Headlines News :
Home » » पेटभरी खान नपाउने चेपाङ जातीको यो दर्दानक कथा..

पेटभरी खान नपाउने चेपाङ जातीको यो दर्दानक कथा..

Written By news on Monday, 20 June 2016 | 02:35


छतिनगैरा (गोरखा) -

 आधा घन्टाको बाटो तल असारे उन्मादले निर्निमेष सुसाइरहेको त्रिशूली छ । त्रिशूलीको काँठकाँठै दिनरात गुड्ने गाडीले त्रिशूलीको आवाजलाई गाढा बनाइरहेको छ । वारि घ्याल्चोक ६ छतिनगैराका चेपाङ समुदायले पारि जोगीमारा, मझिमटार, हुग्दीखोला हेर्दै जिन्दगीका कहर काटेको पुस्तौं भयो । डन्नु चेपाङ उनीहरूमध्येकै एक हुन् ।

उनले त्रिशूलीको गोरखापट्टिको पखेरामा खनीखोस्री गरेको ५५ वर्ष भयो। यो उमेरसम्म आङभरि लगाएको र पेटभरि खाएको अनुभव उनीसँग छैन । उनी मेलाबाट घरमा पुग्दा सधैं साँझको आठ बजेको हुन्छ । गाउँभरि झिलिमिली बिजुली बत्ती बलिसकेको हुन्छ । कतै टीभी, कतै रेडियो बजिरहेको आवाज आइरहेको हुन्छ । थकाइले लखतरान भएर दुई लालाबाला र वृद्धा आमालाई घरमा भेट्न पुग्दा उनको घरमा बिजुली बत्ती त परको कुरा, टुकी बत्ती पनि बलेको हुँदैन । अँगेनुको धमिलो उज्यालोमा साढे चार बर्से छोरा विकास, सातबर्से कुमार र ८१ वर्षकी जन्मदाता आमा आधा हरछोपिने लुगा लगाएर बसिरहेका हुन्छन् । सातबर्से कुमारले खोले पकाइसकेका हुन्छन् ।

बाउ घर आउलान्, आदेश देलान् र दृष्टि र श्रवणशक्ति गुमाएकी बज्यैलाई खुवाएर आफूहरू खाउँला भनेर दुई भन्ट्याङभुन्टुङ पर्खिरहेका हुन्छन् । डन्नु सधैंजसो एक छाकमात्र खान्छन् त्यही पनि साहूको मेलामा । ‘बिहान सात नबज्दै मेलामा पुग्छु', उनी भन्छन्, ‘बेलुका सात बजेसम्म काम गर्छु । भात दिए भने दुई सय ५० रुपैयाँ ज्याला दिन्छन् । खाजामात्र दिए भने तीन सय ।' यही पैसाले तीनजनालाई पुग्ने चामल, नुन किन्छन् । सधैं काम पनि पाइँदैन । ‘अहिले त खेत रोप्ने, मकै गोड्ने, घैया गोड्ने बेला परेको छ र काम पाइएको छ । सधैं त काम पाइँदैन', उनले भने, ‘अरू बेला साहूको घरमा घाँस लैजान्छु । गाईबस्तुको भकारो सोहोर्छु । खान दिन्छन् । दुईचार पैसा दिन्छन् ।'

परिवारलाई पकाउने र खुवाउने काम सातबर्से कुमारको जिम्मामा छ । बिहान साढे छ बजेतिर खोले पकाउँछन् । ‘ट्वाकको आधा चामल हाल्छु । दुई ट्वाक पानी हाल्छु', खोले पकाउने आफ्नोे दैनिकी सुनाउँदै उनले भने, ‘अनि छड्किन्छ । त्यसमै नुन हाल्छु । एकछिनपछि झिक्छु । बाउले खाँदैनन् । आमै, भाइ र मलाई पुग्छ ।' कुमार, विकास र ८० बर्से आमैले बिहान छ बजेदेखिको भोक एकैचोटि साँझ आठ बजेतिर मेटाउँछन् । ‘दिउँसो भोक त लाग्छ । बाउ आउँदैनन्', कुमारले भने, ‘दिउँसो भोक लागेपछि गाउँ चाहार्छौं । आँपको फेदतिर जान्छौं ।' भोलिपल्ट बिहानको छाक पनि अधिकांश अघिल्लो साँझको बासी खोलेले टार्छन् । ‘हिजोको खोले थियो । यिनीहरूले त्यही खाए', बिहान साढे सात बजेतिर उनको घरमा पुग्दा डन्नुले बिहानको भान्सा भइसकेको बताए । आफ्नो भान्सा भने मेलामा हुने उनको भनाइ थियो ।

‘म त मेलामै खान्छु', केही कुरा लुकाएको, केही लजाएको स्वरमा फेरि भने, ‘म त साँझमा कहिल्यै पनि खान्नँ । बानी भइसक्यो । भोक पनि लाग्दैन ।' आँपले त्यस दिनको छाक टारेको कुरा उनले अलि पछि खुलाए । ‘अघि मेलाबाट आउँदा आँपको बोटमा गएको थिएँ । धेरै खाएँ । अमन भएको छ', उनले रहस्य खोले, ‘आँपको सिजनभरि त केटाकेटी पनि यसैले अघाउँछन् । ढुक्क हुन्छ ।' गिट्ठाको सिजन भर्खरै सकिएको हो । ‘वैशाख र जेठभरि गिठा, भ्याकुर र प्याकुनाले धान्यो । अहिले आँपले धानेको छ । अब हरियो मकै आउँछ', उनले भने । डन्नुले तीनफेर बिहे गरे ।

‘शत्रु लागे । दुलै त टिक्नै दिँदैनन्', डन्नुले विकासतिर देखाउँदै भने, ‘यो सात महिनाको हुँदा छोडेर पोइला गई । यसकी आमा कान्छी हो । जेठीलाई पनि गाउँलेले कुरा लाएर बस्न दिएनन् । पोइल गई । माइलीलाई पनि बस्न दिएनन् । गरिब छ, पाल्न सक्दैन भन्दा रहेछन् ।' श्रीमती नहुँदा आफ्नो, बूढी आमाको र दुई लालाबालाको बेस्याहार भएकोमा उनको ठूलो विषाद छ । घरमुनि उनको एक हलको मेलो पखेरो छ । त्यहाँको उब्जनीले एक महिनालाई पनि पुग्दैन । ‘बाहुनको मेला जान्छु । दिउँसो १२ बजेतिर मेलामा भात खाएपछि साँझ खानै पर्दैन ।' बिहान कुमार आफैंले खोले पकाउँछन् । तिउन-तरकारी पकाउँदैनन् । खोलेमा नुन हालेर भाइ र बज्यैलाई पनि खुवाउँछन् ।

आफू पनि खान्छन् । साँझ पनि उनी आफैंले पकाउँछन् । डन्नुको घरभित्र अन्न राख्ने भकारी पनि छैन । गोदाम पनि छैन । केबल अँगेनु छ । पकाउने चलाउने र खाने दुईचार भाँडाकुँडा, एक पोका नुन र एकतिहाइ बोराजति चामलमात्र छ । राहतमा पाएको ओढ्ने र ओछ्याउने लुगा कुनामा डल्लो पारेर राखेका छन् । घरमा बिजुली बत्ती छैन । मिटरबक्स किन्ने र महसुल तिर्ने पैसा नहुँदा घरमा बत्ती नजोडेको उनले बताए । ‘बत्ती जोडेको छैन । जोड्ने खर्च नभएर नजोडेको', उनले भने, ‘बत्ती नभए पनि ठिकै छ । भए यी भान्टाङभुन्टुङ रमाउँथे होलान् ।' कुमार र विकास दुवैजना स्कुल जाँदैनन् । स्थानीय शिक्षक अनुप चेपाङका अनुसार उनीहरूलाई पढ्न पठाउने अभिभावक छैनन् ।

‘डन्नु एकाबिहानै मेलामा जान्छ । साँझमात्र फर्कन्छ', उनी भन्छन्, ‘बज्यै छिन् ८० वर्षकी । जन्मजात मुख बोल्दिनन् । बिहान १० बजे कसले पढ्न पठाउने ? ' दुई दाजुभाइले गाउँ चाहारेर दिन बिताउने गरेको उनले बताए । ‘कसले केही देला र खाउँला भनेर घरघर चाहार्छन् यी दाजुभाइ । तर यहाँ सबैको अवस्था उस्तै हो । कसले के दिने ? ' नजिकैको प्रजाज्योति प्राविमा सरकारले विद्यार्थीलाई खाजाको व्यवस्था गरेको छ । खाजाको लोभले पनि उनीहरू विद्यालय जाँदैनन् । डन्नुका अनुसार विकासको स्कुल जाने उमेर भएको छैन । कुमार जानै मान्दैन । स्थानीय सन्तोष चेपाङका अनुसार डन्नु अलि बढी गरिब भए पनि छतिवनगैराका सबैको अवस्था उस्तै हो । गत वर्षको भूकम्पका कारण खाने, बस्ने कुरा राहतमा पाए । ‘नत्र घ्याल्चोकतिरका मान्छेको फाटेको लुगा ल्याई सिएर ओढ्नेओछ्याउने बनाउँछन्', उनले भने, ‘खानेकुरा पनि कोही एक छाक खाएर पेट पाल्छन् । कोही अरूको काम गरेर साँझबिहान पेट पाल्छन् त कोही कन्दमूल खाएरै ।'

अरू ठाउँ विकास हुँदै गए पनि छतिवनगैराका चेपाङहरूको पुस्तौंदेखिको गरिबी हट्न नसकेको उनको भनाइ छ । चेपाङहरू भिरालो पखेरामा बसेकाले पनि गरिब भएको उनको भनाइ छ । ‘गरिब हुनुको मुख्य कारण यहाँको जमिन राम्रो छैन', उनले भने, ‘राम्ररी जोत्यो, सबै माटो बगाएर त्रिशूलीमा पु¥याउँछ । मल हाले पनि बगाएर त्रिशूलीको माछालाई हुन्छ । अनि खेती राम्रो हुँदैन ।' धेरथोर कमाएको पैसा पनि जोगाएर राख्नुपर्छ भन्ने चेतना नभएको उनको ठम्याइ छ । ‘बाहिर गएर ढुंगामुढाको काम गरेर कमाएको पैसा पनि रक्सी खाएरै सिध्याउँछन्', सन्तोष भन्छन्, ‘जागिर खान पढाइ छैन । विदेश गएर कमाउने पनि छैनन् ।'

स्थानीय अनुप चेपाङका अनुसार चेपाङहरू सानैमा बिहे गर्ने, धेरै सन्तान जन्माउने गरेकाले पनि पछि परेका हुन् । ‘अधिकांशको बिहे १५ वर्षमै हुन्छ', उनले भने, ‘अनि बच्चा जन्मा'को जन्मायै गर्ने, हुर्काउने, पाल्ने गर्दैमा जीवन बित्छ । कसरी प्रगति हुने ? ' राम्रो प्रशिक्षण गर्न सकेमा यहाँका चेपाङको पनि अवस्था सुधार हुने विश्वास उनले व्यक्त गरे ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger