Headlines News :
Home » » शेयर दलाल महिलाहरुको कथा..

शेयर दलाल महिलाहरुको कथा..

Written By news on Wednesday, 22 June 2016 | 01:58


काठमाडौंः

 आर्थिक कारोवारमा धेरैजसो पुरुषको बाहुल्य छ । शेयर ब्रोकर जस्तो जोखिम र चुनौतिपूर्ण व्यवसायमा पनि पुरुष नै धेरै छन् । यस पेसामा महिला थोरै भएपनि लगानीकर्ताको विश्वास जित्न सफल भएका छन् ।

मुना कुँवर
शेयर ब्रोकर (दलाल) को अनुमतिपत्रका लागि अन्र्तवार्ता दिन गएको दिन सुचिताले विर्सनै सक्दिनन् । अन्र्तवार्ता लिने व्यक्तिहरू डरलाग्दा थिए, मोटा घाटा ठूलो शरिर भएका । उनी सम्झिन्छिन् ‘म त्यतिबेला भर्खरकी थिएँ, दुब्ली, पातली, उनीहरूलाई देखेर मेरो सातो उड्यो ।’
महिला शेयर ब्रोकरको अनुमतिपत्र लिनका लागि १ सय ५० जनाले आवेदन दिएका थिए । ती मध्ये सुचिता खनालसहित अन्य तीनजना महिला थिए । उनीहरू अन्र्तवार्ता दिनै आएनन् । अन्र्तवार्ता दिने उनी एक्ली थिइन् । ‘अरु महिला नभएरै हो कि अन्तर्वातामा मेरो नाम निस्कियो । त्यसपछि मेरो शेयर ब्रोकर पेसा शुरु भयो’ सुचिता भन्छिन् ।

सुचिता खनाल
नेपालकै पहिलो महिला शेयर ब्रोकर हुन् । उनको कम्पनीको नाम हो श्वेता सेक्युरिटीज । व्यवस्थापन विषयमा स्नातक गरेकी सुचितालाई उनकै आफन्तले यो व्यवसायमा लाग्न प्रेरित गरेका थिए ।

नेपालमा २०५० पुस २९ गतेदेखि ब्रोकर मार्फत शेयर कारोबार शुरु भएको हो । त्यतिबेला ओपन क्राई (चर्को आवाजमा कराएर शेयस खरिद बिक्री गर्ने) सिस्टम थियो । ब्रोकरले चर्को आवाजमा कराएर शेयर खरिद बिक्री गर्थे । यस्तो कारोबारको लागि नेप्सेको कार्यालयमा एउटा हल थियो । जहाँ शेयर लगानीकर्ता र ब्रोकरहरू जम्मा हुन्थे । शेयर खरिद वा विक्री गर्न चाहने लगानीकर्ताले ब्रोकरलाई अर्डर दिनुपथ्र्यो । सोही अर्डर पाएपछि ब्रोकरहरू ठूलो आवाजमा कराउँथे ।

ब्रोकरले शेयर कारोबार शुरु गरेको पहिलो दिनदेखि नै सुचिताले शेयर कारोबार गर्न सुरु गरेकी हुन् । ‘म आफूलाई भाग्यमानी ठान्छु पहिलो दिन नै मलाई एउटा ग्राहकले गोरखकाली टायर उद्योगको शेयर विक्री गर्ने अर्डर दिए’ – उनले भनिन् । त्यो दिन जम्मा चारवटा कारोबार भएको थियो । त्यसमध्ये सुचिताले एउटा कारोवार गरिन् । त्यसपछि आजसम्म उनले शेयर ब्रोकरको काम छोडेकी छैनन् ।

सुचिताले अहिले मासिक २० करोड रुपैयाँसम्मको शेयर खरिद विक्री कारोबार गर्छिन् । कम्पनीको आम्दानी मासिक १२ लाख रुपैयाँसम्म हुने गरेका उनले बताईन् । आफू महिला भएकै कारण लगानीकर्ताले बढी विश्वास गर्ने गरेको उनी बताउँछिन् । महिला बढी इमान्दार हुने भएकाले लगानीकर्तालाई उनीमाथि बढी भरोसा पनि गर्छन् । कारोबारको हिसावले उनको कम्पनी राम्रा १० वटा मध्येमा पर्छ ।

सरिता विष्ट
शेयर ब्रोकर व्यवसायमा स्थापित अर्की महिला ब्रोकर हुन् सरिता विष्ट । उनी कलेजमा फाईनान्स विषय पढाउँछिन् । २०६८ सालदेखि उनी ब्रोकर व्यवसायमा पनि छन् । यो व्यवसाय शुरु गर्न उनलाई साथीहरूले हौंस्याएका थिए । यो व्यवसायका लागि आवश्यक योग्यता भएको देखेर साथीहरूले प्रेरित गरेको उनले बताईन् ।

सरिता स्कुलदेखि नै अध्ययनमा अब्बल थिइन् । उनलाई विज्ञान बिषय पढ्ने तिब्र इच्छा थियो । एसएलसी परिक्षामा ७९ प्रतिशत ल्याएपछि उनको डाक्टर बन्ने उद्देश्य झनै बलियो बन्यो । तर, उनको आँखामा समस्या थियो । राम्रोसँग आँखा नदेख्ने समस्याको उपचार एसएलसी परिक्षा दिएदेखि नै सुरु गरेकी थिइन् । उपचार गर्ने क्रममा उनलाई डाक्टरले विज्ञान विषय नपढ्न सुझाव दिए । उनी भन्छिन् ‘त्यो दिन म खुब रोएँ, त्यही दिन मेरो जिवनका लागि टर्निङग पोइन्ट भइदियो ।’

आखाँको समस्याको कारण विज्ञान पढ्न नसकेकी सरिताले व्यवस्थापन विषय लिएर क्याम्पसमा भर्ना भईन् । व्यवस्थापन विषय पढ्दै जाँदा विस्तारै उनलाई बैङ्कको ‘स्मार्ट’ जागिरले लोभ्याउन थाल्यो । अध्ययन पुरा गरेपछि उनले बैङ्कमा जागिरको लागि पनि प्रयास गरिन् । सरिता आफ्नो ब्याचकी टपर पनि हुन् । तरपनि उनले बैङ्कमा जागिर पाउन भने सकिनन् । ‘लिखित परिक्षा पास गरेपनि अन्र्तवार्तामा भने मेरो नाम कहिल्यै निस्किएन’ उनी भन्छिन् । त्यसपछि उनले क्याम्पस पढाउन थालिन् ।

यसै क्रममा उनले साथीसँग मिलेर लिन्च सेक्युरिटी कम्पनी पनि सुरु गरिन् । डाक्टर, बैङ्कर बन्न नसकेपनि उनी अहिले सफल शेयर ब्रोकर बनेकी छन् । मुलुक कै अर्थतन्त्रमा अहम भूमिका खेल्ने क्षेत्रमा काम गर्न पाउँदा आफूलाई सन्तुष्टी मिल्ने उनले बताईन् । उनी भन्छिन् ‘बैङ्कर बन्न नसकेपछि बैङ्कको शेयर खरिद विक्री गर्ने काम गरेकी छु । अझ कहिलेकाहीँ आफ्ना गुरुहरूले फोन गरेर शेयर बजारको विषयमा सोध्नुहुन्छ । त्यतिबेला भने आफू ठूलो मान्छे पो बनेछु की जस्तो लाग्छ ।’

उनको कम्पनीको मासिक कारोबार करिब ढेड करोड रुपैयाँसम्मको छ । दैनिक एकदेखि दुईलाख रुपैयाँसम्म कारोबार हुन्छ । कम्पनीको आम्दानी भने ७ देखि ८ लाख रुपैयाँसम्म हुने गरेको उनले बताईन् ।

नेपालमा १९९५ सालदेखि सेयर बजारको सुरुवात भएको हो । पुँजी सङ्कलनका लागि विराटनगर जुट मिल र नेपाल बैङ्कले पहिलो पटक प्राथमिक शेयर जारी गरेका थिए । यसपछि नै नेपालमा सेयर बजारको सुरुवात भएको हो । २०५० सालदेखि ब्रोकरद्वारा सेयर खरिद विक्री गर्न थालिएको हो । शुरुमा व्यक्तिलाई नै ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था भएपनि २०६४ सालदेखि भने कम्पनीलाई ब्रोकरको लाईसेन्स दिन थालिएको हो । यसरी शेयर खरिद विक्री गर्ने काम गरेबापत ब्रोकर कम्पनीले कमिशन प्राप्त गर्दछन् ।

नेपालमा हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् । अधिकांश कम्पनी पुरुष कै नाममा छन् । तीमध्ये चार वटा कम्पनीमा महिला प्रमुख छन्, त्यसमा पनि दुईजना महिला मात्रै सक्रिय रुपमा ब्रोकरको काम गर्दै आएका छन् ।

शेयर बजार आफैँमा निकै जोखिम र चुनौतिपूर्ण व्यवसाय हो । त्यसैले पनि यसमा महिला न्यून छन् । हरेक प्रकारका लगानीकर्तासँग काम गर्नुपर्ने हुँदा कहिलेकाही अप्ठेरो पर्ने गरेको बताउँछिन् ब्रोकर खनाल । सुरु सुरुमा एक दुई जनाले फट्याईं पनि गरे, अहिले तिनै घट्नाबाट आफूले काम गर्ने तरिका सिकेको सुचिता बताउँछिन् । धेरै लगानीकर्ताले आफूलाई सल्लाह दिएर सघाउने समेत गरेको उनको अनुभव छ ।

काम गर्ने क्रममा असभ्य पुरुष लगानीकर्तासँग सामना गर्नुपरेको अनुभव पनि छ ब्रोकर विष्टसँग । उनी भन्छिन् ‘कहिलेकाहीँ विहानै फोन गरेर नराम्रा र अपशब्द बोल्छन्, अधिकांश शिक्षित र उच्च तहमा पुगेका पुरुषले असभ्य व्यवहार गर्ने गरेका छन् ।’ तर, केही यस्ता लगानीकर्ता पनि जो परिवारको सदस्यसरह नै भै सकेका छन् ।

महिला भएकै कारण लगानीकर्ताको विश्वास जित्न सफल भएको विष्टको पनि अनुभव छ । ‘महिलासँग कारोबार गर्दा धोका हुँदैन भन्ने धेरैको बुझाई रहेछ’ उनी भन्छिन् । महिलाले सञ्चालन गरेका ब्रोकर कम्पनीको कारोबार राम्रो हुनेगरेको अनुभव नेपाल ब्रोकर एशोसियनका अध्यक्ष प्रियराज रेग्मीको पनि छ । महिला भएकै कारण उहाँहरूको कारोबारमा कुनै प्रभाव परेको छैन । उहाँहरूले त हामीले भन्दा राम्रो व्यवसाय गर्नुभएको छ । उनी भन्छन् ‘अवसरको आवश्यकता छ । अवसर पाउने हो भने महिलाले गर्न नसक्ने केही छैन ।’



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger