|
|
काठमाडौैं–
‘हाम्रो कम्पनीबाट निस्केको गाडी बढीमा तीस मिटर मात्रै अगाडी बढेको थियो, ठूलो ब्लास्टको आवाज आयो । मेरो मामा र भाञ्जा ड्युटीमा जाँदै थिए, दुवैलाई गुमाएँ ।’
अफगानिस्ताको कावुलमा एउटै कम्पनीमा काम गर्ने सहोदर मामा र भाञ्जालाई गुमाएपछि उनिहरुको शव लिएर काठमाडौं आएका नुवाकोटका आईसी तामाङ आगामी दिनमा अफगानिस्तान नफर्कने बताउँछन् ।
उनका अनुसार साव्री कम्पनीमा १७५ नेपालीहरु सेक्युरीटी गार्डको रुपमा कार्यरत थिए । ‘गएको सोमबार हाम्रा २१ जना साथीहरु तालिवानी आक्रमणमा परे’ तामाङ भन्छन्, ‘हामी २४ जना फर्किएका छौं अझै ९० जना नेपालीहरु त्यो कम्पनीमा कार्यरत छन् ।’
२०११ देखि अफागानिस्तान गएका तामाङ नेपालमै छुट्टि मनाएर दुई महिनाअघी मात्र त्यहाँ पुगेका थिए । ‘तालिवानले २७ तारिखमा फेरि आक्रमण गर्ने थ्रेट दिएको छ’ उनी भन्छन्, ‘बाँचेर आयौं अब फेरि जाने रहर छैन ।’ अफगानिस्तानमा गएर काम गर्दा रिस्क हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि आईसी जस्ता धेरै युवाहरु त्यहाँ पुगेका थिए । ‘रिस्क हुन्छ भन्ने थाहा थियो’ उनी भन्छन्, ‘तर पनि नेपालीलाई केही गर्दैनन् होला भन्ने लागेको थियो ।’ मृतकहरुको शव लिन पुगेको नेपाल वायुसेवा निगमको जहाजमा बुधवार नुवाकोटकै रत्नबहादुर तामाङ पनि त्रिभुवन विमानस्थल ओर्लिए । ‘बाँचेर आईयो, अब फेरी अफगानिस्तान जान्न,’ उनले भने, ‘सँगै काम गर्ने कान्छो वुबाको छोरो डम्बरले ज्यान गुमायो ।’ उनको काकाको छोरा डम्बर नेपाल प्रहरीबाट उपदान लिएर अफगानिस्तान पुगेका थिए । सँगै काम गर्ने १२ जना साथीहरु गुमाएर फर्केका रत्न अब त्यहाँ रहेका नेपालहीहरुलाई भन्न चाहन्छन्, ‘त्यहाँ जत्तिबेला जे पनि हुनसक्छ, बरु आफ्नै देश फर्कनुस् ।’ ईटहरीका बीर बहादुर खत्रीले विमानस्थल ओर्लिएपछि शान्तिको श्वास लिए । ‘ज्यान भन्दा ठुलो कुरा केही छैन’ वीर बहादुर भन्छन्, ‘त्यसैले तलब छाडेर आयौं ।’ बीर बहादुरका अनुसार साब्री ईन्टरनेशनलमा कार्यरत अन्य ९० जना नेपालीहरु फर्कन चाहन्छन् । ‘अरु नेपालीहरु ड्युटीमा थिए, त्यसैले जहाज छुट्यो’ उनले भने, ‘अब फेरी कावुल जान चाहन्न ।’रातोपाटि बाट
|
|
Post a Comment