|
|
नुवाकोट, २४ साउन । गोरखाबाट बिरामी बोकेर काठमाडौंतर्फ फर्किरहेको फिस्टेल एयरेको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ ।
गोरखाको सिर्दीबासबा बिरामी बोकेर १२ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर मध्यान्ह १२ बजेर ३० मिनेटको समयमा नुवाकोटको मदानपुर गाविसस्थित बाराही नजिकै बस्तीपुर जंगलको खोँचमा खसेर दुर्घटनाग्रस्त भएको हो ।
क्याप्टेन रञ्जन लिम्बूले उडाएको ९एनएकेए कलसाइन भएको दुर्घटनाग्रस्त हेलिकोप्टरमा ६ जना सवार रहेका थिए ।
नुवाकोट सदरमुकाम बिदुरबाट करिब २२ किलोमिटरको दुरीमा रहेको घटनास्थल क्षेत्रमा ठूलो आवाज आएपछि धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
हेलिकोप्टर दुर्घटनामा परेको सूचना आएपछि बिदुरबाट प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल नेतृत्वको टोली घटनास्थलतर्फ लागि सकेको छ ।
‘हेलिकोप्टर दुर्घटनामा परेको सूचना स्थानीयबासीले दिएका छन्’, प्रजिअ पोखरेलले भने, ‘सुरक्षाकर्मीसहित हामी घटनास्थलतर्फ गइरहेका छौं, थप विवरण त्यहाँ पुगेपछि मात्रै आउँछ ।’
सिर्दीबासबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण दुर्घटनामा परेको पुष्टि फिस्टेल एयरले पनि गरेको छ । दुर्घटनास्थल पासाङ ल्हामु राजमार्गबाट करिब आधा घन्टा तल खोँचमा रहेको स्थानीयबासीले बताएका छन् ।
|
|
Post a Comment