Headlines News :
Home » » नेपालमा चीनले मात्रै ९३० भन्दा बढी उद्योगमा साढे २५ अर्ब लगानी गरेकाे तथ्यांक

नेपालमा चीनले मात्रै ९३० भन्दा बढी उद्योगमा साढे २५ अर्ब लगानी गरेकाे तथ्यांक

Written By news on Monday, 6 June 2016 | 04:43

मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले रु २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दैआएको चीनको उक्त लगानीबाट मुलुकमा करिब ४५ हजार ८६९ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ ।

नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशले जम्मा तीन हजार ५७८ उद्योग दर्ताका लागि स्वीकृति प्राप्त गरेका छन् भने त्यसमध्ये सबैभन्दा बढी चीनका उद्योग रहेका छन् ।

विदेशी उद्योगको जम्मा लगानी रु एक खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रहेको छ भने उक्त लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।

विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक रुद्रबहादुर मल्लले जानकारी दिनुभयो ।

यस बाहेक उद्योग दर्ताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने सफलता प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । झन्डै एकवर्ष अघि उद्योग परिसरमा अध्यागमन र पर्यटन विभागलगायत आवश्यक सरकारी निकाय अन्तर्गतका एकाइ स्थापना गरिएपनि त्यसलाई निरन्तरता दिन नसकिएको विभागको भनाइ छ ।

चीनको मुख्य भूमिबाट उद्योग खोल्न स्वीकृत पाएका उपरोक्त ९३० उद्योगबाहेक चीन (हङकङ) बाट ३१ उद्योगले रु २५ अर्ब १८ करोड २० लाख भन्दा बढी लगानीका लागि स्वीकृत प्राप्त गरेका छन् ।

त्यस्तै चीन (ताइवान) बाट १५ उद्योगले करिब रु २७ करोड ४० लाख लगानी गर्न स्वीकृत प्राप्त गरेका छन् । हङकङ र ताइवानअन्तर्गतका समेत गरी जम्मा ४६ उद्योगले पाँच हजार २६१ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।

विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले हाल अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने विभागका विदेशी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले बताउनुभयो । यसका लागि विभागले गत वैशाख २२ गते परीक्षण सेवा समेत सुरु गरिसकेको छ ।

अनलाइन सेवा सुरु गर्न विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले प्राविधिक सहयोग गर्नुका साथै विभागका जनशक्तिलाई प्रशिक्षित गर्दै आएको छ ।

नेपालमा दर्ताका लागि स्वीकृति प्राप्त गरेका विदेशी उद्योगमध्ये सबैभन्दा बढी एक हजार १८३ उद्योग सेवा क्षेत्रका छन् भने सबैभन्दा कम ४५ निर्माण क्षेत्रका रहेका छन् ।

त्यस्तै, कृषि र वनमा आधारित २२२, ऊर्जा क्षेत्रका ७४, उत्पादनमूलक ९७२, प्रशोधन क्षेत्रका ६५ र पर्यटन क्षेत्रका एक हजार १५ उद्योग रहेको निर्देशक राजभण्डारीले जानकारी दिनुभयो । दर्ता भएका विदेशी उद्योगमध्ये २६५ ठूला, ३७५ मझौला र दुई हजार ९३८ साना प्रकृतिका छन् ।

नेपालमा रु तीन करोडसम्म स्थिर पुँजी भएका साना उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन्छन् । रु तीन करोड देखि १० करोड सम्म स्थिर पुँजी भएका मझौला र १० करोड भन्दा बढी स्थिर पुँजी भएका उद्योग उद्योग विभागमा दर्ता हुने कानुनी व्यवस्था छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger