Headlines News :
Home » » मेरी श्रीमती: सुहाग रातमै घरमा चोर पस्यो... प्रोमद खरेल..

मेरी श्रीमती: सुहाग रातमै घरमा चोर पस्यो... प्रोमद खरेल..

Written By news on Saturday, 11 June 2016 | 23:36

मैले मागी बिहे गरेको भन्दा प्रायले पत्याउँदैनन् । मलाई पनि पहिले लाग्दैनथ्यो कि म पराम्परागत किसिमले झ्याईं-झ्याईं बाजा बजाएर दुलही भित्र्याउनेछु । लभ म्यारिज नै गर्छु होला, बढीमा ‘लभ प्लस एरेन्ज’ होला भन्ने लाग्थ्यो ।

लभ जीवनमा नगरिएको पनि होइन । तर, कुनै पनि लभ सक्सेस भएनन् । म आफ्नो गर्लफ्रेन्ड भन्दा बढी म्युजिकलाई बढी लभ गर्थेँ । सायद त्यही भएर गर्लफ्रेन्डहरु मसँग टिकेनन् ।

म संघर्षकै क्रममा थिएँ । एल्बम र फिल्मको गीतहरु गाउथेँ । कलेज पनि पढाउँथे । बहिनीको बिहे भइसकेको थियो । काठमाडौंमा मसँग बसिरहेको भाई अष्ट्रेलिया गयो । बुवा-मम्मी झापामै बस्ने । म काठमाडौंमा एक्लै परेँ ।

भाइ मसँग बस्दासम्म मलाई केही परवाह थिएन । उसले श्रीमतीले जसरी मेरो केयर गथ्र्यो । घरको काम म फिटिक्कै केही गर्दिनथेँ । सबै उसैले सम्हाल्थ्यो । दुःखसुखको साथी पनि थियो । जब भाई अष्ट्रेलिया गयो, त्यसपछि म एक्लो परेँ । अनि, बिहे गर्नुपर्ने माहोल ‘अटोमेटिक’ बन्यो ।

बिहे गर्ने निर्णयमा पुगेपछि केटी हेर्न थालियो । धेरै केटी हेरियो । त्यसमध्ये एउटीसित बिहे गर्ने लगभग टुंगोमै पुगिसकेको पनि भएन । बिहे भन्ने कुरा माथिबाटै लेखिएको हुँदो रहेछ क्यारे ।

अशोक शर्मा बनेर केटी हेरेँ

६७ साल वैशाखतिर मलाई झापाकै एउटी केटीको कुरा आयो । प्रतिभा नाम गरेकी मेेरी मीत बहिनीसँग म एक दिन केटी हेर्न भनेर गएँ । म प्रमोद खरेल भनेर नचिनिएरै केटी हेर्न चाहन्थेँ ताकि, केटी मसँग सहज र स्वभाविक रुपमा प्रस्तुत होस ।

म मास्क र हेल्मेट लगाएर बहिनीलाई बाइक पछाडि राखेर केटी बस्ने घरमा पुगेँ । उनी बाटोमै लिन आएकी रहिछन् । मैले बाइक रोकेपछि बहिनीलाई हाई भनिन् र मलाई नमस्ते भनिन् । नमस्ते गरेको मलाई मन पर्‍यो । कल्चरल र अनुशासित रहिछन् भन्ने पर्‍यो । लुक्स हेर्दा स्मार्ट पनि देखिन्थिन् । फस्र्ट इम्प्रेसन त्यही हो । उनले मलाई पनि लक्षित गरेर माथि जाउँ न भनिन् ।

मैले हेल्मेट फुकालेँ । तर, मास्क नफुकालिकन माथि उक्लेँ । माथि गएपछि बहिनीले मेरो परिचय गराइन् । ‘उनी मेरो साथी दीपा, उहाँ मेरो मीत दाइ…’ उनी नाम भन्न अक्मकाइन् । मैले भनिदिएँ ‘म अशोक शर्मा ।’ मलाई फ्याट्टै यो नाम किन फुर्‍यो थाहा छैन ।

 (1)परिचय गराइसकेपछि मास्क लगाएरै बसिरहन अप्ठेरो लाग्यो । के चिन्लिन् र भनेर मास्क खोलेँ । त्यतिबेला म अहिलेजस्तो पपुलर पनि थिइनँ । तर, उनी त मेरो गीतको फ्यान रहिछन् । मैले मास्क खोल्नासाथ उनले चिनिहालिन् । ‘ओ माइ गड, तपाईं त प्रमोद खरेल होइन ?’ उनले जिब्रो टोक्दै भनिन् ।

‘होइन होइन, मेरो मीत दाइ अशोक शर्मा हो । जो पनि झुक्किन्छन् भन्या,’ बहिनीले कुरा मिलाउन खोजिन् ।

‘कस्तो ठ्याक्कै डिट्टो है ?’ उनले सन्देह मिश्रति भावमा भनिन् ।

यता मलाई चैं उनले पत्याइनन् भनेर चिन्ता भयो । सहजरुपमा कुरै गर्न सकिनँ । उनीहरु आफ्नो सुरमा कुरा गर्न थाले, म पत्रिका पढेर बसिरहेँ । पत्रिकाको हेडलाइनदेखि सम्पादकीय र विज्ञापनदेखि प्रिन्टलाइनसम्म पढिसक्दा पनि उनीहरुको गफ सकिँदैन । केही नलागेर मैले ‘ल जाउँ अब’ भनेँ । अनि हामी यत्तिकै हिँड्यौं ।

त्यही दिन उनलाई घरबाट फोन आएछ । ‘तँलाई हेर्न कोही केटा आएको थियो ?’ भनेर सोधेछन् । अनि पो उनी जिल खाइछन् ।
उनलाई हेरेपछि मैले निर्णय दिन सकिनँ । दोधार-दोधार भयो । बीचमा अरु केटी पनि हेरियो । तर, कसैसँग कुरा अगाडि बढेन ।

तीन महिनासम्म हाम्रो तर्फबाट केही प्रतिक्रिया नआएपछि उनीहरु केटोले मन पराएन भनेर ढुक्क भएछन् । म पनि रेकर्डिङको काममै व्यस्त भएँ ।

घुमीफिरी रुम्जाटार

तीन महिनापछि फेरि म घुमिफिरी रुम्जाटार भनेजस्तो मीत बहिनीकहाँ पुगेँ । मैले ङच्िच पर्दै बहिनीसँग भनेँ, ‘अस्ति नै हेरेको केटीसँग कुरा अगाडि बढाउनुपर्‍यो ।’

‘खोइ, उनीहरुले त अब अहिले बिहे नगर्ने जस्तो कुरा गर्दै थिए, तैपनि म बुझिदिन्छु,’ उनले भनिन् ।

बहिनीले केटीसँग कुरा गरिछन् । तर ‘यत्रो दिनसम्म खबर नगर्नेसँग अब बिहे गर्दिन’ भनिन् अरे । म निराश भएँ । तर, केटीका बुबाआमाले उनलाई दबाव दिएछन् । केही दिनमा फेरि खबर आयो, कुरा अगाडि बढाउने अरे भनेर । त्यसपछि भेटेर औपचारिक रुपमा केटा र केटी गफ गराउने वातावरण मितबहिनीले बनाइन् ।

बहिनीकै घरमा केटीलाई बोलाइयो र म पनि पुगेँ । त्यो दिन मेरो एफएममा अन्तरवार्ता आइरहेको थियो । उनीहरु त्यही सुनेर बसिरहेका रहेछन् । म पुगेपछि केटीले उठेर नमस्कार गरिन् । हामीलाई अलग्गै कुरा गर्ने प्रवन्ध मिलाइयो । उनी निकै कम बोल्दिरहिछन् । त्यसताका म पनि धेरै बोल्दिनथेँ । तैपनि आफ्नो बारेमा सबै कुरा सुनाएँ । ‘म यस्तोखालको केटा हुँ, केमेस्ट्रीमा मास्टर्स गरेको छु, कलेज बढाउँछु, म्युजिक फिल्डमा मेरो ऊ छ । भोलि गएर म म्युजिक फिल्डमै उ हुन सक्छु,’ यति सुरुमै भनिदिएँ । उनले मुन्टो मात्र हल्लाइरहिन्, केही बोलिनन् ।

