|
|
सचेन गौतम काठमाडौं, १३ असार
यही असारको अन्तिममा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना भूकम्प, नाकाबन्दीलगायतका कारण काममा ढिलाइ हुने भएपछि असार ०७५ सम्म सर्यो समयसीमा
निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुने अवधि २ वर्ष पछि धकेलिएको छ । यही असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना भूकम्प, भारतीय नाकाबन्दीलगायतका कारण ०७५ असारमा मात्रै सम्पन्न हुने भएको हो । माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीले ऊर्जा मन्त्रालयमा बुझाएको विवरणअनुसार, असार ०७५ भित्रमा आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु गर्ने प्रक्षेपण गरिएको छ ।
आयोजनाबाट १० पुस ०७२ मा ३ सय ९ मेगावाट र ३० असार ०७३ मा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । तर, भूकम्प र भूकम्प आउनुभन्दाअघिका विभिन्न कारणले निर्माणमा प्रतिकूल असर परेकाले लक्षित मितिमा व्यापारिक उत्पादन गर्न नसकिने अवस्था रहेको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए ।
‘सबै ठेक्का सम्झौता भइसकेपछि १८ चैत ०७२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरेका थियौा, विभिन्न कारणले म्याद बढ्न गएपछि सम्पूर्ण निर्माण र जडान १६ पुस ०७३मा सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका तय गरिएको थियो,’ श्रेष्ठले भने, ‘भूकम्प र नाकाबन्दीले काममा प्रतिकूल प्रभाव परेपछि अहिले आव ०७४/७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौ।’
लागत पनि बढ्ने
निर्माण अवधि २ वर्ष धकेलिएसँगै आयोजनाको लागत पनि बढ्ने भएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ छ । निर्माण अवधि लम्बिँदा निर्माण सुपरीवेक्षण परामर्शसेवा (कन्सल्टेन्सी) र प्रशासनिक खर्च बढेर लागत वृद्धि हुने आयोजनाले जनाएको छ । मूल्यवृद्धि, मुख्य सुरुङको डिजाइन संशोधन, हेडवक्र्समा केही सिभिल कार्यको परिणामा वृद्धि, करका दायरामा वृद्धिलगायतले आयोजनाका लागत बढ्ने अवस्था देखिएको हो । भूकम्पले अस्थायी तथा स्थायी संरचना र केही सिभिल संरचनामा समेत क्षति पुर्याएको छ ।
‘लागत कति वृद्धि हुन्छ, अहिले नै भन्न सक्ने अवस्था छैन,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘यसको अध्ययन र विश्लेषण गरिरहेका छौ ।’ आयोजनाको लागत ४१ अर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ । आयोजनाले सिभिल र मेकानिकल तथा इलेक्ट्रिकलतर्फको २ अर्ब ५० करोड रुपैयाँ प्रारम्भिक बिमा दाबी पेस गरिसकेको छ । निर्माण तीव्र भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त प्रवेश मार्ग खोल्ने र भूमिगत विद्युत् गृहको निर्माण तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ । भूकम्प र त्यसपछिका पराकम्पनले आयोजनाका बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो ।
आयोजनाले अमेरिकाको विज्ञ समूह (पिओई) मार्फत अध्ययन गराएको थियो । क्षति पुगेका बाँधका संरचनालाई पर्याप्त स्थिरता र पानी चुहिन नदिन मर्मत गरी सञ्चालनमा ल्याउन सकिने सुझाब विज्ञ समूहले दिएको थियो । क्षति पुगेको विद्युत्गृह गांगरदेखि बाँधस्थल लामाबगरसम्मको ११ किमि सडकमध्ये करिब ४ किमि खण्ड अझै खोल्न बाँकी छ । उक्त बाँकी खण्डको काभ्रेभीरनजिकै करिब ३ सय ६० मिटर सुरुङमार्ग बनाउन सुरु भइसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए । भूकम्पले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्मको प्रवेशमार्गको २९ किमि सडकखण्ड बढी प्रभावित थियो । आयोजनास्थल बाढी र पहिरोको जोखिम बढ्न गई ठेकेदारहरूका सबैजसो कर्मचारी र कामदारहरूले निर्माणस्थल छोडेका थिए । प्रवेश मार्ग खुलाउने र कामदारको आवासगृह बनाउन ठेकेदारले सुरु गरिसकेको आयोजनाले जनाएको छ । निर्माणको समग्र प्रगति करिब ८० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
अझै चुनौती धेरै छन्
विज्ञानप्रसाद श्रेष्ठ, आयोजना प्रमुख
पूर्ण रूपमा काम भइरहेको अवस्थामा गत १२ वैशाखको भूकम्पले आयोजनाको निर्माण प्रभावित भयो । त्यसपछि पनि दोलखालाई केन्द्रबिन्दु बनाएर गएका धेरैवटा पराकम्पनले आयोजनास्थल पुग्ने गांगर–लामाबगर प्रवेशमार्ग अवरुद्ध भयो । निर्माणस्थलमा बस्न असुरक्षित भई ठेकेदारका कर्मचारी र मजदुर आयोजनास्थल छोडी पुन: काममा फर्कन ढिलाइ गर्दा आयोजनाको मुख्य निर्माण कार्य पुन: सुचारु गर्न ढिलाइ भएको हो । तराई मधेसमा भएको आन्दोलन र नाकाबन्दीले पेट्रोल/डिलेज र निर्माण सामग्री अभावले गत फागुनसम्म नै प्रतिकूल असर पर्दा निर्माण समय तालिकामा असर परेको छ ।
आर्थिक वर्ष ०७४/७५ भित्र निर्माण सम्पन्न गर्ने गर्ने प्रक्षेपित तालिका छ, तर आयोजना सम्पन्न गर्न अझै पनि प्राविधिक, प्राकृतिक र राजनीतिक तथा सामाजिक चुनौती छन् । यसै वर्षको बर्खाका ३/४ महिना चुनौतीपूर्ण छ । सबै चुनौतीलाई समाधान गरी प्रक्षेपित तालिकामा आयोजना निर्माण गर्न लागिरहेका छौा । यसका लागि सबै सरोकारवाला निकायको सहयोग पनि जरुरी छ । ढिलाइका मुख्य ८ कारण १. गत वर्षको १२ वैशाखको भूकम्पपछि आयोजनाका मुख्य संरचनाको निर्माण ठप्प भएको थियो । भूकम्पपछि आएको बाढी पहिरोले आयोजनास्थल पुग्ने प्रवेशमार्गमा थप क्षति पुग्दा सवारी साधन बन्द भएको थियो ।
आयोजनास्थलमा बाढी र पहिरोको जोखिम बढ्न गई ठेकेदारका सबैजसो कर्मचारी र कामदारले निर्माण स्थल छोडेका थिए । २. गत वर्षको साउनको अन्तिम हप्तादेखि सुरु भएको बन्द हडताल र नाकाबन्दीले डिलेज/पेट्रोल र निर्माण सामग्रीको आपूर्तिमा समस्या भएको थियो । त्यसले गर्दा भूकम्पपछि पुन: काम थाल्न ढिलाइ भयो । ३. विभिन्न सरकारी निकायले निर्माण उपकरण तथा विष्फोटक पदार्थ आयातका लागि सिभिल ठेकेदारलाई अनमति दिन ढिलाइ गरिदिादा (करिब ९ महिनासम्म) निर्माण सुरु गर्नै ढिलाइ भएको थियो ।
४. ०६८ मा सिभिल निर्माणसँग समन्वयात्मक रूपमा अघि बढाउनुपर्ने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलका ठेक्का सम्झौता गर्न ढिलाइ हुँदा समग्रमा आयोजनाको समयतालिका बढ्न गएको हो । ५. आव ०७०/७१ मा मुख्य सुरुङको डिजाइन संशोधन गरिएकाले परिवर्तित संरचना निर्माण गर्न थप समय लाग्ने भएको छ । ६. ०७० मा विद्युत्गृहमा देखिएको प्राविधिक समस्या समाधान गर्न र ठेकेदारको आन्तरिक व्यवस्थापकीय कारणले विद्युत्गृह निर्माणमा ढिलाइ भएको (करिब ९ महिना) हो । ७. प्राविधिक कारणले पेनस्टक स्याफ्ट निर्माणमा ठेकेदारको तर्फबाट ढिलाइ (करिब १० महिना) भएको छ । ८. मुख्य सरुङको केही खण्डमा कमजोर भौगर्भिक अवस्थाले कार्य प्रगतिदरमा कमी आएको छ ।
|
|
Post a Comment