|
|
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको विशेष अधिवेशनमा शुक्रबार आयोजित उद्घाटन समारोहमा खेलकुदलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिइएको छ ।
खेल आफैँमा स्वतन्त्र विधा भएको भन्दै कार्यक्रममा उपस्थित वक्ताहरूले खेलसँग सम्बन्धित संस्थाहरू राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले राजनीतिकरणका कारण खेल जगत् प्रभावित हुन नहुने बताएका छन् ।
मञ्चका निवर्तमान केन्द्रीय अध्यक्ष अजय फुयाँलले खेलकुद पत्रकारितालाई मर्यादित बनाउँदै समग्र खेलकुदको विकासमा मञ्चले योगदान गर्ने र यसलाई राजनीतिबाट मुक्त राखिनुपर्नेमा जोड दिएका छन् ।
सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले खेलकुदका माध्यमबाट राष्ट्रमा योगदान गर्न सकिने बताउँदै खेलकुद पत्रकार मञ्चले खेलजन्य गतिविधिको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रुद्र भट्टले खेलमा राजनीतिकरणको प्रभाव पर्न दिन नहुने बताउँदै खेलकुद पत्रकार मञ्चलाई पनि एउटा विशुद्ध पेसागत व्यावसायिक संस्थाका रुपमा विकास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका सभापति रामकृष्ण ज्ञवाली, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवि पोखरेल, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका अधिकृत सूर्य थपलिया, नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य मदन केसी, मञ्च कास्कीका कार्यबाहक अध्यक्ष सन्देश श्रेष्ठ, सचिव दिननाथ बराल, सहसचिव अर्जुन गिरीलगायतले पोखरामा खेल पर्यटनको विकासका पनि पर्याप्त सम्भावना रहेको उल्लेख गरेका छन् । रासस
|
|
Post a Comment