Headlines News :
Home » » प्रस्तावित क्षेत्रीय बसपार्कलाई प्लटिङ र किनबेच गर्दै कांग्रेस नेता -

प्रस्तावित क्षेत्रीय बसपार्कलाई प्लटिङ र किनबेच गर्दै कांग्रेस नेता -

Written By news on Wednesday, 22 June 2016 | 20:14


पोखरा, ८ आषाढ ।

लेखनाथको लामेआहालमा प्रस्तावित क्षेत्रीय बसपार्कका निम्ति भनिएको जग्गामा धमाधम प्लटिङ भएको छ । पोखरा उपत्यका नगरविकास समितिले रोक्का राखेको जग्गा फुकुवा दिँदा प्लटिङ गरी किनबेच सुरु भएको हो ।

कास्कीका कांग्रेस नेता बोधराज कार्कीले ७ रोपनी ९ आना जग्गामा प्लटिङ गरेका छन् । उनले प्लटिङको जिम्मा भरतपोखरीका खड्गबहादुर विक र पोखरा १४ का निलबहादुरलाई दिएका छन् । कार्कीले नगरपालिकाको स्वीकृतिबिनै जग्गामा प्लटिङ गरेका हुन् । उनी पोखरा—१८ का कांग्रेस सभापति हुन् ।

कार्कीले सरकारले मुआब्जा दिए तुरुन्तै जग्गा छाड्ने समाधानलाई बताए । ‘सरकारले लिन्छ भने जहिले लिए पनि समस्या छैन,’ उनले भने, ‘बसपार्क चाहिएको हो भने हाम्रो जग्गा पनि लिदियोस् ।’ उनले लेखनाथका स्थानीयले बसपार्क बनाउन सरकारलाई दबाब दिनुपर्ने भन्दै जग्गा छाड्न कुनै आपत्ति नहुने बताए ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले २ वर्षभन्दा बढी रोक्क गर्न नमिल्ने भएकोले फुकुवा दिएको बताए । ‘प्लटिङकै कारण बसपार्क निर्माण प्रक्रिया रोकिदैन,’ उनले भने, ‘सरकारले चाँहे फेरी रोक्का गर्न सक्छ ।’

खनालले अहिले पोखरा बसपार्क निर्माण मुख्य प्राथमिकता भएको बताए । ‘लेखनाथको बसपार्कमा जग्गा अधिग्रहण गर्न समस्या छैन,’ उनले भने, ‘पोखरा बसपार्कमा समस्या भएकाले पहिले यसलाई टुंग्याउनुपर्छ ।’ अध्यक्ष खनालले लेखनाथमा बसपार्क बनाउन स्थानीयको जोडबल रहेकाले आगामी बोर्ड बैठकमा जग्गा रोक्काको प्रक्रिया अगाडि बढाउने दाबी गरे ।

द्ययमजचबव प्बचपष्
बोधराज कार्की

लेखनाथ नगरपालिकाका कानुन अधिकृत राममणि अधिकारीले उक्त जग्गामा प्लटिङ गर्न कार्यालयबाट कसैले अनुमति नलिएको बताए । उनले कार्की र विकले नगरपालिकाबाट स्वीकृति नलिई प्लटिङ गरेको थाहा भएपछि दुबैलाई पत्राचार गरेको जानकारी दिए ।

नगरपालिकाले प्रस्तावित क्षेत्रीय बसपार्कको जग्गासँग सम्बन्धित प्रमाण र कागजपत्र लिएर उपस्थित हुन उनीहरुलाई पत्राचार गरेको थियो । पार्टनरसिपमा प्लटिङ गरेकाले खड्गबहादुर विक नगरपालिका कार्यालयमा उपस्थित भएका थिए । विकले स्वीकृति लिनुपर्छ भन्ने नै थाहा नभएको स्पष्टीकरण दिएको कानुन अधिकृत अधिकारीले बताए ।

लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले नगरपालिकाले नगर्न भन्दाभन्दै जोरजबर्जस्ती गरेर जग्गा प्लटिङ गर्न नमिल्ने बताए ।

उनले भने, ‘जबर्जस्ती गरेर अगाडि बढे भनेपनि नगरपालिकाले फुकुवाको सिफारिस दिँदैन ।’ भण्डारीले नगरपालिका एक्लैले नसक्ने भन्दै पोखरा उपत्यका नगर विकास समितिसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

लेखनाथ १३ मा रहेको उक्त ठाउँमा क्षेत्रीय बसपार्क बनाउने प्रस्ताव २०५७ सालकै नगरपरिषदबाट पारित भएको हो । २०६८ मा नगरपालिका र पोखरा उपत्यका नगर विकास समितिको पहलमा अध्ययन टोली नै बनाइएको थियो । खेमबहादुर पुन संयोजक रहेको उक्त उपसमितिमा इन्जिनियर जगन्नाथ कोइराला र सूर्यमोहन अधिकारीले प्राविधिक सहयोग गरेका थिए ।

अध्ययन टोलीले २ सय ७३ रोपनी जग्गामा आधुनिक सुविधासम्पन्न पोखरा उपत्यका क्षेत्रीय बस टर्मिनल निर्माणको अवधारणा अगाडि बढाएको थियो । उक्त जग्गामध्ये ६७ दशमलव ३५ प्रतिशत निजी र ३२ दशमलव ६५ प्रतिशत सार्वजनिक हो । उक्त समयमा ९७ प्रतिशत जग्गा खाली थियो ।

टोलीले प्रस्तावित जग्गालाई अन्य उपयोगमा जान नदिन तुरुन्तै रोक्का राख्न र जग्गा अधिग्रहण गर्न आवश्यक प्रक्रिया सुरु गर्न सुझाव दिएको थियो । उक्त क्षेत्रमा थप घर निर्माणको स्वीकृति नदिन, प्रस्तावित योजनाको विस्तृत अध्ययन गर्न र कार्यान्वयनको लागि नेपाल सरकार एवं अन्य दातृ निकायसँग लबिङ गर्नुपर्ने टोलीको सुझाव थियो । सुझावकै आधारमा उपत्यका नगरविकास समितिले जग्गा रोक्का राखेको थियो ।

अध्ययन टोलीले दैनिक ४ सय ठूला सवारी पार्क गर्न मिल्ने गरी अन्तर्राष्ट्रिय मापदण्डको बसपार्कको डिजाइन समेत तयार गरेको छ ।

पोखरा र लेखनाथलाई जोड्ने रिङरोड र क्षेत्रीय बस टर्मिनल निर्माणलाई सँगै जोडेर हेर्ने गरिन्छ । प्रस्तावित बसपार्क रिङरोडकै रुटमा पर्छ । रिङरोडका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गरिएको छ । क्षेत्रीय बसपार्क निर्माणमा भने कम चासो पुगेको स्थानीय बताउँछन् । प्रस्तावित बसपार्कमा प्लटिङ भइसक्दा समेत सम्बन्धित निकाय मुकदर्शक भएको स्थानीयको आरोप छ ।

बसपार्क बनाउने भनिएको जग्गामा प्लटिङ गरी किनबेचसुरु भएपछि स्थानीयको पहलमा क्षेत्रीय बसपार्क निर्माण सहयोग समिति गठन गरिएको छ । १७ सदस्यीय समितिको संयोजक खेमबहादुर पुन छन् । असार २ गते गठन भएको समितिमा वडा नागरिक मञ्चका प्रतिनिधि, राजनीतिक दल, महिला समूह, युवा क्लवका प्रतिनिधि सामेल छन् ।

समितिले बैठक बसी बसपार्क निर्माण प्रक्रिया सुरु गर्न सम्बन्धित निकायलाई दबाब दिने निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिए । ‘बसपार्क लेखनाथबासी र समग्र पोखराको भविष्यसँग जोडिएको विषय हो,’ उनले भने, ‘कुनै पनि हालतमा बसपार्क निर्माण प्रक्रिया सुरु गरिनुपर्छ ।’

उनले बसपार्क विरोधी हर्कतलाई विफल बनाउन १३ नम्बर वडा र सम्पूर्ण लेखनाथबासी एकजुट हुने बताए । संयोजक पुनले भने, ‘पोखरा उपत्यकाको पर्यटकीय सम्भावना र विद्यमान सवारी चाप समेतलाई मध्यनजर गर्दा बसपार्क अत्यावश्यक भएको छ ।’ समितिले मंगलबार लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृतलाई प्रस्तावित बसपार्कको होर्डिङ बोर्ड राख्न ध्यानाकर्षण गराएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी ग्रेटर पोखराको अवधारणामा जाँदा पोखरा बसपार्कलेमात्रै धान्ने अवस्था नरहने बताउँछन् । ‘पोखरा बसपार्कलाई सिटी बसपार्कको रुपमा विकास गरेर लेखनाथमा क्षेत्रीय बसपार्क बनाउने अवधारणामानिजी क्षेत्र सकारात्मक छ,’ उनले भने ।

प्रस्तावित बसपार्क क्षेत्रमा भइरहेको प्लटिङ रोक्न सम्बन्धित निकायको आवश्यक ध्यान पुग्न जरुरी रहेको त्रिपाठीले बताए । ‘बसपार्क यथासिघ्र बनाउनको लागि राज्यको ध्यान जान जरुरी छ,’ उनले भने, ‘त्यसका लागि निजी क्षेत्रको तर्फबाट सहयोग गर्न तयार छौं ।’ खबर समाधानमा दीपक परियारले लेखेका छन् ।

निजी जग्गाले मुआब्जा पाउनुपर्ने र सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने भन्दै अध्यक्ष त्रिपाठीले क्षेत्रीय बसपार्क बनाउन निजी क्षेत्र जुनसुकै मूल्य चुकाउन तयार भएको बताए ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger