|
|
प्रधानमन्त्रीद्धारा गृहमन्त्रीको राजीनामा माग
काठमाडौ,१९ जेठ ।
तत्कालिन एमाओवादीसंग नौ बुँदे सहमति गरेर बल्ल बल्ल सत्ता टिकाउन सफल भएका प्रधानमन्त्री केपी शर्मा ओली पुनः कुर्सी तनावमा परेका छन् । सत्ता हस्तान्तरण बारे एमाले र माओवादी केन्द्रबीच द्धन्द्ध सुरु भएपछि ओली तनावमा परेका हुन् । बजेट प्रस्तुतपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने र अर्को सत्ता साझेदार दल एमाओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको एमाओवादी नेताहरुको दावी छ । तर नेकपा एमालेले भने सत्ता हस्तान्तरण बारे कुनै सहमति नभएको दावी गरेको छ ।
यसै विषयमा प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् । संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ सरकार गठनका विषयमा कुनै सहमति नभएको प्रस्टीकरण दिएका हुन् ।
तर ओलीको यो अभिव्यक्तिप्रति एमाओवादीका नेताहरुले आपत्ति जनाएका छन् । यसैबीच,सिडिओ सरुवाको विषयलाई लिएर प्रधानमन्त्री केपीशर्मा ओलीले गृहमन्त्री शक्तिबहादुर बस्नेतको राजीनामा मागेका छन् । प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतको राजीनामा मागे संगै सत्तारुढ दुई प्रमुख दलको विवाद छताछुल्ल भएको छ । सिडियो र सहायक सिडिओको सरुवालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतबीच वाकयुद्ध चलेको छ । गृहमन्त्री बस्नेत प्रधानमन्त्रीले दिएको सरुवा बदरको निर्देशन नमान्ने अडानमा छन् भने प्रधानमन्त्री ओलीले गृहमन्त्रीको राजीनामा मागेका छन् ।
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ५१ जनाको सरुवा गर्ने गृहको निर्णय सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतलाई सरुवा बदर नगर्ने भए पदबाट राजीनामा दिन भनेका हुन् । तर, गृहमन्त्री बस्नेतले भने सिडिओहरुको सरुवासम्बन्धी निर्णय नसच्चिने ठाडो जवाफ प्रधानमन्त्री ओलीलाई फर्काएका थिए । मन्त्रीले आफ्नो मन्त्रालय चलाउन आफै नपाउने भए प्रधानमन्त्रीले सबै मन्त्रालय चलाएर देखाउन चेतावनी दिएको गृहमन्त्री स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सुरक्षा संयन्त्रसँग सम्बन्धित सरकारका वरिष्ठ मन्त्रीहरुको बैठक बोलाएका थिए । बैठकमा गृहमन्त्री बस्नेतलाई पनि बोलाइएको थियो । सो बैठकमा भएको छलफलको गोप्य सूचना मन्त्री बस्नेतले बाहिर सार्वजनिक गरिदिएको भन्दै प्रधानमन्त्री ओली बस्नेतसँग रुष्ट थिए । बालुवाटारको सो बैठक उच्च प्रहरी अधिकृतहरु हेरफेरसँग सम्बन्धित थियो । बैठकमा भएका कुराकानी एक सञ्चारमाध्यम मार्फत् सार्वजनिक गरिदिएको आरोप मन्त्री बस्नेतमाथि प्रधानमन्त्री ओलीले लगाएको स्रोत बताउँछ ।
गृहले कर्मचारीको सरुवा गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्रीको ठाडो निर्देशनमा मुख्य सचिवले सरुवा रद्द गर्न गृहसचिवलाई पत्र थमाएका थिए । मंगलबार गृहसचिव नारायणगोपाल मलेगोलाई आफ्नै कार्यकक्षमा बोलाएर मुख्यसचिव सोमलाल सुवेदीले चालु आर्थिक वर्षभरि कार्यालय प्रमुखहरुको सरुवा नगर्न दिइएको निर्देशन विपरीतको सरुवा भएको भन्दै रद्द गर्न भनेका थिए । तर, सरुवा रद्द गर्न प्राविधिक कठिनाइ रहेको गृहमन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख चक्र बुढाले जानकारी दिए ।
गत चैत्रमा प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयले छुट्टा–छुट्टै सर्कुलर जारी गरी चालु आर्थिक वर्षभरि कुनै पनि कार्यालय प्रमुखको सरुवा नगर्न सर्कुलर जारी गरेको थियो । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले प्रमुख कार्यकारी निकायबाट गएको निर्देशन कार्यान्वयन गर्नु बाध्यकारी हुने प्रतिक्रिया दिएका छन् ।
यसैवीच, प्रधानमन्त्री केपीशर्मा ओलीले सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) लाई सत्ता हस्तान्तरण नगर्ने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट पास भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुनै भद्र सहमति नभएको बताएका छन् । राष्ट्रिय सहमतिको सरकार बन्दा एमालेकै नेतृत्वमा हुने भन्दै उनले नभए यो सरकारले नै २०७४ साल मंसिरमा चुनाव गर्ने दावी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो २७ औ स्थापना दिवसको अवसरमा आयोजित जलपालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भनेः‘ ‘जेन्टलमेन्ट एग्रिमेन्ट भनेको के ? नौबुँदे देख्नु भएन तपाईहरुले ? नौबुँदेमा हस्ताक्षर छैन ? अनि हस्ताक्षर भएर जेन्टलमेन्ट एग्रिमेण्ट के हुन्छ ?
तर माओवादीका नेताहरुले भने सार्वजनिक रुपमै सत्ताहस्तान्तरण बारे भद्र सहमति भएको बताउँदै आएका छन् । यी पछिल्ला घटनासंगै सत्ता हस्तान्तरण बारे सत्तारुढ प्रमुख दुईदलविचको विवादले चरम रुप लिएको प्रस्ट हुन्छ ।
|
|
Post a Comment