Headlines News :
Home » » यस्तो छ ओली सरकार गिराउने खेलको भित्रीकथा ..

यस्तो छ ओली सरकार गिराउने खेलको भित्रीकथा ..

Written By news on Tuesday, 12 July 2016 | 05:07



काठमाण्डौ ।
 ओली सरकार २ महिनाभित्र गिराउने म्याण्डेड लिएर लगातार नेपालमा खेल खेलिरहेका भारतीय गुप्तचरहरु अन्ततः सफल बन्ने भएका छन् । माओवादी केन्द्रले मंगलबार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सम्बद्ध निकायमा बुझाइसकेको छ भने सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना नै नगरी ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति कार्यान्वयनमा एमाले उदासीन बनेकोले सरकार छाड्नुपरेको प्रष्टीकरण दिइसकेको छ । माओवादीको केन्द्रको यो कदम र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयासको सुरुवातसँगै आफ्नो रणनीति सफल भएको भन्दै भारतीय गुप्तचरहरुमा खुशी छाएको छ । भारतीय राजदूतावासस्थित एक उच्च स्रोतका अनुसार ओली सरकारलाई गिराउने खेलमा सफलताको श्रृंखला सुरु भएपछि त्यसको खुशियालीमा छलफलको नाममा मंगलबार राति बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा रात्रिभोज आयोजना गरिएको छ ।

समाचार स्रोतका अनुसार भोजमा नेपाली कांग्रेस र माओवादी केन्द्रका दोश्रो बरियताका नेताहरु, मधेशवादी दलका नेताहरुलाई डाकिएको छ । कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भने मंगलबार साँझसम्ममा भारतीय राजदूत रञ्जित रेले भेट गर्ने कार्यक्रम राखिएको छ ।

यसकारण फिर्ता भयो समर्थन
सत्ताको स्वाद एकपटक चाखिसकेको व्यक्तिले फेरि त्यो अवसर पाए हतपत गुमाउन चाहदैन । ओली सरकार गिराउने खेलमा समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यही स्वार्थ एउटा कारण थियो । उनमा रहेको चरम सत्ता स्वार्थका कारण समेत एमाले नेतृत्वको सरकार गिराउने भारतीय गुप्तचरको खेलमा सहीछाप गर्न प्रचण्ड तयार भएका देखिए । प्रचण्डलाई ओलीको साथ छुटाउने काममा भारतीय स्वार्थबाट प्रेरित तथा प्रभावित केही माओवादी नेताहरुको समेत प्रमुख हात रहेको छ । यो मामलामा सबैभन्दा ठूलो भूमिका माओवादी नेता कृष्णबहादुर महराले निर्वाह गरेका स्रोतको जनाएको छ ।

