Headlines News :
Home » » नेपाल कराँतेका ‘बेस्ट फाइटर' इँटाभट्टामा कसरी भए यस्तो अवस्तामा..

नेपाल कराँतेका ‘बेस्ट फाइटर' इँटाभट्टामा कसरी भए यस्तो अवस्तामा..

Written By news on Sunday, 19 June 2016 | 01:18


राजेन्द्रको सफलता यसकारणले पनि अर्थपूर्ण थियो कि उनले कराँते सिकेको वर्ष दिन पनि पुगेको छैन । तैपनि राजेन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै त्यो प्रतियोगिताबाट धेरैको मन लोभ्याएका थिए । अनुभवी खेलाडीलाई फाइनलमा १०–३ अंकको फराकिलो अन्तरले पराजित गर्दै उनले स्वर्ण पदक जितेका थिए । शारीरिक रूपमा आफूभन्दा बलिष्ठ देखिएका प्रतिद्वन्द्वीविरुद्ध उनको खेल्ने तरिका प्रशंसायोग्य थियो ।

उनले उक्त खेलमा विपक्षी खेलाडीमाथि खेल कौशलले मात्र होइन, दिमागले पनि प्रहार गरेका थिए ।

उनको खेलबाट मोहित भएका हामी उनको घर खोज्दै बोसीगाउँ पुगेका थियौं, फलोअप स्टोरीका लागि । यसै क्रममा कराँते प्रशिक्षक संघरत्न हामीलाई एउटा इँटाभट्टातर्फ डोर्‌याउँदै थिए । हिलोबाट जोगिँदै २० मिनेट खेतको आलीमाथि हिँडेपछि काँचो इँटाले बनेको एककोठे र एकतले टहरो नजिक पुग्यौं । पुराना जस्तापाताले छाएको टहरोभित्र उज्यालो र हावा छिर्ने एउटामात्र ढोका छ, फलेक बिनाको । त्यही घर नजिकै गुन्द्रीमा तास खेल्नेको एक हुल छ । ती सबै दृश्यलाई एकै सटमा मस्तिष्कसम्म पुर्‌याइसकेका थियौं हामीले ।

त्यही खुला ढोकाभित्रबाट निस्किए गी (कराँतेको पोसाक) लगाएका राजेन्द्र । राजेन्द्रको घर त्यही रहेछ । गुरु संघरत्नलाई देखेपछि टाउको निहुराएर अभिवादन गरे उनले । राजेन्द्रका बारेमा प्रशिक्षक संघरत्नले हामीलाई पहिले नै सुनाएका थिए । तर आफ्नो आँखाले देखेका ती दृश्य प्रशिक्षक संघरत्नले भनेको भन्दा पनि बढी नै लागे ।

राजेन्द्र त्यही घरमा आफ्नो बाल्यकाल बिताउँदैछन् । उनी बिहानै उठ्छन्, केहीबेर इँटाभट्टामा बुबालाई सघाउँछन् । त्यसपछि झन्डै २० मिनेट पैदल यात्रामा रहेको श्री भैरवनाथ निम्न माध्यमिक विद्यालय धाउँछन् । चार कक्षामा अध्ययनरत उनी कक्षाका प्रथम विद्यार्थी रहेछन् । विद्यालयबाट घर फर्कन्छन् । केही समय इँटाभट्टामा काम गर्छन् । त्यसपछि फेरि उत्तिकै दुरी पार गरी कराँते सिक्न पुग्छन् ।

बोसीगाउँस्थित इँटाभट्टा अगाडि राजेन्द्र रार्इ (बायाँ) टहरोको घरमा परिवारसँग । तस्बिर: दीपेन्द्र गुरुङ

पढाइ र कराँतेप्रति राजेन्द्रको बराबर लगाव छ । उनले दुवै क्षेत्रमा आफूलाई अब्बल साबित गरिसकेका छन् । प्रतिभा र क्षमता हँुदाहुँदै पनि यो अवस्थाबाट गुज्रनु उनको बाध्यता हो । राजेन्द्रका पिता दीपक राई त्यही इँटाभट्टामा काम गर्छन् भने आमा लक्ष्मी घरमै । उनका जेठा दाइ सन्तोष इँटा ढुवानी गर्ने ट्रकका सहचालक छन् । घरका माइँला छोरा राजेन्द्रलाई पढाइ र कराँते सगँसँगै अघि बढाउन मन छ । उनी भन्छन्, ‘पढ्न मन छ । कराँतेको राष्ट्रिय खेलाडी बन्ने सपना पालेको छु ।'

तर उनको त्यो इच्छासामु धेरै बाधा छन् । पित दीपक आफू र जेठो छोरो सन्तोषको कमाइ घरखर्चमै ठिक्क हुने बताउँछन् । ‘छोराको महिनामा नौ हजार तलब छ । मेरो कहिले हुन्छ कहिले हुँदैन', केही समयअघि तास खेल्ने समूहबाट छुट्टिएर हामीसामु आइपुगेका दीपकले भने, ‘पैसा कमाएर ल्यायो ।

बिहानबेलुका किनेर खाँदै सकिन्छ ।' छोरालाई पढ्न पठाउने र त्योभन्दा पनि खेल्न पठाउन खर्च जुटाउन मुस्किल छ । त्यसैले राजेन्द्रले पनि फुर्सदका बेला इँटाभट्टामा काम गर्नुपर्ने बाध्यता छ ।

दीपकले राजेन्द्रलाई खेलाडी बनोस् भनेर कराँते सिक्न पठाएका हैनन् । उनले न आफ्ना छोरा राजेन्द्रको खेल हेरेका छन्, न कराँते खेलबारे थाहा नै छ । छोराले अरूको कुटाइ नखाओस् भनेर उनले कराँते सिक्न पठाएका रहेछन् । ‘मलाई राजेन्द्रको खेलबारे थाहा छैन । जान्छ, खेल्छ, आउँछ', उनी भन्छन्, ‘ठूलो भएपछि अरूको कुटाइ नखाओस्–कुटेर आओस् भनेर खेल्न पठाएको हुँ ।'

काठमाडौंबाट उत्कृष्ट फाइटरको पुरस्कारसहित मोबाइल पुरस्कार लिएर गएपछि उनलाई छोराले खेलेर पनि राम्रो गर्दो रहेछ भन्ने लागेको छ । ‘यसले अस्ति जितेर मोबाइल ल्याएको छ', हातमा जोलो फोन देखाउँदै दीपकले भने, ‘छोराले मोबाइल नै ल्याएपछि खुसी लागेको छ । यसलाई अब पछिसम्म पढाउँछु । खेल्न पनि पठाउँछु ।' तर त्यसको आधार भने उनीसँग पनि छैन । ‘आफूले दुःख गरेर भए पनि यसलाई पढ्न र खेल्न पठाउँछु', मोरङ सुन्दरपुर ६ दुलारीका उनले भने, ‘यहाँ सकिन भने गाउँमा घर छ । त्यहीं दुःख गरेर भए पनि यसलाई खेलाडी बनाउँछु ।'

राजेन्द्रलाई प्रशिक्षक संघरत्नले सहयोग गरिरहेका छन् । तीन दर्जनभन्दा बढी नेपाली चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका संघरत्नले नै राजेन्द्रलाई इँटाभट्टाबाट उठाएर विभिन्न प्रतियोगिता हुँदै सदस्यसचिव कराँते प्रतियोगितामा उत्कृष्ट फाइटर बनाएका हुन् । बोसीगाउँकै स्थानीय संघरत्नलाई राजेन्द्रजस्ता इँटाभट्टामा काम गर्ने बालबालिका र उनीहरूको अभिभावकको अवस्थाबारे राम्रो ज्ञान छ । कुनै समय इँटाभट्टा चलाएका संघरत्नलाई ती बालबालिकाको क्षमता पनि थाहा छ । त्यसैले संघरत्नले एउटा अभियान थालेका छन्, राजेन्द्रजस्ता इँटाभट्टामा रहेका दर्जनौं बालबालिकालाई राष्ट्रिय खेलाडी बनाउने ।

‘इँटाभट्टामा काम गर्नेहरूबारे मलाई राम्रोसँग थाहा छ । उनीहरू आज कमाउँछन् आजै सक्छन्', संघरत्न भन्छन्, ‘त्यसमाथि यी बालबालिका शारीरिक रूपमा बलिया र क्षमतावान् छन् । तर उनीहरूको भविष्य भने अन्धकार छ । उनीहरूलाई यत्तिकै छाड्ने हो भने या दुव्र्यसनीमा फस्छन् या दुईचार वर्षपछि बिहे गरेर इँटाभट्टामै कामदार बस्छन् । त्यसैले मैले परिवर्तन गर्न सकिन्छ भनेर उनीहरूलाई कराँते सिकाउन लागेको हुँ ।'

उनले अहिले त्यही एउटा इँटाभट्टाबाट मात्रै ३० भन्दा बढी बालबालिकालाई सहुलियतमा कराँते सिकाइरहेका छन् ।

‘हामीले राम्रा खेलाडी निकाल्न सक्यौं भने विभागीय टोलीमा पठाउन सक्छौं', उनी भन्छन्, ‘दुईचारजना मात्रै इँटाभट्टामा काम गर्ने बालबालिकालाई विभागीय टोलीमा छिराउन सकियो भने उनीहरू सेना, पुलिस वा एपीएफको बर्दी लगाएर फेरि इँटाभट्टामा फर्कंदा उनीहरूको परिवारको सोचाइमा पनि परिवर्तन आउनेछ ।'

संघरत्नले त्यो सपना राजेन्द्रबाट देखेका छन् । भन्छन्, ‘राजेन्द्र यस्ता खेलाडी हुन् जो बलले मात्रै खेल्दैनन्, उनी दिमागले पनि खेल्छन् । सिकाएको कुरा तत्कालै सिक्छन् । शारीरिक रूपमा सशक्त रहेका उनले मेरो त्यो सपना पूरा गर्न सक्छन् ।'

तर त्यसका लागि उनले ठूले कसरत गर्नुपर्नेछ । राजेन्द्रजस्ता प्रतिभावान् बालबालिकालाई कराँतेमै लगाइराख्न उनले पनि धेरै समस्या भोग्नुपरेको छ । खेलाडी कमजोर आर्थिक अवस्था भएका परिवारबाट आएका छन् । आर्थिक अवस्थाकै कारण उनीहरू कराँते छाडेर कतिखेर अन्य क्षेत्रतर्फ लाग्ने हुन्, पत्तो छैन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger