|
|
नेपाली हेडलाइन-२४। जंगबहादुर राणा कतिपयलाई दन्त्यकथाको नायकजस्तो लाग्छ। यही नेपाली माटोमा जन्मेर राजदरबारमा राजा, रानी र युवराज तीनमुख भएको बेला अनेक किसिमका खेल खेली शक्ति आफ्नो हातमा लिएर राजालाई खोपाको देउता बनाउने शासक हुन्, उनी। उनैले बीजारोपण गरेको जहानिया राणा शासनले नेपालमा लगातार एक सय चार वर्ष एकछत्र राज गर्यो ।
एक सय चार वर्ष लामो राणा शासन मध्य मात्र ३० वर्ष लामो शासन चलाउदा, सुन्दरी, सिकार र अफिमका सोखिन जंगबहादुरका रानी मात्र ४०÷५० थिए। निरंकुशताका प्रतीक जंगबहादुरले सैन्य संगठन र युद्धकौशलमा आफ्नो खुबी देखाए। भोट विजय भयो। नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता गराए। देशका लागि यस्ता कतिपय महत्वपूर्ण र राम्रा काम पनि जंगबहादुरले गरे।
जंगबहादुरको तलब
श्री ५ लाई खोपाको देवता बनाएर श्री ३ धारण गरी राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका जंगबहादुरको तलबचाहिँ कति थियो त? यस जिज्ञासा समाधान हुने सामग्री नेपाली आर्थिक इतिहासका पायोनियर अन्वेषक महेशचन्द्र रेग्मीको सम्पादनमा रेग्मी रिसर्च सेन्टरले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ८, अंक १:१६-१९)मा ‘दी राणा एलिट' शीर्षकमा जंगबहादुरलगायत उनका भाइहरू, त्यस बेलाका गुरुपुरोहित र सेनाका अधिकारीहरूले पाउने वार्षिक खान्गी (तलब)को विवरण दिइएको छ। यो तलबमान विसं १९१० को हो। जंगबहादुरलगायत केही राणाको तलब यस्तो छ :
प्रधानमन्त्री जंगबहादुर कुँवर राणा रु. रु. ८३,६२०/'
कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा रु. ३२,६१३/'
जनरल कृष्णबहादुर कुँवर राणा रु. २२,०७२/'
जनरल रणोद्वीप सिंह कुँवर राणा रु. २२,४१०/'
जनरल जगतशमशेर कुँवर राणा- रु. २१,०९७/'
जनरल धीरशमशेर कुँवर राणा- रु. २१,८५३/'
जनरल (कपर्दार) भक्तवीर कुँवर राणा- रु. १९,००१/
'त्यो समय जंगबहादुरका छोरा जगतजंग कर्णेल थिए। उनले बुझ्ने गरेको वार्षिक तलब रु. १६,७१२/' रुपैयाँ थियो। यस्तै जंगका छोराहरूमध्ये कर्णेल भीमजंगले रु. ८,५६७/' र कर्णेल जितजंगले रु. ९०००/' वार्षिक तलब बुझ्ने गरेको देखिन्छ। यस्तै कप्तान फत्तेजंग र बबरजंग दुवैको रु. ५००१/' तलब थियो।' त्यतिखेर सेनाका अफिसरहरूका रूपमा रहेका थापा र बस्न्यात काजीहरूको वार्षिक तलबमान सो समयको पैसाको मूल्यअनुसार उल्लेख्य देखिए पनि राणाहरूको तुलनामा धेरै कम छ। त्यस बेला थापा र बस्न्यात काजीहरूले वार्षिक रु. ६,४००÷' तलब बुझ्थे।
अझ गुरु पुरोहितहरूको तलब निकै कम छ, राणाहरूको तुलनामा। उनीहरूमध्ये गुरुराज पण्डित धर्माधिकार विजयराज पण्डितको रु. ४,५००÷', गुरु नगेन्द्रराज पण्डितको रु. ४,०००÷' र गुरु पुरोहित रु. तीर्थराज पण्डितको रु. ३,०००÷' तलब रहेको उक्त रिसर्च सेरिजमा उल्लेख छ।
उनलाई विसं १९०२ पुस सुदि ४ मा काजी पदमा नियुक्त गरिँदा एक हजार एक सय ६० मुरीको खेत र रु. ३,५००÷' वार्षिक तलब तोकिएको थियो। कोतपर्वपछि शक्तिशाली बनेका उनलाई प्रधानमन्त्री, कमान्डर इन चिफ र जनरलको जिम्मेवारीसहित विसं १९०३ मार्ग वदि १० मा मुख्तियार नियुक्त गरियो। त्यस बेला उनको तलब रु. १२,४०१÷' तोकिएको थियो। दुवै नियुक्तिपत्रमा युद्ध र अन्य अवसरमा सुविधामा पुनर्विचार गरिने सर्तसमेत राखिएको छ।
त्यो तलबको वर्तमान मूल्य
रेग्मी रिसर्च सेरिज ( वर्ष ८, अंक १: १९)मा सन् १८५२ (विसं १९०८)को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्यदर पनि प्रकाशमा ल्याइएको छ। त्यो समयको खाद्यवस्तुको मूल्यदरअनुसार जंगबहादुरले पाउने गरेको त्यो तलबमानको वर्तमान मूल्य निकै ठूलो हुन आउँछ। त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो। यस्तै एक रुपैयाँ मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो। एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो।
यहाँनेर जंगबहादुरले पाउने गरेको त्यस बेलाको तलबको अहिलेको घ्यूको मूल्यअनुसार मूल्यांकन गरौं। अहिले डीडीसी घ्यूको मूल्य प्रतिलिटर सात सय २० रुपैयाँ पर्छ। एक लिटर बराबर एक किलोग्राम हुन्छ भने दुई किलो पाँच सय ग्रामको एक धार्नी हुन्छ।
यसअनुसार त्यस बेला एक रुपैयाँमा आउने एक धार्नी घ्यूको मूल्य अहिले एक हजार आठ सय रुपैयाँ हुन्छ। यसअनुसार मूल्यांकन गर्ने हो भने त्यस बेला जंगबहादुरले वार्षिक रुपमा बुझ्ने तलब रु. ८३,६२०÷' को अहिलेको मूल्य रु. १५,०५,१६०००÷' हुन आउँछ। यसअनुसार विसं १९१० मा जंगबहादुरको मासिक तलब अहिलेको रु. १,२५,४३०००÷' थियो।
विसं १८७१ मा भीमसेन थापाले लालमोहर गराई मुख्तियारी खान्गी रु. ६,४०१/' मा रु. ४,०००/' थपेर १०,४०१/' बनाएका थिए (पूर्णिमा पूर्णांक ७७:२३)। भीमसेन यो खान्गीको विषयमा आचार्यले ‘भीमसेन थापा, यिनलाई मैले जस्तो देखेँ'मा त्यो बेला एक रुपैयाँको चार पाथी मसिनो चामल आउने र त्यो बेलाको भीमसेन थापाको तलब अत्यधिक भएको उल्लेख गरेका छन्।
त्यो बेला आफूले आफैंलाई त्यति धेरै तलब तोक्ने जंगबहादुरका सन्तान विसं १९४२ मा उनैका कान्छा भाइ धीरशमशेरका छोराहरूले मच्चाएको पर्वमा कोही सखाप भए त कोही लाखापाखा भए। उनका सन्तान आज सार्वजनिक परिचयविहीन हुन पुगेका छन्। हरेक वर्ष सरकार र उनका सन्तानले छुट्टाछुट्टै त्रिपुरेश्वरको कालमोचन घाटमा जंगबहादुरको श्राद्ध गर्ने गर्छन्। जंगबहादुरको विसं १९३३ फागुन सुदि १२ मा सिकारमा जाँदा पत्थरघट्टामा मृत्यु भयो। -(अन्नपुर्णपोस्टमा प्रकासित राजकुमार दिक्पाल लेखकको रिपोर्टमा आधारित)
|
|
Post a Comment