‘तपाईंको चाहिँ पढाइ कस्तो चल्दैछ ?’ भनेर सोधेँ । उनले ब्याचलरको परीक्षा सिध्याएर बसेकी रहिछन् । र एउटा फाइनान्स कम्पनीमा नोकरी गर्दिरहिछन् ।

सुहागरातमै घरमा चोर पस्यो ।  आवाज आउनासाथ म ‘चोर आयो’ भन्दै कराएँ । घरमा सबैजना जर्‍याकजुरुक उठे । हल्लीखल्ली भयो

त्यसपछि मैले भने, ‘ल, एक हप्तापछि म ३० वर्ष लाग्दैछु । उमेरको पछाडि जिरो हुँदा बिहे गर्नु हुँदैन रे । त्यसैले एक हप्ताभित्रै बिहे गर्नुपर्छ है ।’ उनको जवाफको प्रतिक्षा नगरी मैले त्यहीँबाट घरमा बुवालाई फोन लगाएँ । मैले बुवालाई भनिदिएँ, ‘ल, बुवा कुरा मिल्यो, बिहेको तयारी गर्नू ।’ उनी जिल्ल परेर मलाई हेरिरहेकी थिइन् । अनि पो त सोचें, अहो केटीले त ‘एस’ भनेकै छैनन् ।

अन्तिममा उनले जवाफ दिइन्, ‘बिहेको कुरा त मेरो बुवाआमासँग पो गर्नुपर्छ ।’ जे होस, उनको बडिल्याङ्वेज पोजिटिभ भएको निस्कर्ष निकालेर म निक्लेँ । त्यसपछि पारिवारिकरुपमा कुरा भएर असार ६ गते बिहे गर्ने निधो भयो ।

एसएमएसको जवाफ आएन

रोचक कुरा के छ भने हामी दुवैसँग मोबाइल भएर पनि त्यो एक हप्ताको ग्यापमा एकपटक पनि फोनमा कुरा भएन । न मैले गरेँ, न उनले गरिन् । एक अर्काको नम्बर मोबाइलमा सेभ पनि गरेका थिएनौं ।

बिहेको दुई दिनअघि उनको बर्थडे रहेछ । त्यो थाहा पाएर पनि मैले उनलाई फोन गरिनँ । बरु एउटा म्यासेज पठाइटोपलेँ ‘ह्यापी बर्थडे टु यु’ लेखेर । त्यो म्यासेजको रिप्लाइ नै आएन । दिनभरि कुर्दा पनि रिप्लाइ नआएपछि मैले मीतबहिनीलाई कम्प्लेन गर्न पुगेँ । उनले दीपालाई फोन गरेर सोधिन् । उनले नचिनेको नम्बर भएकाले रिप्लाई नगरेको जवाफ दिइछन् । त्यसको केहीबेरमा उनको म्यासेज आयो ‘थ्याङ्क यु’ लेखेर । त्यसपछि बिहेसम्म सम्वाद बन्द भयो ।

बिहेको गाडी फसेपछि

तीन दिनमा भट्याङभुटुङ सपिङ गरेर म प्लेनमा चढेर झापातिर लागेँ । म घर पुग्दा घरभरि पाहुना भेला भइसकेका थिए । घरको जेठो छोरोको विहे, घरको तालमालै बेग्लै थियो ।

बल्ल पो आफू बेहुला हुन लागेको महसुस गरेँ । त्यसले मभित्र उत्साहभन्दा पनि दबावको सञ्चार गर्‍यो । अहिलेसम्म एक्लोबुंगो जीवन बाँचिरहेको म, श्रीमान भइसकेपछि कसरी दायित्व बहन गर्ने, कसरी जीवन निर्वाह गर्ने, कसरी आफ्नो गायन करिअरलाई अगाडि बढाउने जस्ता कुराहरु मनमा खेल्थे ।

हुनेवाला दुलाहालाई सबैले भाउ दिन्थे । त्यतिबेला चाहिँ गजक्क परिन्थ्यो । बिहेको दिन आयो । टक्क मलाई धेरैजना मिलेर सिंगारे । ‘ल, दुलाहा भइयो’ भन्ने भयो ।

(3)बिहेको दुई दिनअघिदेखि नै मुसलधारे पानी परिरहेको थियो । बिहेको दिन पनि पानी रोकिएन । जन्तीका लागि बिहानै ल्याएर राखेको बस हिलोमा भासिएछ । यति नराम्रोसँग भासिएछ कि ड्राइभरले कुनै हालतमा निकाल्न सकेनन् । जन्ती हिँड्ने बेला भइसक्यो, गाडी ज्यान गए निस्किँदैन । ९ बज्यो निस्किएन, १० बज्यो निस्किएन ११ बज्यो निस्किएन । उताबाट तारन्तार फोन गरिरहेका छन् । यता भोकाएका जन्ती तितरबितर भइसके ।

बल्लबल्ल चिया बगानबाट दुईवटा ट्र्याक्टर मगाएर गाडी तानियो । करिब पौने १२ बजे गाडी निस्कियो । त्यसपछि जन्तीको खोजी सुरु भयो । कोकोहोलो गर्दै जन्तीहरु भेला पारियो । प्राइभेट गाडीहरु ७ वटा थिए ।

मलाई नेपाली बाजा असाध्यै मन पर्ने । बिहेमा बाजा बजाउनुपरेमा नेपाली पञ्चैबाजा नै घन्काउँछु भन्ने सोच थियो । तर, जन्ती जाँदा पानी बेस्सरी दर्केकाले बाजा बजाउनेहरु गाडीभित्र कोचाकोच गरेर बसे । अरु गाडीहरु पनि आ-आफ्नो सुरले हिँडे ।

उता केटीका घरमा पनि पानीले अस्तव्यस्त पारेको थियो । त्रिपालभित्र पनि पानी पसिरहेको थियो । बाहुनले हतार-हतारमा बिहे गराए । मलाई सुपाडी खेल्ने साह्रै रहर थियो । तर, बाहुनले त्यो विधि नै ‘स्किप’ गरिदिए । मलाई साह्रै झोक चल्यो । आखिर जीवनमा बिहे त एकचोटि गरिन्छ नि होइन ?

बिहेमा दुलाहा दुलहीलाई बोकेर गाडीमा हाल्दा रहेछन् । मैले ‘हैट’ भनेर बोक्न दिइँन । बेहुली गाडी चढ्ने बेलामा बाहुनले दाहिने खुट्टा  पहिले टेक्नु भनेका थिए । तर, बेहुलीले देब्रे खुट्टा उचालिन् । म हतारिएर ‘यो होइन, दाहिने दाहिने’ भन्दै उनको खुट्टा समाउन पुगेछु । बिहेभरिमा बेहुलीसँग बोलेको त्यत्ति हो ।

अन्माउँदाखेरि उनी रुन थालिन् । म अरु रोएको देख्न नसक्ने । त्यसमा पनि आफ्नै दुलही रोएको देख्दा मन थाम्न गाह्रो भो । मेरो पनि आँखाभरि आँशु भरिएछन् । बल्लतल्ल लुकाएँ

अन्माउँदा आफैं रोएँ

अन्माउँदाखेरि उनी रुन थालिन् । म अरु रोएको देख्न नसक्ने । त्यसमा पनि आफ्नै दुलही रोएको देख्दा मन थाम्न गाह्रो भो । मेरो पनि आँखाभरि आँशु भरिएछन् । बल्लतल्ल लुकाएँ । मलाई पहिलोचोटि उनको माया लागेको अन्माउँदाखेरि हो ।

गाडीमा पनि उनीसँग सोझो कुराकानी भएन । बहिनी-ज्वाइँ पनि हुनुहुन्थ्यो, त्यसैले । अन्माएर घर पुर्‍याएँदा बनियानी बजारमा बेहुली हेर्नेहरुको भिड लागिसकेको रहेछ । मेरो त शान नै अर्कै भइगयो । तर, घरको हालत भने अर्कै थियो ।

सुहागरातमा चोर आयो

त्यतिबेला हामीले पुरानो घर बेचेर नयाँ घर बनाउन थालेका थियौं । एकतले पक्की घर पूरा भइसकेको थिएन । घरका झ्यालहरु ह्वाङ्गै थिए । बिहेका लागि झ्यालहरु प्लास्टिकले बारिएका थिए । दुलहा दुलहीको कोठामा पनि झ्याल प्लास्टिकले बारिएको थियो ।

सुहागरात मनाउने कोठा कस्तो सजाइएको न होला भन्ने उनले कल्पेकी थिइन् होला । तर, त्यस्तो सजावट केही थिएन । तैपनि उनले खिन्नता दर्शाइनन् ।

सुहागरातमै घरमा चोर पस्यो । म राति कतै खिस्रिक्क भयो भने पनि ब्यूझिन्छु । आवाज आउनासाथ म ‘चोर आयो’ भन्दै कराएँ । घरमा सबैजना जर्‍याकजुरुक उठे । हल्लीखल्ली भयो । तर, चोर भेटिएन । भागिसकेछ । धन्न केही चोर्न भ्याएको रहेनछ । त्यसपछि त राम्ररी निदाउनै सकिएन । उनी पनि अत्तालिइनि् ।

ससुरालीको मानमनितो

बिहेको पर्सिपल्ट ससुराली गइयो । ससुराली जाँदा बाटो यति हिलो थियो कि गाडीमा लैजान सक्ने अवस्था थिएन । ससुरालीमा लैजानुपर्ने कोसेली थुप्रै हुँदोरहेछ । उनले नीलो साडी लगाएकी थिइन् । अग्ली र राम्री देखिएकी थिइन् ।

त्यसो त उनलाई मैले बिहेको दिनभन्दा भोलिपल्ट राम्री देखेको थिएँ । भोलिपल्ट भन्दा पर्सिपल्ट झन् राम्री देखेँ ।

चिटिक्क परेकी श्रीमती बाइक पछाडि लिएर कुद्दा भद्रपुर बजारमा मेरो कम्ता शान भएन । टक्कसँगले ससुराली पुगियो । ससुराली पुगेपछि ज्वाईंसाहेब भइयो । त्यहाँ अर्को गौरव थपियो । ससुरालीको स्वागत-सत्कारले मन पुलकित बन्यो । घरको पहिलो र एक्लो ज्वाइँ भएकाले उहाँहरु सत्कारमा कुनै कसर छाड्ने मनस्थितिमा हुनुहुन्थेन । दुई दिन मेजमान खाएर घर फर्कियौं र केही दिनपछि प्लेन चढेर दुबै काठमाडौं आयौं ।

प्लेनभित्र हेराहेर
बुद्ध एयरको सानो ट्वीनटर जहाजमा आएको, दुई साइडमा एउटा एउटा सीटको लाइन रहेछ । दुईजना दुइपट्टि परियो । छोटो हवाइ यात्रामा नवदुलहीलाई अंगालो मारेर ल्याउँला भन्ने थियो, त्यो पनि पूरा भएन । दुईजना दुईपट्टि बारम्बार एक-अर्कालाई हेर्ने र हाँस्नेमै सीमित भयौं । एयरपोर्टबाट ट्याक्सी चढेर कालोपुल पुर्‍याएँ ।

कहिले ३ महिनामा त कहिले ६ महिनामा तलव आउँथ्यो । म्युजिकमा पैसा आउनेभन्दा जाने क्रम बेसी थियो । फलतः कोठामा केही सामान जोड्न सकेको थिइनँ

घरभित्र बेहाल

नाम चलेको सिंगर, त्यसमाथि कलेज पढाउने । आम्दानी दह्रै होला, लाइफ स्टाइल पनि खत्रै होला भन्ने दीपाले कल्पना गरेकी थिइन् होला । तर, कोठाभित्र पसेपछि झण्डै बेहोस भइन् ।

म थिएँ कत्ति पनि हाइफाई नगर्ने । हदैसम्मको ल्याङफ्याङे । त्यसमाथि आम्दानीको स्रोत दह्रो थिएन । क्याम्पसले नियमितरुपमा तलव दिँदैनथ्यो । कहिले ३ महिनामा त कहिले ६ महिनामा तलव आउँथ्यो । म्युजिकमा पैसा आउनेभन्दा जाने क्रम बेसी थियो । फलतः कोठामा केही सामान जोड्न सकेको थिइनँ ।

फर्निचरका नाममा सुत्ने खाटमात्रै थियो । टीभी पनि नभएर एउटा पुरानो कम्प्युटरमा टीभी कार्ड राखेर हेर्ने गर्थेँ । बिहेमा दाइजो आएको टीभी काठमाडौैं ल्याइयो । टीभी राख्नलाई टेबल पनि थिएन । कार्टुनमाथि राख्यौं ।

बिहे गरेको एक वर्षसम्म निकै स्ट्रगल भयो । भएको पैसा बिहेमा सकिएको थियो । त्यसपछि घर चलाउन धौधौ पर्‍यो । पहिले एक्लै हुँदा त पैसा नभए पनि बाल मतलब हुन्थेन । तर, बिहे गरेर ल्याएकी श्रीमतीलाई त भोकै राख्न भएन । धेरैपटक खुत्रुके फुटाएर तरकारी किन्ने स्थिति आयो । धेरैपटक रुखासुखा खाएर सुतियो । बिहेपछि हनिमुन जाने योजनै बनेन किनकि पैसा थिएन ।

तरकारी किन्न जाँदा पनि शान

म जिन्दगीमा कहिल्यै बजारमा तरकारी किन्न गएको थिइनँ । बिहेपछि उनको पछि लागेर तरकारी बजारमा जान थालेँ । उनी तरकारीको भाउ गर्दै अघिअघि हिँड्थिन् । झोला बोकेर उनलाई पछ्याउँथे । उनी तरकारी छान्थिन् म झोला थाप्थेँ । र्फकँदा म दुबैजना एक एकवटा झोला बोक्थ्यौं । त्यतिबेला मलाई लाग्थ्यो, अब व्यवहारिक भइयो गाँठे ।

बिस्तारै बिस्तारै मलाई सपिङ गर्नचाहिँ झ्याउ लाग्न थाल्यो । आफूलाई कुनै सामान चुज गर्न नआउने । बार्गेनिङ गर्न पनि फिटिक्कै नजान्ने । मलाई सँगै लगेपछि उनलाई पनि बार्गेनिङ गर्न अप्ठेरो । अर्कोतिर, मानिसहरुले चिने भने फोटो खिचौं न भनेर आइहाल्ने । त्यसपछि उनी प्रायः एक्लै सपिङ जान थालिन् ।

छोरो जन्मेको भोलिपल्ट विदेश

०६८ सालमा हाम्रो छोरो जन्मियो । अघिल्लो दिन छोरो जन्मियो, भोलिपल्ट मेरो विदेश यात्रा थियो । राम्ररी आँखा नउघारेको छोरो र अपरेसनपछि राम्ररी होसमा नआएकी पत्नीलाई छोडेर म कन्सर्टका लागि अष्ट्रेलिया गएँ । त्यहाँ १५ दिन बिताउनु मेरा लागि १५ जुनी बिताएसरह भयो ।

एक-अर्कासित टाढा हुँदा माया बेहिसाब बढ्दोरहेछ । त्यसमाथि भर्खर जन्मेको छोरोलाई काखमा खेलाउन नपाएको तिर्सनाले मलाई सताइरह्यो ।

कस्तो थिएँ कस्तो भएँ

बिहे अगाडि मेरो जीवन वास्तवमै खोक्रो थियो । म कोठाभित्र बसेर साइन्सका फर्मुला घोक्दा घोक्दा हत्तु भएको एउटा पढन्ते । धोएर निचोरिएको कपडाजस्तो वा रस सुकेको कागती जस्तो थिएँ । दीपाको आगमनपछि मेरो जीवनमा उमंगको दीप जल्यो । जीवन रंगीन बन्न थाल्यो ।

म पहिले मानिसहरुसँग सितिमिति बोल्दिनथेँ । रिजर्भ बसिदिन्थेँ । लवाइ खवाइमा कत्ति ध्यान दिन्नथेँ । चप्पलै लगाएर सारा शहर चहाथेर्ँ । दाह्री काट्न पनि जाँगर नलागेर जिंगि्रङ्ग बस्थेँ । कपाल त जिगि्रंङग थियो नै ।

 (1)बिहेपछि म धेरै फेरिएको छु । सफासुघ्घर भएर हिँड्न र बस्न दीपाले सिकाएकी छिन् । बिहेपछि बोल्ने बानीको विकास भयो । म सामाजिकीकरण भएँ । मेरो स्वाभाव परिवर्तन हुँदै गयो ।

