|
|
काठमाडाैँ :
मेराे नाम अरविन्द्र दास शर्मा हो । जन्म घर तमिलनाड स्थित् कन्याकुमारी भएपनि म २०४४÷०४५ सालदेखि काठमाडौंमा बस्दै आएको हुँ । म काठमाडौं आउनुको कथा मेरो आर्थिक अवस्थासँग जोडिएको छ ।
घरको आर्थिक अवस्था राम्रो थिएन । १३–१४ वर्षकै उमेरमा आठ कक्षा पढ्दा–पढ्दै पढाई छोडेर भारतको मध्यप्रदेशमा पुगे । भारतको मध्यप्रदेशमा काम गर्दागर्दै मुम्वई पुगें । त्यहाँ मैले कटिङको काम सिकें । बम्वईमा बस्दा काठमाडौंका गार्मेन्ट उद्योगीहरुसँग सम्पर्क बढ्यो । उनीहरुकै सहयोगमा कटिङ मास्टरको रुपमा काम गर्न म काठमाडौं आएँ । भूगोल, बोली भाषा, हावापानी काठमाडौं मेरालागि नयाँ थियो । काठमाडौंमा मेरो काम राम्रो थियो । काठमाडौंका शिवशक्ति ग्लोवल, स्वस्तिक, त्रिशक्ति र सुप्रिम गारमेन्टमा काम गरें ।
२०५३ साल पुस २६ गते मेरोलागि कालारात्रि बनेर आयो । काठमाडौको कालीमाटी स्थ्ति बार्सोलोना गार्मेन्टमा कटिङको काममा व्यस्त थिएँ । दिनको ३–४ बजेतिर सादा पोशाकमा आएका अपरिचित मानिस उद्योगमा देखिए । उनीहरु यताउता गर्न थाले । प्रहरी भएर पनि उनीहरु उद्योगीका रुपमा गार्मेन्टभित्र छिरेका थिए ।
‘मन्द्रासी को हो ?’ सादा पोशाकमा गएका मानिसले म सँग सोधे । नडराउनु–नविराउनु , उनीहरुसँग मैले परिचय लुकाउनु पर्ने कारण थिएन । ‘म हो’ – कैंचीले कपडा काट्दै उनीहरुलाई उत्तर दिए ।
‘दिनमा कति पीस काट्नुहुन्छ’ मलाई सोधे ? र खसी बजारको छेउँमा गार्मेन्ट फ्याक्ट्री भएको बताउँदै मलाई हेर्न जान प्रस्ताव गरे ।
उनीहरुले भने भन्दैमा यत्तिकै निस्कन मिल्दैनथ्यो ।‘साहुलाई नसोधी बाहिर जान मिल्दैन’– उनीहरुलाई मैले भनें । ‘होइन, होइन, सानो काम छ, । बाहिर आउनुस । फ्याक्ट्री हेर्न पछि जाउँला’– मलाई भने । गेटमा निस्कन नपाउँदै कर्यापकुरुप पारे । घिच्चाउँदै भ्यानमा लगे । त्यतिन्जेल सम्म पनि मलाई उनीहरु प्रहरी भएको मेसो थिएन । गाडीमा राखेर हत्कडी लगाएपछि मात्र उनीहरु प्रहरी हुन् भन्ने मलाई थाहा भयो ।
उनीहरुको दाबी अनुसार ४५० ग्राम लागु औषध ( खैरो हिरोइन) रवि शाहबाट प्रहरीले बरामद गरेको थियो । उक्त लागु औषध अरविन्द्र दासले आफूलाई दिएको अरविन्द्रले दिएको भन्दै मलाई पक्राउ गरेको रहेछ । जुन कुरा मैले पछि थाहा पाएँ । तर, ती मान्छेलाई म चिन्दा समेत चिन्दैनथें । । मलाई कामले फुर्सद नै हुँदैनथ्यो । विहान ६ बजे निस्केको कोठामा पुग्दा राती १२ बज्थ्यो । म काठमाडौंमा रोजगारकैलागि आएको थिएँ । मलाई अन्य कुराको कुनै मतलव थिएन कालीमाटिमा फूल समय र अन्य दुई ठाउँमा पार्ट टाइम काम गर्थे ।
मलाई उनीहरुले हनुमान ढोका पुर्याए । त्यहाँ पुर्याएर पनि मलाई केही भनेन् । राती भएपछि प्रहरी आएर भने,‘ कोठामा जाउँ ।’ प्रहरीको यो भनाइले, मलाई छोड्छन कि क्या हो, भन्ने लाग्यो । तर, त्यो उनीहरुको वहान रहेछ । खानतलासी गर्न यसो गरेका रहेछन् । राती मेरो कोठामा गएर खानतलासी गरे । केही भेटिएन । श्रीमती कोठामा रोइरहेकी थिइन् । ‘दीदी रुनु पर्दैन । भोली छोडिहाल्छ नि’– सँगै आएका प्रहरीले भने । ‘यो मानिस त इन्भल्व छैन । अनुसन्धान गरौं’– वाकीटकीबाट इन्सपेक्टरले भनें । त्यतिन्जेलसम्म पनि म कुन अपराधमा पक्रिएको थिएँ मलाई जानकारी थिएन ।
म लागु औषध खाने मान्छे पनि होइन । वेच्ने मान्छे पनि होइन । जाँडरक्सी पनि खाँदैनथें । ट्यापे केटासँग कसरी सम्पर्क गर्छु । पक्रेको दुईदिन पछाडी मलाई अदालत पेश गर्यो । त्यसपछि मात्रै लागु औषधको मुद्दामा मलाई फसाइएको मेसो पाएँ । यो थाहा पाउँदा छाँगाबाट खसेजस्तो भएँ । मलाई त्यतिवेला रोशन भट्टराई नामको इन्सपेक्टर नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो ।
म पक्राउ परेपछि मलाई चिन्ने जान्ने र म काम गर्ने उद्योगका मालिकले समेत अदालतमा गएर मेरो बारेमा बयान दिए । कसैको सुनुवाई भएन । प्रहरीको कुरा पत्याउँदै काठमाडौं जिल्ला अदालतले मलाई साढे दुईलाख जरिवाना र ७ वर्ष संजाय तोक्यो । जता गयो पैसाकै कुरा गर्थे । अदालतमा त्यस्तै । पुलिसमा त्यस्तै । त्यतिवेला नै प्रहरीले ५० हजार दिने भए छोडिदिन्छौ भनेको थियो । गल्ती गरेको थिइन । किन पैसा दिएर छुट्ने ? अदालतबाट न्याय पाइहाल्छु भनेर बसें । फेरी ४० हजार मागियो । त्यो पनि नदिएपछि मुद्दा दर्ताको काम अगाडी बढाइएको हो ।
प्रहरीले जहाँ जहाँ सही गर्न भन्यो त्यो मान्नुको विकल्प थिएन । पढेर गर्छु भन्दा लात्तिले हान्थे । जता गयो सवैतिर विदेशी भनेर थप हेयको भाषाले मलाई हेप्थे । निर्दोष मलाई अपराधि बनाइयो।
मलाई अर्को वज्रपात आठ वर्षपछि आयो । जव जिल्ला अदालतले तोकेको कैद सजाय भोगेर म बाहिर निस्कंदै थिएँ । सर्वोच्च अदालतले उक्त मुद्दामा १५ वर्ष र पाँच लाख रुपिंया जरिवाना गर्यो । म माथि अन्याय भएकाले सर्वोच्चको ढोका ढकढक्काउन पुगेको मलाई उल्टै दोव्वर संजाय गरियो ।
३५ वर्षको लक्का जवान म १८ वर्ष जेल बसेर २०७१ असार १५ मा रिहा भएको हुँ । मेरो उर्जाशिल उमेर जेलमा वित्यो । घर परिवारसँग मेरो सम्वन्ध टुट्यो । घर परिवारले म मरेको ठानेछन् । जेलबाट छुटेपछि सानो छोरालाई लिएर २०७२ वैशाख १० गते घरमा पुगें । वुवा आमा वितिसक्नुभएको रहेछ । दाजु, दीदीहरु कसैले पनि मलाई चिनेनन् । आफ्नै दीदीसँग गएर वुवा–आमाका बारेमा सोध्न पुगेछु । मलाई चिन्न पनि उहाँहरुलाई गारो भयो ।
|
|
Post a Comment