|
|
जीवनको भरोसा टुटेपछि आमा बेहोस
इटहरीः अफगानिस्तानको काबुलमा आत्मघाती बम विष्फोटमा सुनसरीको इटहरीका अकुर तामाङको मृत्यु भएपछि उनको परिवार शोकमा डुबेको छ ।
पाँच वर्षअघिदेखि अफगानिस्तानमा सुरक्षागार्डका रुपमा कार्यरत तामाङको सोमबार हत्या भएपछि उनकी ६५ वर्षीया आमा लाखमाया, ७७ वर्षीय बुवा भीमबहादुर र परिवारका अन्य सदस्य शोकमा डुबेका छन् ।
छोराको मृत्युको खबरले अकुरकी आमा लाखमाया बेहोस भइन् । शोकमा डुबेकी उनी पैसाको खातिरले छोराको मृत्यु भएको भन्दै भक्कानिरहेकी छिन् ।
गत बैशाख १७ गते दोधार हुँदै गएको छोरो अकुरसँग हप्तादिन अगाडि मात्र आमा लाखमायाले फोनमा बोलेकी थिइन् ।
‘फोनमा कुरा गर्दा आमा मलाई राम्रै छ चिन्ता नगर्नु है भन्थ्यो’, गहभरी आँसु पार्दै लाखमायाले भनिन्, ‘छोराले मेरो क्रिया गर्छ, होला भनेको त आफैँले उसको क्रिया गर्नुपर्यो ।’
पाँच वर्षअघि नेपाली सेनाको जवानको जागिर छाडेर अफगानिस्तानमा रोजगारी गर्न गएका अकुर वर्षैपिच्छे घर आउँथे ।
हेटौंडाकी गामा गोलेसँग प्रेम विवाह गरेका अकुर नयाँ बर्ष २०७३ परिवारसँग नाचगान गर्दै मनाएर एक वर्षपछि फर्किने वाचा गर्दै अफगानिस्तान गएको अकुरकी जेठी भाउजू कमलाले बताइन् ।
‘एक वर्षपछि घर आउँछु भन्दै विदा हुनुभएका देवरबाबुको डेढ महिनामै मृत्युको खबर सुन्नुपर्यो’, उनले भनिन्, ‘भगवनाले पनि राम्रा मान्छेलाई देखिसहँदा रहेनछन् ।’अकुरकी पत्नी माइतीघर हेडौँडामा रहेकाले इटहरी बोलाइएको छ ।
विदामा घर आएको छोराले अफगानिस्तान जाउँ की नजाउँ भन्दै दोधार गरेपछि आफुले पटक पटक अफगानिस्तान नजान आग्रह गरेपनि नमानेको आमा लाखमायाले सुनाइन्
अकुरकी भतिजी कोपिला पनि काकाले ल्याइदिएको मोबाइल देखाउँदै भक्कानिरहेकी छिन् । ‘राम्रो पढ्नु अर्काेचोटी आउँदा ल्यापटप ल्याएदिन्छु भन्नुहुन्थ्यो’, उनले रुँदै भनिन्, ‘मेरो काकालाई कुनचाहिँ अपराधीको नजर लाग्यो ।’
अकुर भीमबहादुरका मन्तरे छोरा थिए । खोटाङको दिक्तेल नगरपालिकाबाट २०६० देखि तामाङ परिवार इटहरीको हाँसपोसामा बस्दै आएका थिए ।
अकुर तीन वर्षअघि हेटौँडाकी गोमा गोलेसँग विवाहबन्धनमा बाधिएका थिए । पति अफगानिस्तानमा रोजगारीका लागि गएपछि गोमा माइतमै बस्दै आएकी थिइन् ।
पतिको मृत्युको खबरपछि उनी मंगलवार इटहरी आउँदैछिन्। अकुरका दाजु देव तामाङले भाइको शव तत्काल नेपाल ल्याइदिन सरकारसँग माग गरेका छन् ।अन्नपुर्ण पोष्टवाट
|
|
Post a Comment