दीपाको आगमन मेरो जीवनमा भयानक लक्की सावित पनि भएको छ । उनी आउनेबित्तिकै मेरो थर्ड एल्बम निस्कियो र त्यसको ‘मेरो दिल छ पोखरामा’ बोलको गीत सुपरहिट भयो । त्यसपछि स्टेजमा मेरो डिमाण्ड हुन थाल्यो । अनि विदेश यात्रा पनि शुरु भयो ।

त्यसपछि क्याम्पसले तलव टाइममा नदिए पनि मेरो गुजारा चल्न थाल्यो । घरमा सामान र फर्निचरहरु थपिन थाले । बिहेको दुई वर्षपछि हात्तीवनमा एक टुक्रा जग्गा जोडियो, ऋणपान गरेर  । ७० सालमा जसोतसो घर पनि बनाएँ । एक हिसाबले जीवनमा पूर्णता भरिँदै गएको छ ।

यस्ती छिन् दीपा

मलाई उनका मनपर्ने गुणहरु धेरै छन् । उनको व्यक्तित्वको सबैभन्दा बलियो पक्ष हो इमान्दारिता । म श्रीमान भएर भनेको होइन, कसैले पनि उनको इमान्दारितामा प्रश्न उठाउन सक्दैन । अरुलाई रेस्पेक्ट गर्ने स्वाभाव पनि मलाई औधि मन पर्छ । उनले जानेर कसैको पनि आजसम्म चित्त दुखाएकी छैनन् होला ।

उनी सरसफाइमा एकदम सचेत छिन् । हरेक कुरा ‘निट एन्ड क्लिन’ चाहिन्छ उनलाई । उनी भगवानप्रति आस्तिक छिन् । बिहानै उठेर भगवानको पूजाआजा गर्छिन् । मैले दीपामा औंल्याउन सक्ने नेगेटिभ कुरा वास्तवमै भेटि्दनँ । कहिलेकाहीँ हाम्रो ठाकठुक पर्‍यो भने त्यसमा गल्ती मेरै हुन्छ ।

उनी मेरा सिर्जनाहरुमा निकै चाख लिन्छिन् । मैले गाएका गीतबारे उनले फिडब्याक दिन्छिन् एउटा स्रोताका रुपमा ।

एउटा श्रीमानका रुपमा मैले आफ्नो दायित्व राम्ररी निर्वाह गर्न सकेको छैन होला जस्तो लाग्छ । मैले श्रीमतीलाई जति टाइम दिनुपथ्र्यो, बच्चालाई जति स्याहार गर्नुपथ्र्यो, त्यो गर्न भ्याएको छैन ।

म विदेशबाट आउँदा आफैंले छानेर उनलाई गिफ्ट ल्याउन पनि डराउँछु । उनलाई के चाहिएको छ, सोधेर मात्र ल्याउँछु । उनको बर्थ डे र हाम्रो एनिभर्सरीमा के गिफ्ट दिने भन्ने सधैं अन्योलको विषय हुन्छ मलाई । उनले चाहिँ कुनै पनि अवसरमा गिफ्ट दिन छुटाउँदिनन् ।

यस्तो छ छोरो

छोरो ५ वर्षको भयो । ड्याडी भनेपछि हुरुक्क हुन्छ । म घरमा बस्यो भने एकछिन छाड्दैन । राति पनि मैले सुताउनुपर्छ । म विदेशमा भएका बेला टिभीमा मेरो गीत आयो भने रिसाएर टीभी नै बन्द गरिदिन्छ रे । त्यति क्रेजी छ । संगीतप्रति पनि सानैदेखि उसको चाख छ । कहिल्यै नदेखेको इन्स्ट्रुमेन्ट पनि एकैचोटिमा बजाइदिन्छ ।

बुबाआमा दुबैजना झापामै हुनुहुन्छ । उहाँहरुको आफ्नै जीवन छ । दुबैजना सरकारी शिक्षक हो । बुवा गत वर्ष रिटायर्ड हुनुभयो । आमा यस वर्ष रिटायर्ड हुनुहुन्छ । भाइ अष्टे्रलियामै छ । उतै बिहे गरेर बसेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger