Headlines News :
Home » » नत्र यसरी नै रोइरहने छन् उनीहरु ...

नत्र यसरी नै रोइरहने छन् उनीहरु ...

Written By news on Tuesday, 14 June 2016 | 03:48


बसन्त घिमिरे, काठमाडौं 

चम्फाको आँखाको आँशु रोकिने कुनै छेकछन्दै थिएन । आँखामा हरेक पटक तगारो लगाउन आउने ति आँशुका थोपाहरुलाई उनी पुछ्दै आफ्ना बेदानाहरु पोख्दै गइन् । ‘हुनत पाप नसोच्नु भन्छन्, तर  सबैको आनन्द छ मलाई मात्र किन आज यस्तो होला त ? वेलुका भयो भने यो बेलका किन भयो होला ? उज्यालो हुँदै आए पछि यो उज्यालो किन भए होला ? भन्ने लाग्छ ।’ श्रीमानलाई सम्झदै उनले भनेका यी शब्दहरुले उनको श्रीमान प्रतिको माया र नहुँदाको पीडालाई छलङ्ग बयान गर्र्दै थियो । 

शिब सुबेदीद्धारा लिखित यी हरफहरुः  

तिम्रो फोटो बोल्दैन, न बोलाउँदा सुन्छ

जति धेरै सम्झियो, उति धेरै मन रुन्छ

हो, यहि पंक्तीले चम्फाको हिजोआजको दैनिकीको प्रतिनिधित्व गर्छ । एक छोरा र एक छोरीकी आमा चम्फा विश्वकर्मको श्रीमानको ६ महिना अगाडी वैदेशिक रोजगारीको शिलशिलामा कतारमा गाडी दुर्घटनामा मृत्यु भएको रहेछ । 

मकवानपुरको मनहरी गाविसका कुमार विश्वकर्मा विदेश जानुको मुख्य कारण घरमा दिनहुँ थपिदै गएको ऋणको भारी नै थियो । उमेरले ३० टेकेका उनी घरको ऋण चुक्ता गर्न र विदेशमा धन कमाएर एउटा घर बनाइ पारिवारिक सुख दिने सपना बोकेर करिब एक लाख तिरेर २०७२ साल जेठ ८ गते कतार उडेका रहेछन । 

उनी नेपालमा हुँदा गाडी चालक थिए । नेपालमा कमाएको पैसाले एकातिर परिवार पाल्न धौ धौ थियो, अर्कातिर ऋण थपिंदै गयो । दुःखको विकल्प खोज्न लागे उनी । उनका दाजु केहि समय अगाडी साउदीमा काम गरि फर्केका रहेछन् । त्यसैले उनी पनि दाजुकै पदचाप पछ्याउँदै धन कमाउने रहरमा लालपुर्जा धितो राखेर सयकडा तीनका दरले ऋण खोजी काठमाडौं हान्निएछन् । र, मेनपावरले देखाइदिएको बाटो लागेर कतार उत्रेछन् ।  

दिनहुँजसो घरमा फोन गरिरहने कुमारकोे कतार बसाई नराम्रो थिएन । दोहामा गाडी चालककै काम पाएका थिए । सधैं घरमा फोन गरिरहने कुमारले गएको कात्तिक २४ गते विहान पनि सधैं जस्तो फोन गरे । हाँसीखुशी दुई जोईपोईबीच कुराकानी चल्यो । ‘अब केहि महिनामा ऋण तिरेर सकिन्छ अनि घर बनाउन हो’ उनले श्रीमतिलाई योजना पनि सुनाए । 

उनको त्यो जाँगर र हौसलाले उत्साहित बनाएको त्यो दिन चम्फाको लागि भने कालो दिन सावित भयो । दुर्भाग्य, कुमारको त्यहि दिन कतारमा गाडी दुर्घटनमा परेर प्राण पखेरु उडेछ । गाउँमा गाईंगुईं चल्न थालेछ । तर उनलाई यकिन भएन । त्यसैले हतासिंदै जेठाजुलाई सोध्न पुगिन् चम्फा । 

कुमारका दाजुले उ विरामी छ रे भने । विहान आफूसँग त्यसरी हाँसीखुशी बोलेको मान्छे कसरी अकस्मात विरामी पर्यो उनी जिल्ल परिन् । उनी एकपटक फोन गरौं भनेर जिद्धि गर्न थालिन् । तर त्यो सम्भव भएन । त्यो रात अनेक तर्कनामा विते । भोलीपल्ट विहान खवर अर्कै आयो । 

जव विहान कुमारको दाजुको घरमा रुवावासी सुरुभयो, चम्फाले टेकेको जमिन त्यसै त्यसै भास्सिएर जान थाल्यो । संसार अँध्यारो भयो उनका लागि । तर पनि मनमा पीडा र आँखामा आँशु बोकेर उनी कतारमा अकस्मात मृत्युवरण गरेका श्रीमानको लास पर्खेर बसिन् । उनी सामु अरु विकल्प पनि त थिएन । 

एक वर्ष अगाडी मात्र धेरै पैसा कमाउन परदेशिएका श्रीमान काठको बाकसमा बन्द भएर आएपछि   पटक पटक बगिरहने आँशु र रुँदा रुँदै थाकिसकेको त्यो आँखाले उनको पीडाको परिचय दिइरहेको थियो । 

उमेरले भर्खर २४ टेकेकी चम्फाको काठले बारेको घर छ । दुई महिनालाई पनि खान नपुग्ने बारी र श्रीमानले गलामा लगाइदिएको मुगा बाहेक (जो श्रीमान्को सम्झना उनी सधैं लगाउँछिन्) आफ्नो भन्ने छोराछोरीमात्र बाँकी छन् । एक छाक खाएर भएपनि छोराछोरीलाई राम्रोसँग पढाउने उनको धोको छ । श्रीमान विदेश जाँदा गरेको बीमा र नेपाल सरकारले विदेशमा मृत्यु भएका परिवारलाई दिने अर्थिक सहायताबाट प्राप्त रकमले श्रीमान् विदेश जाँदाको ऋण र श्रीमानको किरिया खर्च पनि त्यसैबाट  तिरेकी छिन् । अहिले दैनिक नुन तेलको खर्च पनि त्यसैबाट बचेको रकमले चलिरहेको छ । 

अहिलेसम्म त जेनतेन चलिरहेको छ । तर अगाडीको बाटो अझ कष्टकर छ भन्ने उनले बुझेकी छिन् । छोराछोरी पढाउने र बाँकी व्यवहार सम्झँदा मन भारी हुन्छ । श्रीमान सम्झेर नै धेरै विहान र साँझ वित्छन् तर पनि छोराछोरीका लागि भएपनि अव उनी सामु संघर्षको विकल्प छैन भन्ने बुझ्छीन् । उनी भन्छिन् ‘म त गिट्टि कुटेर भएपनि बाँचौला तर छोराछोरीको मेरै कारण भविष्य नविग्रियोस् । त्यसैले उनीहरुको राम्रो पढाइको लागि पहल गरिदिन’ मनले खाने सबै मान्छेसँग अनुरोध छ ।’ 


सीता विश्वकर्मा (कुमारकी आमा) छोराको बारेमा बोल्नै सकिनन । छोराको बारेमा कुरा गर्दा केवल उनको आँशु मात्र बगिरह्यो । भन्छिन्, ‘विदेश जान्छु आमा भन्यो घरभरी ऋण नजा भन्न पनि सकिन, विदेशमै गाडीले किचेर मृत्यु भयो भने । काठको बाकस ल्याए । त्यस्तो छोरो त्यो बाकसमा देख्दा कस्तो भयो होला मलाई ? बरु कालले मलाई किन लगेन ?’ यति बोलिसक्दा उनको रुवाईको आवाज चर्को भइसकेको थियो । 

कुमारका बाबुलाई छोराको मृत्यु अझै पत्याउने विषय छैन । उनलाई छोराको लाश देख्दा कम्पनीले भनेजसरी उनको मृत्यु भएको होइन भन्ने लाग्छ । तर अर्काको देशको कुरा । उनी केहि भन्न पनि सक्दैनन् । उनका अनुसार कुमारको टाउकोमा सामान्य र छातिमा चोट थियो । अन्यत्र कतै कुनै चोट थिएन । तर कम्पनी भन्छ उसलाई आफैले चलाउने गाडीले किच्यो । उनलाई छोरो त्यसरी मर्यो होला भन्ने पत्यारै लाग्दैन । तर उनको प्रश्नको जवाफ दिने पनि त कोहि छैन । 

वर्तमान नेपाली समाजमा यो त केवल एक प्रतिनिधि उदाहरण  मात्र हो । नेपालबाट दैनिक सरदर १२ देखि १५ सय नेपाली कामदार उज्वल भविष्यको सपना बोकेर खाडी तथा मलेसिया लगायतका देश उडिरहेछन् । अर्कातिर त्यसरी नै गएका मध्ये दैनिक करिव ३ देखि ५ जना बाकसमा बन्द भएर फर्किरहेका छन् । 

देख्नेका लागि केवल यो एउटा संख्या मात्र हो । तर भोग्नेका लागि सवैथोक हो । कमाउने उमेको मान्छे बाकसमा बन्द भएर फर्केपछि परिवारको धेरै सपना त्यहि बाकससँगै जल्छ । तथ्याँकले भन्छ गएको आर्थिक बर्र्षमा नेपालीले विदेशबाट ६ खर्व १७ अर्व रकम कमाएर पठाए । देश त्यहि पैसाले चल्यो । तर त्यहि पैसा कमाउन हजारौं माइल टाढा पुगेको एउटा नेपाली काठको बाकसमा बन्द भएर फर्किएको के राज्यसंयन्त्रले देख्छ त ? त्यो परिवारलाई आइपरेको आपत देख्छ त ? नेपाल सरकारले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन अव गम्भिर चिन्तन गरि ठोस कदम चाल्नु जरुरी छ । अन्यथा देश नौजवानहरु पठाएर लाश बुझ्दै त्यसको बदलामा प्राप्त हुने रेमिट्यान्सको हिसावकिताव गरिरहनेछ । कतै दुरदराजमा हजारौं चम्फाहरु रोइरहनेछन् । त्यो आँशुको मूल्य कसले खोज्छ र ?  

(घिमिरे सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत संस्था सिएमआइआरमा कार्यरत छन्)  

यो पनि पढ्नुहोस् 

अंकल हाम्री आमा कहिले घर आउनुहुन्छ ?

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger