|
|
लागुऔषध ब्राउन सुगर(खैरो हेरोइन) सहित प्रहरीले तीन जना पूर्व लडाकुहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत बालाजुबाट खटिएको टोलीले माछापोखरीबाट रुकुम र रोल्पा घर भएका माओवादीका पूर्व लडाकुहरुलाई पक्राउ गरेको हो । रुकुम चुनुवाङका जगत पुन, रोल्पा कोटगाउँका अक्तबहादुर घर्तीमगर र रोल्पा गैरीगाउँका प्रवेश डि.सी.ब्राउन सुगरसहित पक्राउ परेको बालाजु प्रहरीले जनाएको छ । बालाजु बृतका अनुसार उनीहरुको साथबाट ६८ ग्राम ब्राउन सुगर अर्थात खैरो हेरोइन बरामद भएको छ ।
२८ वर्षीय जगत पुन सेना समायोजनताका ५ लाख रुपैयाँ बुझेर स्वेच्छिक अवकाश लिएका पूर्वलडाकु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका अन्य पनि पूर्व लडाकु हुन् तर उनीहरुले सेना समायोजन भन्दा अघि नै माओवादी छाडेको बताइएको छ ।
माछापोखरीमा शंकास्पद तरिकाले हिंडिरहेका जगत पुनसहितका युवाहरुलाई सोधपुछ गर्दा स्पष्ट नबोलेको र भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको बालाजु बृत्तले जनाएको छ । तिनै जनाको शरिर खानतलासी गर्दा खैरो हेरोइन भेटिएको थियो । उनीहरु खैरो हेरोइन बिक्री गर्ने उद्देश्यसहित हिँडिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
|
|
Post a Comment