Headlines News :
Home » » कोरलामा चीनले लगाएको ताला किन खुल्दैन?

कोरलामा चीनले लगाएको ताला किन खुल्दैन?

Written By news on Tuesday, 31 May 2016 | 04:37

१८ जेठ, २०७३ ।
नेपाली हेडलाइन-२४ । मुस्तांगको छिमेकी जिल्ला म्याग्दीको बेनीसम्म पुग्नमात्रै होइन, आफ्नै जिल्ला सदरमुकाम जोमसोमसम्म पनि हिँडेरै जानुपथ्र्याे । उत्तर छिमेकी चीनतिर भने २०५६ सालमा मोटरबाटो जोडियो । उत्तरी मुस्ताङको केन्द्र लोमन्थाङदेखि चीनको सिमानामा पर्ने कोरलासम्म २५ किलोमिटर सडक बनाउन तीनवटा गाविसले बजेट निकासा गरे ।
तर १२–१३ वर्षजति भयो, पहिलाको जस्तो सजिलो हुन छाडेको । जुन बाटो हुँदै मुस्ताङीहरू ओहोरदोहोर गर्थे त्यहींबाट तिब्बती धर्मगुरु सत्रौं कर्मापा नेपाल छिरेर भारततिर भागे । त्यसपछि चीनले काँडेतारको बार लगाइदियो । अचेल चिनियाँ सामान किनमेल गर्नुपर्‌यो भने माथ्लो मुस्ताङका बासिन्दाले ६ महिना कुर्नुपर्छ । वर्षमा दुईपटक सीमा क्षेत्र कोरलामा चिनियाँ र नेपाली सामानको हाट लाग्छ । हाटमा नेपाली र चिनियाँ दुवै पक्षले बिक्रीवितरण गर्ने गरेका छन् । धेरै व्यापार चिनियाँ पक्षकै हुन्छ । आखिर नेपालीसँग बिक्री गर्ने पनि केही त छैन ! त्यही हाटका बेला ६ महिनासम्मका लागि सामान किनेर थुपार्छन् माथिल्लो मुस्ताङी । असोजमा लागेको मेलामा किनेका सामान लोमन्थाङका रिन्छेन गुरुङको पसलमा टनाटन छन् । यसै पनि हिउँदमा हिउँ पर्दा घरबाहिर निस्कनै मुस्किल पर्ने हुँदा स्थानीयले महिनौंसम्मलाई पुग्ने सरसामान जोहो गर्नैपथ्र्यो ।  अहिले पनि हाटमा किनेर जम्मा गर्छन् । सम्पर्क र पहुँच बनाउन सक्नेले भने चाहेका बेला पारिपट्टिको ढोङ्बासेन बजारका व्यापारीसँग कुरा मिलाएर रातिराति सामान झिकाउँछन् । सर्वसाधारणका लागि भने हाट नकुरी सुख छैन ।
स्थानीयलाई अप्ठेरो त छँदै थियो कोरलामा चीनले लगाएको तालाले । देशैभरका लागि पनि त्यो ताला छिट्टै खुल्नुपर्ने स्थिति बनाएको भने भारतले लगाएको नाकाबन्दीपछि हो । त्यसयता मुस्ताङको कोरला नाका चर्चामा आइरह्यो । भारतले लगाएको नाकाबन्दी खुले पनि चीनतिरका नाका पनि खोल्नैपर्ने तातोले भने छोडेको छैन । के भइरहेको छ त चीनपट्टिका नाका खोल्न ? खासगरी कोरलाबारे प्रस्तावित प्रदेश नम्बर ४ मा बढी उत्सुकता छ। त्यही उत्सुकता मेट्न गत साता पोखराका पर्यटन व्यवसायी हुल बाँधेरै कोरला पुगे । ‘हाम्रो प्रदेशको पर्यटन र अरू व्यवसायका लागि कोरला नाका अति आवश्यक छ', पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले भने, ‘सरकारले खोल्छु–खोल्छु त भन्यो तर यथार्थ के हो भनेर बुझ्न ठाउँमै गएका हौं ।'
पोखरेली पर्यटनकर्मीले थाहा पाए, १३ वर्षअघि नै चीन र नेपालका अधिकारीले कोरला नाका खोल्ने सम्झौता गरिसकेका थिए । आफू पराराष्ट्र राज्यमन्त्री हुँदा संखुवासभाको किमाथाङ्का र कोरला नाका खोल्न दुई देशको सम्झौता भइसकेकाले अब व्यवहारमा उतार्नमात्र बाँकी रहेको मुस्ताङका सभासद् रोमी गौचन थकालीले बताए ।
पोखराबाट दुई सय ६५ किलोमिटर जति टाढा छ कोरला । पोखरा—बेनी ८० किलोमिटर सडक पक्की छ । त्यसपछिको ७५ किलोमिटर जोमसोम खण्ड अनि जोमसोमबाट एक सय १० किलोमिटर ट्र्याक खुलेको मात्रै हो । कागबेनीबाट उकालो लागेपछि ढुंगा, बालुवा र गिटीको थुप्रो लागेका असंख्य डाँडाकाँडा छिचोल्दै पुगिन्छ माथ्लो मुस्ताङको केन्द्र लोमन्थाङ ।
अनेक गौंडागल्छेडा र उकाली—ओराली भएका भिरपाखाको बाटो हुँदै मुस्ताङी ‘राजा' को मुकाम लोमान्थाङ पुगेपछि कोरला टेक्न अझै २५ किलोमिटरको यात्रा गर्नुपर्छ । ३७ सय मिटर उचाइको लोमन्थाङबाट ४६ सय ५० मिटरको कोरला पुग्न गाउँस्तरबाटै खनिएको बाटो त्यति अप्ठेरो छैन ।अप्ठेरो भनेकै कोरलामा चीनले लगाएको ताला हो।
नाका खुलाउने औपचारिकता पूरा भइसकेर पनि किन खुल्दैन त कोरलामा चीनले लगाएको ताला ?
नेपाल सरकारले त खुल्छ भनेकै छ । चीनको आधिकारिक धारणा खासै सार्वजनिक भइहाल्दैन । चीनले काँडेतारको बारमात्रै नलगाई ठाउँठाउँमा सीसी क्यामेरा जोडेको छ । त्यसैले स्थानीय सीमाको छेउछाउ पर्न पनि धक मान्छन् । तारबार यसरी लगाइएको छ कि अग्लाअग्ला डाँडासम्म चीनले ओगटेको छ र बाँकी नेपालतिर छाडेको छ । दसगजाको २४ नम्बर सीमा स्तम्भबाट छड्के पारेरै पनि चीनले अग्ला डाँडा आफूतिरै पारेको छ ।
स्थानीयलाई लाग्छ, ‘नेपाल सरकारले पहल गर्नै सकेन । त्यसैले नाका खुलेन ।' लोमान्थाङका मुखिया झेबाङ बिष्ट भन्छन्, ‘चीनका मान्छेहरू तेरो सरकारको चिठी लिएर आइज, बाटो पिच गर्दिन्छु भन्छ, हाम्रा मान्छेहरू वास्तै गर्दैन ।' उनी ढोङ्बासेनबाट कोरलासम्मको ३० किलोमिटर बाटो चीनले पक्की बनाउन लागेको बताउँछन्। अर्काे अड्कलचाहिँ नेपालतिर स्वतन्त्र तिब्बतको माग गर्नेहरूले गतिविधि गर्लान् भनेर चीन सरकार डराएको होला कि भन्ने पनि हो ।
संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारी नेतृत्व टोलीले गत मंसिरमा स्थलगत अवलोकन गर्दा तीन महिनाभित्रै नाका खोल्न सम्भव हुने बताउँदै खोल्न सरकारलाई निर्देशनसमेत दिएको थियो । तर भारतले नाकाबन्दी खोलिदिएका कारण सरकार फेरि सुस्ताएको हुनसक्ने स्थानीय बासिन्दा अड्कल काटिरहेका छन् ।
सरकारी अधिकारीका अनुसार भने केही पूर्वाधार तयार हुँदैछन्, त्यसपछि मात्रै नाका खोल्नु व्यावहारिक हुनेछ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी भन्छन्, ‘चीनले पनि पूर्वाधार बनाउँदैछ, हामीले पनि बनाउँदैछौं ।' उनका अनुसार सीमामा सेनालाई, प्रहरी, सशस्त्र प्रहरी बल, भन्सार, सुख्खा बन्दरगाह र अध्यागमनका लागि जमिन छुट्ट्याइएको छ । ‘यो काम माघमै भइसकेको हो', उनले भने ।
कोरला पुगेपछि सबैको मनमा प्रश्न उठ्छ, ‘भारत—चीन जोड्ने जम्मा चार सय ३५ किलोमिटर दूरीको नाका किन खुल्दैन ? ' अधिकारीले पूर्वाधार निर्माणको तयारी भइरहेको भनेर दिएको जानकारीलाई सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर राजेश पौडेलले थप पुष्टि गरे । उनका अनुसार बेनीबाट कोरलासम्मको सडक स्तरोन्नति गर्न अर्थ मन्त्रालयले साढे चार अर्ब २० करोड रुपैयाँको सुनिश्चितता पोहोरै गरेको थियो । शनिबार आएको बजेटमा पनि यो सडकलाई डेडिकेटेड दुई लेनको बनाउने उल्लेख छ । दुई वर्षभित्र सडक स्तरोन्नति सक्ने अर्थमन्त्री पौडेलले बजेट भाषणमा सुनाए । ‘सडकको डीपीआर तयार हुँदैछ, आउँदो साउनदेखि टेन्डर खुला हुन्छ', इन्जिनियर पौडेलले भने ।
कति ठाउँमा कालीगण्डकी नदीमा पुल हाल्नुपर्ने हो र कहाँकहाँ पहरा छिचोलेर सडक लैजानुपर्ने हो भन्नेचाहिँ डीपीआर बनेपछि मात्रै भन्न सकिने पौडेल बताउँछन् । बेनीबाट मुस्ताङतिर त स्तरोन्नति हुँदैछ नै, त्यस तल पनि कालीगण्डकी करिडर नाममा सडक बनिरहेको छ जसले भारतीय सीमासम्म जोड्नेछ । म्याग्दी र बागलुङ सीमाना मालढुंगाबाट बलेवासम्मको २० किलोमिटर बाटोको ट्र्याक नेपाली सेनाले गएको महिनामात्रै खोल्यो । त्यसैअनुसार तराईसम्म करिडर जोडिए कोरला नाका प्रदेश नं ४ को अर्थतन्त्र उकास्न गतिलो माध्यम बन्ने विश्वास गर्छन् पोखरा पर्यटन परिषद्का महासचिव रामु गौतम ।
पोखराबाट गएको पर्यटन व्यवसायीको टोलीले के देख्यो भने कोरला नाकामा चीनले ताला खोल्दिहाल्यो भने पनि तुरुन्तै चीनतिरबाट मालसामान ओसारपसार गर्न कठिन छ । ‘ट्र्याकमात्रै खुलेको बाटोमा मालबाहक ट्रक गुड्न सक्ने अवस्थै छैन', पर्यटनकर्मी गणेशबहादुर भट्टराईले भने । -(अन्नपूर्णपोस्टबाट)
-
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger