस् उनकै भनाइः

धेरै बोल्दा रिंगटा लाग्छ

एक महिना भयो, बिरामी भएको । सबै काम छाडेर घरमै बसेको छु । कुँजो नै भइएला कि भन्ने चिन्ताले बिहान १ किलोमिटर हिँड्छु । तर, धेरै हिँड्न पनि हुन्न, धेरै हिँड्यो भने ज्वरो आउँछ ।

ठूलो स्वरले बोल्न पनि हुन्न । धेरै बोल्यो भने भनन रिंगटा लागेजस्तो हुन्छ । ठिकठिकै स्वरमा बोल्छु । फोनमा पनि धेरैबेर कुरा गर्न मिल्दैन । कहिलेकाँही गार्‍हो हुन्छ । (हाँस्दै)  फोन गर्ने मान्छेलाई नगर भन्न मिल्दैन ।

खानामा पनि अलिकति विचार पुर्‍याउनुपर्ने भएको छ । डक्टरले रक्सी नखानु भनेका छन् । त्यो त म कहिल्यै खाँदिन, तपाईहरुलाई पनि थाहा छ । अरु जे पनि खाए हुन्छ भन्नुभएको छ । खानेकुरा बार्न पर्दैन भन्नुभएको छ डाक्टरले ।

डाक्टरले भनेर मात्रै हुँदो रहेनछ, अरु साथीहरुले चिल्लो, पिरो, बासी खान हुँदैन भन्ने सुझाव दिए । गुगलमा पनि सर्च गरेर हेरेँ । अहिले चिल्लो पिरो बार्दै आएको छु ।

युरिक एसिड पनि हाई भएकाले खसीको मासु खान छाडेँ । गेडाडुगी खान्न । खाए पनि उमारेर मात्रै खान्छु । बेलाबेलामा भटमास, राज्मा खान्थेँ त्यो पनि छाडेँ । खुर्सानी मलाई अनिवार्य चाहिन्थ्यो । अहिले त छुँदै छुन्न । अलि पहिल्यै डाक्टर साबले तपाईलाई डाइजेष्टिङ प्रोब्लम छ, दूध नखानुस् भन्नुभयो । गुगल सर्च गरेर हेरें, त्यो पनि छाडेँ ।

एक पत्र किराले खाएछ

डाक्टरले पाइप हालेर आमासय भन्दा तल सानो आन्द्राको  मासु निकालेर चेक गरे । डाक्टरको भनाइ अनुसार आन्द्रामा चारपत्र हुन्छ, त्योमध्ये खानासँग जोडिने पत्रचाँही किटाणुले खाएछ ।

डाक्टरले त्यसो भन्नुभएको १७ दिन भयो । पहिला-पहिला दिनमै चारचोटि जति ट्वाइलेट जानुपथ्र्यो अहिले दिनमा दुईचोटिमा झरेको छ । कहिले एकचोटि मात्रै पनि हुन्छ ।

खाना खाँदासम्म केही हुन्न, खाएको एकछिनपछि चरचर दुख्छ । बिहानपख बढी दुख्छ ।

औषधि पनि फरक-फरकखालको दिनुभएको छ । दुईवटा औषधी एक महिनासम्म खानुपर्ने छ । अरु धेरैथरि औषधि छ, खाँदैछु । औषधिको पैसा लागेन । निशान ज्वाइँ (मैयाँका पति)को औषधि पसल छ, उहाँले नै दिनुभएको छ ।

बिरामीलाई सल्लाह दिन्न

ठूलो बिरामी भएको पहिलोपटक हो । आफैं बिरामी भएपछि ठूलो बुद्धत्व प्राप्त भयो, बिरामी भेट्न जाँदा सरसल्लाह धेरै दिन हुँदोरहेनछ भनेर । आफुले दिएको सुझावले बिरामीलाई झर्को लाग्न सक्छ भनेर पनि बुझ्नपर्ने रहेछ । यस्तो भन्दा नेगेटिभ अर्थ त लाग्ने हैन ? (हा हा हा) ।

बिरामी भएपछि मनोवल पनि घट्दोरहेछ । तर, नयाँ नयाँ मान्छे आउँदा रिफ्रेसमेन्ट हुँदोरहेछ । पहिला भेट्न नपाएका साथीहरुसँग पनि यसपालि भेट भयो । तर, मान्छेहरु आएपिच्छे सुझाव दिन्छन् ।  यसोभन्दा साथीहरु रिसाउने पो हुन् कि ?

नामचाँहि नभनौ है । प्रवृत्तिको मात्रै कुरा गर्छु । कोही आउँछन्, सोध्छन् ‘कसलाई देखाउनुभयो ?’ फलानोलाई देखाएँ भन्छु । अनि भन्छन् ‘तपाईले डाक्टर नै चिन्नुभएको रहेनछ, फलानोलाई पो देखाउनुपर्छ, मेरो ठूलो बालाई चट्टै पारेका थिए भन्छन् ।
अर्काथरि आउँछन् र भन्छन् ‘हेर्नुस् फलानोले त घाटमै लान ठीक पारेकोलाई पनि चट्टै पारेको छ ।

अर्कोथरि छुट्टै गु्रप छ, तिनले भन्छन् ‘संसार जतिसुकै आधुनिक भए पनि दुईटा अक्षता फाल्नुस्, लागू पनि हुन सक्छ ।’ यस्तो बेजोड माता छिन् । देखाउनुस् भन्ने पनि आए ।

दुई घण्डा हिंड्नुस्, योगा गर्नुस् जस्ता घरेलु सुझाब दिनेहरु पनि छन् । सुझाव दिने त कति हो कति । मसँग डाक्टरलाई विश्वास गर्नु बाहेकको उपाय छैन । म अहिले डाक्टरकै सुझाव अनुरुप औषधी खाँदैछु ।

खासखुसमा खोजी भयो

खासखुसमा म नदेखिएपछि माग्ने खोई भन्ने कुरा आएछ । मलाई नदेखेर कमेन्ट धेरै आएपछि फेसबुकमा पनि लेखेँ ‘मैले भात खाने, किटाणुले मेरो भुँडी खाने, भित्रबाट सिध्याइसकेछ’  खासखुसमा नदेखिएको चार हप्ता भयो । अहिले धेरैले सोधेका छन् ।

प्रेसर लो भन्दै जीवनजल खाँए

छक्का पञ्जाको सुटिङ गर्दा घाम निकै चर्को थियो ।  आमालाई बोकेर हिँड्नुपर्ने दृश्य थियो । निर्देशकले उकालोमा हिँड्दा राम्रो देखिन्छ भन्नुभयो, झलुङ्गे पुलमा राम्रो देखिन्छ भन्नुभयो । त्यसै गरेँ । फेरि मलाई अभिनय चाँहि ज्यान दिएर गर्न मन लाग्छ । ज्यान जति गले पनि बोकेर कुदेँ ।

त्यसरी आमालाई बोकेर हिँड्दा निकै गार्‍हो हुन्थ्यो । म प्रेसर लो छ भन्थेँ, दीपा दिदीहरु जीवनजल बनाएर खवाउनुहुन्थ्यो । हात खुट्टा फतक्क गल्ने । मैले चाँही युरिक एसिडले पनि होला भन्थेँ । भिटामिन ‘बी’को कमी हुँदा पनि यस्तो हुन्छ भन्दा रहेछन् ।

लगातार ज्यान गलेपछि होलबडी चेक गर्न भनेर बानेश्वरको एउटा निजी अस्पतालमा गएँ । होलबडी चेकअप सकियो भनेे । मैले सोधेँ-मेरो पेट चेक गरेको खै त ? अस्पतालका कर्मचारीले जवाफ दिए- होलबडीमा पेट पर्दैन । त्यसको छुट्टै पैसा लाग्छ । अनि अर्कै अस्पतालमा गएर पेट चेक गराएँ । त्यसपछि थाहा भयो मेरो आन्द्राको एक पत्रक किराले खाएको कुरा ।

डाक्टरले माग्नेलाई चिनेनन्

मैले योवीचमा तीनजना डाक्टरलाई देखाँए । मलाई डाक्टरले ‘माग्ने बुढा’ भनेर चिनेनन् । म सामान्य बनेर गएँ । उहाँहरुले केदार घिमिरे भनेर नाम हेर्नुभयो, जाँच गर्नुभयो त्यत्ति हो । अस्पतालका अरु स्टाफहरुले चाँहि बेलैमा चिने ।

समग्रमा अस्पतालको शैली कतैचाँहि पालो मिच्ने चलन रहेछ । अस्पतालको स्टाफको चिनजानीमा कोही छ भने उसले पछाडि नाम लेखाएको भए पनि चाँडो पालो आउने रहेछ । नाम बोलाउनेले धेरै ठाउँमा गड्बडी गरिदिने रहेछ ।

सामान्य समस्या भए पनि चेक गरिहाल्नुस्

जेसुकै भए पनि सामान्य समस्या भयो भने बेलैमा चेकअप गर्नुपर्ने रहेछ । म पनि बेलैमा गएको भए किराले एकपत्रै खाने थिएन होला ।

ज्वरो आयो भने आफैं सिटामोल खायो, पखाला लाग्दा आफैं औषधी किन्यो, खायो गरिन्थ्यो ।

यसपालि चेक गराएपछि चाँही समयमै खानुपर्छ भन्ने पनि थाहा भयो । दिनमा चौबीस घण्टा हुन्छ भने कम्तिमा १५ मिनेट आफ्नो ज्यानका लागि दिनुस् भन्ने सुनिन्थ्यो । हो रहेछ भन्ने लागेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger