|
|
शुक्रबार, १० आषाढ, २०७३
वीरगञ्ज । छोराले अन्तर्जातीय प्रेम विवाह गरेको आरोपमा गाउँका मुखिया (पूर्व गाविस अध्यक्ष) र अगुवाहरूले बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन्। वीरगन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीय शिवपुजन शाह तेलीलाई बुधबार गाउँका मुखिया र अगुवाले घाँटीमा जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका हुन् ।
शवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रवीना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए। असार १ गते घरबाट भागेर दुबैले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमा पञ्चायती (सर्वपक्षीय छलफल) भएको थियो।
पञ्चायतीमा सहभागी गाउँका मुखिया र अगुवाले माथिल्लो जातको केटीसँग बिहे गरेको भन्दै अर्जुनका बुबालाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने निर्णय गरे । पञ्चायतीको निर्णयअनुसार गाउँका मुखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाई दिन गाउँका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए ।
मुखियाको आदेशमा शिवपुजनको घाँटीमा चौकीदार पासवानले जुत्ताको माला लगाइदिए । त्यसपछि मुखियाको अगुवाइमै गाँउलेले शिवपुजनलाई गाउँको परिक्रमा गराएका थिए । जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराउने क्रममा मुखयिा र गाउँका अगुवाले शिवपुजनलाई कुटपिट पनि गरेको उनका काहिँला छोरा नानकचन्द साह तेलीले बताए ।अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । -
|
|
Post a Comment