कृष्णबहादुर महराले ओली सरकार ढाल्नैपर्ने भूमिका खेल्नुपर्ने बाध्यतासँग जोडिएका केही रोचक कारणहरु पनि छन् । केही समयअघिसम्म ठूलो माछा पक्रिने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले महरालाई पक्रने तयारी सुरु गरेका थिए । अख्तियारले डाम्ने सूचना पाएपछि महरा आफूलाई बचाइदिन हारगुहार गर्दै सुटुक्क दिल्ली पुगेका थिए । त्यही सेरोफेरोमा कांग्रेस सभापति शेरबहादुर देउवा समेत पत्नी आरजूको उपचार बाहानामा दिल्ली पुगेका थिए । महरा र देउवा भन्दा अघि नै भारतसँग निकट र हिन्दू राष्ट्रको एजेण्डामा अडिग खूमबहादुर खड्का समेत दिल्ली पुगिसकेका थिए । अख्तियारबाट तर्सिएर लोकमानसिंह कार्कीलाई रोकिदिन अनुरोध गर्दै दिल्ली पुगेका महरा, देउवा, खड्का र भारतीय नेताहरुको त्यहाँ कयौपटक छलफल भएको थियो । सोही क्रममा ओली सरकारलाई ढाल्न सहयोग गरे अख्तियारको संभावित कारबाहीबाट बचाउनसक्ने भारतीय नेताहरुले महरालाई सन्देश दिएका थिए । अख्तियारको टार्गेटमा प्रचण्ड समेत रहेका र अन्य उच्च माओवादी नेताहरु समेत जेल पर्नसक्ने भन्दै भारतीय नेताहरुले तर्साएका थिए । महराले ढिलोचाँडो ओली सरकार गिराउन प्रचण्डलाई सहमत गराउने कसम खाएर स्वदेश फर्किएका थिए । स्वदेश फर्किए लगत्तै प्रचण्डका लागि ओली सरकार गिराउने खेलमा सामेल हुन सहमत गराइसके पनि रातारात चिनिया कार्ड प्रभावशाली भएपछि महराको योजना तुहिएको थियो । तर पनि उनले आफ्नो मिसन छाडेनन् र अन्ततः भारतीय गुप्तचरको समेत साथ लिएर अख्तियारको संभावित कारबाहीबाट पनि बच्ने, भारतीयलाई खुशी पनि पार्ने र सत्तामा आफ्ना अध्यक्षलाई प्रधानमन्त्री र आफूलाई महत्वपूर्ण मन्त्री बनाउने गरी ओली सरकार गिराउने खेलमा उनले सफलता पाए ।

स्मरण रहोस्, जनआन्दोलनको दोषी ठहर भए पनि भारतीय सोर्सफोर्समै लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त भएका हुन् । माओवादी लडाकूको नाममा नक्कली सूचि बुझाएर राज्यकोषबाट अरबौ दोहन गरेका माओवादीका उच्च नेताहरुलाई अख्तियारले जुनसुकै बेला जाक्नसक्ने डरले समेत यो पटक प्रचण्डलाई गलाएको स्रोत बताउँछ । अर्कोतर्फ, ओली नेतृत्वको सरकारले आफूविरुद्ध अनसन बसिरहेका डा. गोविन्द केसीलाई भित्री रुपमा समर्थन गरेको सूचना पाएका लोकमानसिंह कार्कीको भूमिकाले समेत पछिल्लो समय केही न केही काम गरेको स्रोत दाबी गर्छ ।

के भएको थियो पहिला ?
माओवादी केन्द्रले भाषामा राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएको भनिए पनि यसको अन्तर्य चाहि अर्कै छ । कारण उसले यसो भन्ने बित्तिकै राष्ट्रिय सहमतिको सरकार गठन हुने अवस्था छैन । बरु कांग्रेससँग मिलेर बहुमतीय सरकार गठन हुने चाहि निश्चित छ । एमाले प्रमुख प्रतिपक्षी हुनेछ भने मधेशवादीहरु समेत सामेल बहुमतीय सरकार कांग्रेस र माओवादी मिलेर बनाउनेछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै सरकारको नेतृत्व लिने तुरुप प्रचण्डतर्फ फाकेपछि प्रचण्ड सरकारको नेतृत्व गर्न आतुर देखिएका छन् । समग्रमा कांग्रेस र एमाओवादीलाई सत्ता स्वार्थमा भारतीय एजेन्सीको लामो प्रयासले मिलाइदिएपछि अब आफूलाई राष्ट्रवादी धारमा प्रस्तुत गरेका ओलीको सत्ताबाट बहिर्गमन निश्चित छ ।

त्यसो त देउवा दिल्लीबाट फर्किए लगत्तै एमाओवादीसँग धेरै चरणमा गम्भीर छलफलहरु भएका थिए । सो क्रममा कांग्रेसले ओली सरकार गिराउने शर्तमा प्रचण्डको नेतृत्व समेत स्वीकार गर्ने स्पष्ट संकेत दिएको थियो । कांग्रेसले नै यस्तो संकेत दिएपछि फेरि एकपटक सत्ताको नेतृत्व गर्ने रणनीतिसहित एमाओवादीले सरकारबाट बाहिरिने र राष्ट्रिय सहमतिको सरकारको नाममा नयाँ सरकार गठन गर्ने खेल सुरु गरेको छ ।

बजेट रोक्ने दाउ थियो भारतीयको
भारतीय संस्थापन पक्ष र एजेन्सीका अधिकारीहरु केपी ओली नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्नै नदिने पक्षमा रहेका थिए । ओलीले चीन भ्रमणको क्रममा गरेका पारवहन लगायतका महत्वपूर्ण सम्झौताहरुका कारण भारत चिढिएको छ । ओलीलाई  बजेट प्रस्तुत गर्न दिए ती सम्झौताहरु कार्यान्वयन सहज हुने किसिमको बजेट तथा कार्यक्रम आउने भारतीय पक्षको बुझाई छ । यही बुझाईका कारण भारतले ओलीको चीन भ्रमणदेखि नै यो सरकार गिराउने खेल सुरु गरेको थियो । सो क्रममा भारतले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष प्रचण्ड, अर्का  नेता कृष्णबहादुर महरा, कांग्रेस नेता खूमबहादुर खड्कादेखि पूर्व राजा ज्ञानेन्द्रसम्मलाई प्रयोग गरेको थियो ।

भारत चीनसँग ओली सरकारले गरेको सम्झौता कार्यान्वयन नहोस् भन्ने चाहन्छ । ओलीले चीनसँग पारवहन सम्झौता गरेर भारतप्रति बर्षौदेखि रहँदै आएको नेपालको परनिर्भरता हटाउने प्रयास गरेका थिए । चीनतर्फ ढल्किएको देखेर भारत चिढिएको थियो । भारत जस्तोसुकै रणनीति अपनाएर भए पनि चीनसँग नेपालको हिमचिम बढेको हेर्न चाहदैन । ओली भ्रमणको क्रममा भएका अन्य सम्झौताहरुका कारण समेत भारतलाई झट्का लागेको थियो । चीन भ्रमणबाट फर्किएलगत्तै ओलीले ‘नेपाल भूपरिवेष्ठित देश रहेको, भारत वेष्ठित देश नरहेको’ जस्ता कडा प्रतिक्रियाहरु सार्वजनिक गरेका थिए । एमालेका दोश्रो वरियताका नेताहरुले समेत भारतको विस्तारवादी सोंचको विरुद्धमा बिष बमन गरेका थिए । चीनमा महत्वपूर्ण सम्झौता गर्नु र स्वदेश फर्किएलगत्तै आफूविरुद्ध बिष बमन गर्नुलाई भारतले सहन सकेन र ओलीलाई देखाइदिने रणनीतिका साथ गोटी चाल्यो ।

खेल यतिमा मात्र सीमित छैन । भारतीय योजना ओली सरकार गिराएर नयाँ सरकार गठन गर्ने मात्र छैन, कांग्रेस र एमाओवादीको काँधमा बन्दूक राखेर हिन्दू राष्ट्र कायम गराउने स्वार्थ समेत छ । हिन्दू राष्ट्र कायम गराउने र त्यसैको आडमा ‘बेबी किङ’मा जाने भित्री रणनीति रहेको स्रोतहरुको दाबी छ । यही योजनाअनुसार नै महरा र देउवा भारत भ्रमणबाट फर्किएलगत्तै पूर्वराजा ज्ञानेन्द्रलाई आकस्मिक रुपमा भारतबाट बोलावट भएको थियो । बेबी किङको अवधारणा अनुसार शासन व्यवस्था परिवर्तन गर्ने लोभ देखाएर पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय पक्षले अब बन्ने सरकारलाई समर्थनका लागि राप्रपा नेपाललाई दवाब दिन अह्राएको बुझिएको छ । अन्य राजावादी दलहरुलाई समेत पूर्वराजाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गर्नेछन् । यसरी वर्तमान सरकार गिराउने खेलबाट सुरु भएको भारतीय रणनीति हिन्दूराष्ट्र हुँदै बेबी किङसम्म पुगेर सफल हुने योजना बुनिएको छ ।

एमालेलाई फाइदा
ओली सरकार ढल्दै गर्दा एमालेले भने यो रणनीतिबाट फाइदा मात्र लिने देखिन्छ । ओलीले ९ महिने शासनकालमा निकै लोकप्रियता हासिल गरिसकेका छन् । नेपाली जनतालाई सपना बाँडेर नै किन नहोस्, उनले राम्रो लोकप्रियता कमाइसकेका छन् । जनताको मनमा ओलीले देशका लागि केही गर्लान्, भारतसँग समेत झूकेनन्, राष्ट्रवादी नेता रहेछन् भन्ने खालको छवि प्रस्तुत गरेका छन् । त्यति मात्र होइन, भारतीय रणनीतिमा प्रयोग भएका दलहरुको असहयोगकै बीच पनि ओली नेतृत्वको सरकारले संसदमा निकै लोकप्रिय र जनताको मनमा स्थान बनाउने बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्यो । सामाजिक सुरक्षाभत्ता दोब्बर पार्ने, शैक्षिक प्रमाणपत्र राखेर ऋण पाउने, आफ्नै गाउँ आफैं बनाऔंको बजेट दोब्बर पार्नेदेखि लिएर कर्मचारीको तलब वृद्धि तथा सांसद विकास कोषको रकममा समेत निकै वृद्धि गरी ओलीले सामान्य जनतादेखि कर्मचारी हुँदै अन्य दलका सांसदहरुको मनमा समेत सकारात्मक छाप छाड्न सफलता प्राप्त गरेका छन् । यही सफलताको जगमा उभिएर भोलिका दिनमा हुनसक्ने जुनसुकै निर्वाचनमा गए आफूहरुले बहुमत ल्याउनसक्ने विश्लेषणसहित एमालेका नेताहरुले माओवादी केन्द्रले समर्थन फिर्ता लिएर पनि एमालेलाई घाटा नहुने निश्कर्ष निकालेका छन् । ९ महिने शासनकालमा राम्रो काम गरे पनि अबको दिनमा प्रतिपक्षको भूमिका नै ठीक हुने एमाले नेताहरुको विश्लेषणकै कारण पनि ओलीले जानी जानी प्रचण्डसँगको पूर्व सहमति कार्यान्वयन नगरेका हुनसक्छन् । राजनीतिक लाभका लागि एमाले रणनीतिले समेत भारतीय गुप्तचरहरुलाई आफ्नो योजना पूरा गराउन सहज भएको हुनसक्छ ।

तर यो पटकको सत्ता यात्राले सबैभन्दा धेरै घाटा कसैलाई हुन्छ भने त्यो माओवादी केन्द्र हो । ओली नेतृत्वको राष्टवादी सरकारलाई भारतीय गोटी बनी ढालेको एकहोरो आरोप माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको  टाउकोमाथि थुप्रिने निश्चित छ । यसले माओवादी केन्द्रलाई आगामी दिनको निर्वाचनमा थप क्षति पुर्याई कमजोर बनाउने चाहि निश्चित छ ।

सत्ता समीकरण परिवर्तनले कसैलाई घाटा होला, कसैलाई नाफा होला । तर सत्ता परिवर्तन भइरहने अस्थिर राजनीतिले देश र देशबासीलाई भने घाटा नै हुनेछ । राजनीतिक स्थिरताको आशामा रहेको निजी क्षेत्र र समग्र अर्थतन्त्रलाई त झन् यसले ठूलै घाटा पुर्याउनसक्छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger