Headlines News :
Home » » शक्तिको दुरुपयोग प्रमाणित....

शक्तिको दुरुपयोग प्रमाणित....

Written By news on Thursday, 9 June 2016 | 01:47

सैनिक कसुर गरेको व्यक्तिको मुद्दाको कारबाही वा किनाराका लागि सैनिक अदालत गठन गर्न सकिने व्यवस्था छ, सैनिक ऐनमा । चार प्रकारका त्यस्ता अदालतमध्ये समरी जनरल सैनिक अदालतको गठन सेनानी (मेजर) तहका कम्तीमा दुई जना सैनिक अधिकृत र त्यसमुनिका अन्य तीन जना सैनिक अधिकृत रहने व्यवस्था ऐनमा छ । सैनिक ऐनको यो दफाको आशय के हो भने सेनानीभन्दा माथिल्लो तहका अधिकारी समरी जनरल सैनिक अदालतमा रहन पाउने छैनन् ।
तर, गौरवशमशेर राणा प्रधानसेनापति छँदा एउटा यस्तो जनरल समरी सैनिक अदालत गठन गरियो, जसको अध्यक्ष सेनानी तहका सैनिक अधिकारी होइन, रथी (लेफ्टिनेन्ट जनरल) प्रदीपविक्रम राणा थिए । सेनानीभन्दा चार तह माथिका उपरथी राणाको अध्यक्षतामा गठन गरिएको अदालतका अन्य सदस्यमा सहायक रथी र महासेनानी तह (विशिष्ट श्रेणी)का पाँच अधिकारी थिए । त्यही अदालतले २७ कात्तिक ०६८ मा उपरथी प्रेमप्रकाश थापामगरलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक सेवाबाट बर्खास्त गर्ने फैसला गरिदियो ।

रथी राणा नेतृत्वको जनरल समरी सैनिक अदालतले गरेको फैसलालाई कत्ति विलम्ब नगरी प्रधानसेनापति राणाले त्यसै दिन सदर गरे । उपरथी थापामगर तत्काल सैनिक सेवाबाट बर्खास्त गरिए । आफूमाथि अन्याय भएको भन्दै फैसलाविरुद्ध उपरथी थापाले विशेष सैनिक अदालतमा पुनरावेदन गरे । झन्डै तीन वर्षपछि पुनरावेदन अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठको अध्यक्षतामा रहेको विशेष सैनिक अदालतले उपरथी थापालाई १३ जेठमा निर्दाेष साबित गर्‍यो ।
विशेष सैनिक अदालतले गरेको यो फैसलाले सेनाभित्रका दुई विकृतिलाई सतहमा ल्याइदिएको छ । पहिलो, शक्तिको भरमा ऐनका प्रावधानको दुरुपयोग गरेर प्रधानसेनापतिले कसैको ‘ करिअर’ नै चौपट पारिदिन सक्ने रहेछन् । दोस्रो, प्रधानसेनापतिका गलत क्रियाकलापका सामु तालुकवाला रक्षा मन्त्रालय चुप्पी साँधेर बस्न सक्दो रहेछ । पूर्वरथी नेपालभूषण चन्द भन्छन्, “राज्यको कानुन प्रधानसेनापतिभन्दा माथि त नहुनु पर्ने हो । तर, प्रधानसेनापतिले ऐनको अवज्ञा गर्दासमेत सरकारले केही गर्न नसक्ने रहेछ ।”

विसं ०६३ मा जारी सैनिक ऐनले प्रधानसेनापतिलाई सेनाका उच्च अधिकृतहरूको पदावधि थप र बढुवा सिफारिसको अधिकार दिएको छ । अर्थात्, प्रधानसेनापतिले सिफारिस गरेमा मात्र सरकारले सैनिक अधिकृतहरूको बढुवा वा पदावधि थपको निर्णय गर्न सक्छ । तर, सेनामा चेन अफ कमान्ड र अनुशासन कायम राख्न दिइएको यो अधिकारको लोकतन्त्रपछिका प्रधानसेनापतिले पूर्वाग्रह साँध्नका लागि दुरुपयोग गरिदिँदा कतिपय अधिकारीहरूको करिअर नै समाप्त हुन पुगेको छ ।
कोपभाजनमा जर्नेल–कर्णेल
सैनिक ऐनले सैनिक अधिकारीहरूको म्याद थपका विषयमा प्रधानसेनापतिलाई सबैभन्दा शक्तिशाली बनाएको छ । ऐनको दफा १७, उपदफा ३ मा भनिएको छ, ‘लामो अवधिसम्म सेवा गरी शारीरिक रूपमा सक्षम रहेका अधिकृतको सेवा नेपाली सेनाका लागि आवश्यक छ भनी मनासिव आधार र कारण खोली नेपाल सरकारसमक्ष प्रधानसेनापतिले सिफारिस गरेमा नेपाल सरकारले सोबमोजिम पदावधि थप गर्न सक्नेछ ।’
ऐनको यो प्रावधानको पछिल्लो दुरुपयोग तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाले गरे । रथी नेपालभूषण चन्दको दुईवर्षे पदावधि २८ असार ०७० मा सकिँदै थियो । उनको उमेर ५८ वर्ष पुग्न आठ महिना बाँकी रहेकाले पदावधि थप्न सकिने स्थिति थियो । तर, राणाले चन्दलाई अवकाश मितिभन्दा दुई साताअघि नै अवकाश पत्र थमाए । खासमा चन्दको पदावधि थपिए आफूलाई हटाएर चन्द आफैँ प्रधानसेनापति बन्लान् भन्ने भय थियो राणालाई ।

राजतन्त्र छँदासम्म सेनामा दरबार हावी थियो । सैनिक अधिकारीहरूको पदावधि थप वा बढुवामा प्रधानसेनापतिले दरबारको आदेश मान्थे, मान्नुपर्ने अवस्था थियो । कोही अन्यायमा परे भने दरबारमा गुहार लगाउन सक्ने स्थिति थियो । तर, लोकतन्त्र बहालीपछि सैनिक मामिलामा एकाएक प्रधानसेनापति हावी हुने स्थिति बन्यो । ऐनमार्फत पदावधि थप र बढुवाको मनमौजी अधिकार प्रधानसेनापतिलाई दिइयो । परिणाम के भइदियो भने सेनामाथि प्रभावकारी नियन्त्रण गर्ने राजनीतिक निकायको अभावमा नयाँ प्रधानसेनापति छनोट, उत्तराधिकारीको निर्माण आदिमा जंगी अड्डाभित्रै खेल हुन थाले ।

त्यसैले जंगी अड् डाको नेतृत्व पाएपछि प्रधानसेनापतिले आफूलाई नेतृत्वमा पुग्न नदिने षड्यन्त्र गरेको इबी सैनिक ऐनको उक्त प्रावधानमार्फत साँध्दै आएका छन् । जस्तो : छत्रमानसिंह गुरुङपछि गौरवशमशेर राणा प्रधानसेनापतिका स्वाभाविक उत्तराधिकारी थिए । तर, चन्दलाई प्रधानसेनापति बनाउन चाहे गुरुङले । १७ वैशाख ०६८ मा पवनजंग थापाको अवकाशपछि रथीको दरबन्दीमा जो बढुवा हुन्थे, उही गुरुङको उत्तराधिकारी हुन्थ्यो । तर, सेनापति गुरुङले वरिष्ठतम उपरथी राणालाई तत्काल बढुवा दिएनन् । अर्काे रथी पद रिक्त भएपछि मात्र उनले राणा र चन्द दुवैलाई सँगै सिफारिस गरे । प्रधानसेनापति बनेपछि राणाले त्यसैको रिस चन्दमाथि पोखेका हुन् ।

लोकतन्त्र पुन:बहालीलगत्तै उपरथी प्रदीपप्रताप बम मल्लको पदावधि थप नगरिएपछि मल्लले सर्वाेच्च अदालत गुहारे । त्यतिबेला प्रधानसेनापति थिए, रुकमांगद कटवाल । अदालतले मल्लको म्याद थप गर्न सरकार र जंगी अड्डालाई आदेश दियो । तर पनि, उनी पुन:बहाल गरिएनन् । खासमा प्यारजंग थापापछि प्रधानसेनापतिका दाबेदार थिए मल्ल । यदि लोकतन्त्र नआएको हुँदो हो त सेनाको नेतृत्व कटवालले होइन, मल्लले पाउन सक्थे । जानकारहरूका भनाइमा त्यही रिसमा अदालतको फैसलाका बाबजुद मल्लको पदावधि थपको सिफारिस नगरिएको हो ।

कटवालको कोपभाजनमा परेका अर्का सैनिक अधिकारी हुन्, उपरथी दिलीपशमशेर राणा । पोखरास्थित पश्चिम पृतनापति छँदा राणाले माओवादी शान्ति प्रक्रियामा आउनुमा सेनाको भूमिका रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । यसैलाई आधार बनाएर कटवालले राणामाथि कोर्टमार्सलको प्रयास गरे । तर, सकेनन् । जंगी अड्डाभित्र सबैजसो जनरलहरू राणालाई बलिको बोको बनाइन नहुने पक्षमा देखिएपछि कटवाल उनको बढुवा सिफारिस गर्न बाध्य भए । तर, राणाको बढुवा भएन, पदमुक्त भए । राणा भन्छन्, “सिफारिस गरे पनि बढुवा रोक्न कटवालले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कान भर्ने काम गरे । खासमा कटवालकै कारण मेरो बढुवा नभएको हो ।”

तिनै कटवाल प्रधानसेनापतिको तीनवर्षे पदावधि सकिन लागेपछि एकवर्षे पदावधि थप्ने खेलमा लागे । तर, कटवालको त्यो प्रयासको भुक्तमानचाहिँ प्रधानसेनापति कटवालका सैनिक सहायक राजेन्द्र क्षत्री (हाल प्रधानसेनापति)का भाइ रतीन्द्र खत्री क्षत्रीले बेहोर्नु पर्‍यो । रतीन्द्रलाई सहायक रथीमा बढुवाका लागि गुरुङले सिफारिस नै गरिदिएनन् । सिफारिस नभएका कारण २३ असार ०६८ मा खत्रीले असमयमै अवकाश पाए ।

जहाँसम्म विशेष सैनिक अदालतबाट सफाइ पाएका उपरथी थापामगरको प्रसंग छ, गुरुङ प्रधानसेनापति छँदा सैनिक सचिव रहेकाले आफूलाई प्रधानसेनापति बन्न नदिने खेलमा थापामगर पनि संलग्न रहेको ठहर थियो राणाको । र, यही कारण उनलाई कोर्टमार्सल नै गरेर बर्खास्त गरिएको हो ।
दुरुपयोग रोक्ने हो भने
सैनिक सेवा नियमावली–२०६९ ले बढुवा वा पदावधि थपको निर्णय कसरी गर्ने भन्ने व्यवस्था गरेको छ । बढुवाका लागि समिति गठन गर्नुपर्ने र त्यसको निर्णय अनुसार जंगी अड्डा (प्रधानसेनापति)ले सरकारसमक्ष सिफारिस गर्ने व्यवस्था छ नियमावलीमा । बढुवामा जस्तै पदावधि थपका लागि पनि समिति गठन हुने गरेको छ ।

समिति गठनको उद्देश्य, कसैको बढुवा वा पदावधि थपका लागि सम्बन्धित अधिकारी योग्य छ कि छैन भन्ने कारणहरू खोजी गर्ने हो । थप गर्नुपर्ने कारण देखिए खुलाएर समितिले प्रधानसेनापतिलाई सिफारिस गर्ने र गर्नु नपर्ने हो भने पनि त्यसको कारण खुलाएर लेख्ने हो । त्यही समितिको सिफारिस अनुसार नै प्रधानसेनापतिले सरकारसमक्ष सिफारिस गर्छन् । तर, भुक्तभोगीहरूका भनाइमा प्रधानसेनापतिहरूले समिति गठनसम्बन्धी व्यवस्थाको व्यावहारिक कार्यान्वयन पनि मनमौजी तरिकाले गर्ने गरेका छन् ।

अर्थात् आफूले चाहेका व्यक्तिको बढुवा/पदावधि थप गर्नुछ भने समिति गठन हुने गरेको छ । पदावधि थप वा बढुवा गर्ने चाहना छैन भने प्रधानसेनापतिले समिति नै गठन गरिदिन्नन् । जस्तो : तत्कालीन उपरथीद्वय राणा र चन्दकै प्रसंग हेरौँ । दुवैलाई रथीमा बढुवा गर्न कानुन अनुसार बढुवा समितिले सिफारिस गर्नुपथ्र्यो । तर, सेनापति गुरुङले समिति नै नबनाई सोझै बढुवाको सिफारिस गरेका थिए । किनभने, समिति बनाउनासाथ राणा मात्र सिफारिस हुन्थे, जसलाई अगाडि बढाउन गुरुङ चाहँदैनथे ।
महासेनानी रतीन्द्रका सम्बन्धमा निर्णय गर्न समिति त बन्यो । तर, त्यसलाई जंगी अड्डामै तुहाइदिए प्रधानसेनापति गुरुङले । रतीन्द्र गुनासो गर्छन्, “सहायक रथीका आधा दर्जन दरबन्दी रिक्त थिए । तर, प्रधानसेनापतिले नै सिफारिस नगरिदिएपछि कसको के लाग्छ ?”

सैनिक ऐनले दिएका अधिकारको दुरुपयोग विगतमा प्रधानसेनापति भएकाले र फेरि पनि हुन सक्ने भएकाले त्यसलाई रोक्न विशेष व्यवस्था गर्नुपर्ने बताउँछन् पूर्वरक्षासचिव ईश्वरीप्रसाद पौडेल । उनको सुझावमा सैनिक ऐनले दिएका अधिकारको प्रयोग प्रधानसेनापतिले कसरी गर्ने भन्ने एउटा मापदण्ड बनाइनुपर्छ । “मापदण्डको फम्र्याटसँग मेल खान्छ भने त्यो सिफारिस वा निर्णय सरकारले स्वीकृत गरोस्, मेल खाँदैन भने स्वीकृत गर्नु हुँदैन,” पौडेल भन्छन् ।

उच्च सैनिक अधिकारीका काम–कारबाहीमाथि नागरिक वा संसदीय सुपरिवेक्षण गर्न सकियो भने अधिकार र शक्तिको दुरुपयोगलाई नियन्त्रण गर्न नसकिने होइन । अझ व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समिति थोरै मात्र सक्रिय भइदियो भने पनि यस्तो दुरुपयोग रोकिन सक्छ । सैन्य मामिलाका जानकार दीपकप्रकाश भट्ट भन्छन्, “लोकतन्त्रलगत्तै सैनिक ऐनले दिएका अधिकारको दुरुपयोग प्रधानसेनापतिबाट हुन थालेको हो । दुरुपयोग हुनासाथ राज्य व्यवस्था समितिमा प्रधानसेनापतिलाई बोलाएर प्रश्न गरिएको भए पछिल्ला प्रधानसेनापतिहरू मनमौजी हुनबाट पक्कै रोकिन्थे ।”

अधिकारको प्रयोगमाथि संसदीय सुपरिवेक्षण गरिँदा प्रधानसेनापतिबाट हुने मनमौजी अधिकार प्रयोगमा अंकुश त लाग्न सक्छ । तर, यसको जोखिम के छ भने बढुवा र पदावधि सिफारिस नभएका सैनिक अधिकारीहरूले प्रधानसेनापतिलाई संसद्को कठघरामा उभ्याएर इबी साँध्न नेताहरूको दैलो ढकढक्याउन सक्छन् । बढुवा वा पदावधि थप गर्ने/नगर्ने निर्णयबारे समितिलाई प्रधानसेनापतिले जानकारी गराउने र आवश्यक पर्दा समितिले यसबारेमा प्रधानसेनापतिसँग जानकारी लिने हो भने अधिकारको दुरुपयोग पनि रोकिने र कोपभाजनको सम्भावना पनि अन्त्य हुने बताउँछन् भट्ट । भन्छन्, “तर, यो अभ्यास गरिँदा प्रधानसेनापति ह्युमिलिएट हुने अवस्थाचाहिँ आउन दिनु हुँदैन ।”

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger