Headlines News :
Home » » अन्तरजातीय विवाहले निम्त्याएको दुखान्त : पोष्टमार्टमले खोल्यो प्रहरीको पोल, अजितको आत्महत्या होइन हत्या

अन्तरजातीय विवाहले निम्त्याएको दुखान्त : पोष्टमार्टमले खोल्यो प्रहरीको पोल, अजितको आत्महत्या होइन हत्या

Written By news on Saturday, 23 July 2016 | 22:47



काठमाडौं । साउन ३ गते सोमबारको कुरा हो । सधैं झै म विहानै नौ बजे अफिस पुगेकी थिएँ । अफिस पुगेर पहिले पत्रिका पढ्न थालें ।  ‘अन्तरजातिय विहे गरेका युवकको मृत्यु’ शिर्षकको समाचारमा मेरो आँखा ठोक्कियो । निकै कौतुहलताका साथ समाचार पढें । मन स्तब्ध भयो ।

काभ्रेको पाँचखाल नगरपालिका-६ होक्सेका १८ वर्षीय अजित ढकाल (मिजार)को ‘मृत्यु’ भएको रहेछ अन्तरजातिय विवाहका कारण । समाचारअनुसार अजितले पाँचखालकै पराजुली (वाहुन) थरकी १६ वर्षीया किशोरीसँग असार २५ गते प्रेम विवाह गरेका थिए ।
असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई जबर्जस्ती अलग गरियो । त्यसको तीन दिनपछि अजितको लास धादिङमा डोरीमा झुन्डिएको अवस्थामा फेला पर्‍यो । यो शंकास्पद र रहस्यमय मृत्यु थियो ।

यो घटना एकाएक चौतर्फी फैलिइसकेको थियो । सामाजिक संस्थामा कार्यरत भएकाले मैले यो घटनालाई नजिकबाट बुझ्न आवश्यक सम्झिएँ । यसैबीच, अजितको लास आफन्तले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ल्याएको थाहा भयो । त्यसबारे रिर्पोटिङका लागि म कुदेर टिचिङ अस्पतालतर्फ गएँ ।

अस्पताल पुग्दा दिउँसोको करिब साढे दुई बजिसकेको थियो । अस्पतालको प्रांगणमा दलित अधिकारकर्मीहरु, संघ-संस्थाका प्रतिनिधि, सांसद लगायत अजितका आफन्तहरुको ठूलो भिड थियो । सबैको अनुहारमा निकै निराशा र भावुकता देखिन्थ्यो । मेरो मन पनि निकै भारी भयो । आँशु मात्रै खस्न सकेको थिएन ।

अस्पतालमा मैले घटनाबारे सबिस्तार बुझ्ने प्रयत्न गरें । मृतकका बुवा हरिभक्त ढकाल मिजारसँग केहि सोध्न खोजें, उहाँ बोल्नै सक्नु भएन । मृतक अजितका दाजु दिपेन्द्र अलि-अलि बोल्न सक्ने अवस्थामा भए पनि घरि-घरि गला अवरुद्ध हुँदै थियो उहाँको पनि ।

दाजु दिपेन्द्रको मुखबाट एउटै कुरा बारम्बार निस्किन्थ्यो, ‘मेरो भाइको कसरी हत्या भयो ? सत्यतथ्य पत्ता लगाइयोस् ।’

दिपेन्द्रका अनुसार काभ्रे प्रहरीले पीडितको उजुरी पनि दर्ता गर्न मानेको छैन ।

अन्तरजातीय विवाह गरेलगत्तै केटीका आफन्तहरुले अजितलाई धम्क्याउन थालेका रहेछन् । ‘तँलाई तीन दिनमा देखाइदिन्छौं,’ भनेर धम्क्याएपछि छोरालाई घरबाहिर नजान सल्लाह दिएको अजितका बुवा हरिभक्तले बताए । असार २८ गते ठुली आमाको घर आएका अजित २९ गते विहान क्याम्पससमेत गएको उनले जानकारी दिए ।

काभ्रेका अजितको शव धादिङमा भेटियो

कलेजबाट फर्किएपछि आमासँग मोबाइलको रिचार्ज कार्ड किन्न भनेर १०० रुपैयाँ मागेका थिए अजितले । पछि रिचार्ज कार्ड नकिनेर ५० रुपैयाँ बहिनीलाई दिएर निस्केका थिए ।

‘दिउँसो दुई बजेतिर दाजुभाइले सँगै खाना खाएर बसेका थियौं । म पानी लिन निस्किएँ । घर फर्किंदा भाइको मोबाइल घरमै थियो तर भाइ थिएन,’ दिपेन्द्र भन्छन् । रातिसम्म नफर्केपछि आफूहरुलाई शंका लाग्न थालेको दिपेन्द्र बताउँछन् ।

त्यसै रात ८ बजेतिर अजितले आफ्नो ठूली आमालाई पनि फोन गरेका रहेछन् । ठुली आमाले यो कुरा अजितको घरमा जानकारी गराइन् । त्यसपछि अजितले फोन गरेको नम्बरमा आफूले फोन डायल गर्दा उताबाट अरुले नै गीत सुनाउने र फोहर कुरा बोल्ने गरेको दिपेन्द्रले बताए ।

त्यसपछि, अजित सम्पर्कविहीन भए । घरकाले धेरै खोजिनिती गर्दा पनि केही पत्तो लागेन । विवाह गरी छुटेको तीन दिन नबित्दै अजितको लास धादिङमा पासो लागेको अवस्थामा फेला पर्‍यो । उनको मृत्यु निकै शंकास्पद थियो । अजितकी प्रेमीकालाई आफन्तले घर लैजाँदा अजितलाई मार्ने धम्की दिइएको उनका आफन्त बताउँछन् ।

अजितका आफन्त र जिल्लास्थित दलित अधिकारकर्मीले अजितको आत्महत्या नभई हत्या नै भएको ठोकुवा गरिरहेका बेला पोष्र्टमाटमको रिपोर्टले पनि यो आत्महत्या नभएको पुष्टि भएको छ ।

प्रहरी बेइमानीको पर्दाफास

धादिङको गजुरीस्थित पुरानो काठको यात्रु प्रतिक्षालयमा असार ३० गते विहान दूध बेच्न जाने स्थानीयले डोरीमा झुन्डिएको लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरिक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साक्षी राखेर मुचुल्का गरे । त्यसपछि कागजीरुपमा पोष्टमार्टम गरी दरौदी खोलामा गाडिदिए ।

प्रहरीले बेवारिसे अवस्थामा भएकाले स्थानीयको सहयोगमा अजितको लास गाडेको उल्लेख गरेको छ । तर, कानुनतः बेवारीसे लास भेटिएमा त्यसका धेरै प्रकृया पूरा गरेर मात्रै लास गाड्न सकिन्छ । यहाँ सामान्य प्रकृया पनि नपुर्‍याइ लास गाडिएको देखियो ।

यति हुँदासम्म पनि मृतक अजितका आफन्तलाई कुनै जानकारी थिएन । धादिङकै एक अनलाइनले झुन्डिएको अवस्थामा फेला परेको अजितका फोटाहरु जब फेसबुकमा सेयर गर्‍यो त्यसपछि बल्ल आफन्तले थाहा पाए कि, अजित यो संसारमा छैनन् । आफन्तहरु धादिङ पुगेर अजितको लास माग्दा प्रहरीले लासलाई पोष्टमार्टम गरेर गाडिसकेको जवाफ दियो ।

त्यसपछि अजितका आफन्तले अधिकारकर्मी गुहारे । राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयमार्फत चिठ्ठी पठाएपछि साउन २ गते गाडिएको लास उत्खनन गरेर पोष्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पुर्‍याइयो ।

साउन दुई गते बेलुका अजितको लासलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखियो । तर विडम्बना, धादिङ गजुरी प्रहरीले पोष्टमार्टम गरिसकेकाले फेरी पोष्टमार्टम गर्न नपाइने रिपोर्ट दिएर अजितका आफन्तलाई फिर्ता पठाइयो । जबकि उक्त पोष्टमार्टम झुट ठहर भैसकेको थियो । उत्खनन गरिएको अजितको लास हेर्दा पोष्टमार्टम नै नभएको कुरा सामान्य मान्छेले पनि थाहा पाउँथ्यो ।

राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयमा दबाव दिएपछि पुनः पोष्टमार्टमका लागि अनुमति दिइयो । लास ल्याएको तीन दिनपछि साउन पाँच गते पोष्टमार्टम भयो । पोष्टमार्टम रिपोर्टले अजितको आत्महत्या भएको प्रहरी दावीलाई झुट सावित गरेको छ ।

टिचिङ अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले अजितले आत्महत्या गरेको पुष्टि नहुने भन्दै यसमा थप अध्ययन जारी रहेको बताएका छन् ।

अस्पतालको रिपोर्टले पनि अजितको अन्तर्जातिय विबाह गरेकै कारण हत्या भएको पुष्टी भएको छ । आजको एक्काइसौं शताव्दीमा यो जति लाजमर्दो कुरा अरु के हुन सक्छ ?

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger