Headlines News :
Home » » प्यारो परिवार, भव्य बंगला, आकर्षक गाडी, पावर, पैसा र अन्य थुप्रै सुखसुविधा त्यागेर आईजीपीका छोरा किन बने जोगी ?

प्यारो परिवार, भव्य बंगला, आकर्षक गाडी, पावर, पैसा र अन्य थुप्रै सुखसुविधा त्यागेर आईजीपीका छोरा किन बने जोगी ?

Written By news on Sunday, 26 June 2016 | 02:51


काठमाडौं, १२ असार ।
 आम मानिसका सपना प्रायः के हुन्छन् ? सानो परिवार, चिटिक्कको घर। मन परेको गाडी। वा अन्य केही यस्तै । तर एक युवाले  प्यारो परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधा त्यागेर कुटीको बास रोजेका छन्। उनी हुन् ३७ वर्षीय प्रभन्जनबहादुर सिंह। काठमाडौंको उच्च घरानियाँमा जन्मेका उनी विगत तीन वर्षदेखि आफ्नो घरबार त्यागेर पशुपतिनाथ क्षेत्रको मृगस्थलीमा साधु जीवन जिउँदै छन्।

पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहका जेठा छोरा प्रभन्जनले २०७० साल जेठ ११ गते गुरु योगी शीर्षनाथबाट दिक्षा लिएर संन्यासको यात्रा थालेका हुन्।  प्रभन्जन यतिबेला व्याघ्र वेदनाथको नयाँ परिचयका साथ जिउँदै छन्। परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधाले उनलाई लोभ्याउन सकेको छैन।

घर छाडेर आएयता उनी कहिलेकाहीँमात्र घरको आँगनसम्म पुगेका छन्। तर जतिपटक पुगे पनि उनलाई घरले तान्न सकेन। ‘जीवन जिउने यो मेरो आफ्नै रहर हो,’ उनले भने, ‘जब रहरले केही काम गरिन्छ, त्यो दिगो रहन्छ।’

एकताका देशविदेश घुम्दै होटल–रेस्टुरेन्टमा मन परेको परिकार खाएर चिटिक्क परेर हिँड्ने उनी अहिले एकसरो गेरुवस्त्र, गेरु रंगकै झोला बोकेर खाली खुट्टा हिँड्छन्। उनी तनले मात्र होइन मनले पनि साधु लाग्छन्। उनी मुस्कुराउँछन्। सर्वसाधारणका कुरा ध्यान दिएर सुन्छन्। अनि सहयोगका लागि अघि बढ्छन्।

त्यतिबेलाको प्रभन्जन र अहिलेको व्याघ्र वेदनाथको जीवन निकै फरक रहेको उनको बुझाइ छ। ‘उतिबेलाको प्रभन्जनमा रिस थियो, लोभ थियो,’ उनी भन्छन्, ‘अहिले वेदनाथ ती सबबाट मुक्त भएको महसुस गर्दैछ। भौतिक सुखसुविधाले इन्द्रियलाई मात्र सुखशान्ति दिने उनको बुझाइ छ। त्यहीभएर आध्यात्मिक शान्तिका लागि अहिले योगको बाटो अँगालेको उनले सुनाए।

बुद्धले महल त्यागेजस्तै उनले घरबारसँगै आफूलाई माया गर्ने सिंगो परिवार छाडेर निस्केका हुन्। उनलाई घर छाड्नु कम्ती चुनौती थिएन। परिवारको जेठो छोरामा सबैले देखाएको आशा। माया गर्ने पत्नी अनि ८ वर्षीया छोरीको आग्रह। यी कुनैले पनि उनलाई रोक्न सकेन।

किनकि उनको मन शान्तिको खोजीमा पहिल्यै उडिसकेको थियो। ‘घर छाड्नु डेढ वर्षअघि नै मेरो मनमा साधुको जीवन जिउने इच्छा पलाएको थियो,’ उनले भने, ‘त्यही चाहना अहिले सार्थक भएको छ।’

घर छाड्नुअघि उनले परिवारका सदस्यहरुलाई जीवनजगतका बारेमा राम्ररी सम्झाए। सानी छोरीले उनको कुरा नबुझेको उनले सुनाए। ‘बाबा १० वर्षपछि मलाई  किन घर छाडेको बताउनुहोस् है भनिन्,’ उनले भने, ‘अहिले बेलाबेलामा आएर मलाई भेट्ने गरेकी छे।’

आफू अहिले सानो परिवार छाडेर ठूलो परिवारमा रमाएको उनी सुनाउँछन्। ‘सबै मानवजाति परिवार त हो नि,’ उनले सुनाए, ‘मलाई त अहिले ठूलो परिवारमा आएको महसुस भएको छ।

उनलाई साथीभाईहरुले उनलाई रोक्न नखोजेका हैनन्। घर छाड्नु अघिल्लो रात उनलाई साथीभाइले मोटरमा राखेर जवरजस्ती नगरकोट पुराएछन्। तर उनको मन त्यहाँको रमाइलोमा रमेन। भोलिपल्ट बिहानै उनी फर्के। उनको  प्रबल इच्छा देखेपछि साथीहरुले नै उनलाई ल्याइदिएछन्। ‘मेरो इच्छाको अगाडि उनीहरुको केही लागेन,’ उनले हाँस्दै भने, ‘मन मोडिएको छ।’

साधु जीवनमा आएपछि उनको दैनिकी फेरिएको छ। बिहानै उठेर गाईको स्याहार गर्नु, पुस्तक अध्यन गर्नु र गुरुको आज्ञा मानेर आश्रमको काम गर्नु उनको दैनिकी बनेको छ। आश्रममा उनी हिन्दु धर्मग्रन्थ, दर्शन, संस्कृतिको अध्ययनसँगै ध्यान अभ्यास गरिरहेका छन्। सुरुमा त उनको यो रुप देखेर परिवार साथीभाइ सबै  स्तब्ध भएका थिए। तर, उनले आफ्नो निर्णय बदल्न चाहेनन्।

छोरो घर फर्कियोस् भन्ने आमाको चाहना थियो। तर आमाको इच्छा अधुरै रह्यो। करिब चार महिनाअघि उनको आमाको निधन भयो। उनी आमालाई हेर्न अस्पताल पुगेका थिए। अन्तिम संस्कारको बेलामा भने उनी सहभागी भएनन्। बरु  बाग्मतीको एउटा किनारमा बसेर पारिपट्टि आमाको दाहसंस्कार भएको नियाले।  ‘मैलै परैबाट आमालाई अन्तिम बिदाइ गरे,’ उनले भने, ‘जति बेला भेटे पनि ‘अब पुगेन घर कहिले फर्किने भन्नुहुन्थ्यो।’

यसो भन्दै गर्दा उनी मौन रहे। साँच्चै घर कहिले फर्कने त? ‘म त घरमै त छु नि।’ प्रभन्जनले मुस्कुराउँदै भने, ‘अब मेरो घर यही नै हो।’ आफूले त्यागेको  महलभन्दा यही बसेको कुटी भव्य लाग्ने गरेको उनले सुनाए ।

नागरिक दैनिकमा उपेन्द्र लामिछानेले समाचार लेखेका छन् ।





Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger