Headlines News :
Home » » अनमोलको आकाशिँदो मोलः कति स्वभाविक कति अतिरञ्जित ?

अनमोलको आकाशिँदो मोलः कति स्वभाविक कति अतिरञ्जित ?

Written By news on Wednesday, 15 June 2016 | 04:16


पछिल्लो समय नेपाली चलचित्र उद्योगलाई एक २२ वर्षे ठिटोले हल्लाइदिएका छन् । हालै उनले २० लाख पारिश्रमिकमा एउटा फिल्म साइन गरे ।

जहाँ एउटा औसत फिल्मको बजेट ५०-६० लाख हुन्छ, त्यहाँ एउटा हिरोलाई २० लाख रुपैयाँ दिन निर्माता तयार भएकोमा धेरै आश्चर्यमा परेका छन् । अनमोलको यो ‘भाउ’ स्वभाविक हो कि अतिरञ्जित भन्ने प्रश्न उठेको छ । तर, अनमोलको उपस्थितिले आफ्नो फिल्मको ब्यापारमा कम्तिमा २० लाखको फरक पार्छ भन्नेमा निर्माता विश्वस्त देखिन्छन् ।

निर्माताको यो विश्वासको आधार भनेको अनमोलले एकपछि अर्को गरी राखिरहेको सफलताको रेकर्ड हो । जहाँ अधिकांस फिल्महरुले लगानी उठाउन संघर्ष गर्छन्, अनमोलले लगातार हिट फिल्म दिइरहेका छन् । होस्टेल, जेरी, ड्रिम्स हुँदै गाजलुसम्म आइपुग्दा उनले जबरजस्त रुपमा आफूलाई सुपरस्टार सावित गरेका छन् । केही बर्ष अगाडि राजेश हमाल, निखिल उप्रेती, विराज भट्टको नामले चलचित्र त चल्थ्यो । तर, अनमोलको स्टारडम अर्कै उचाइमा पुगेको छ ।

आखिर अनमोलमा त्यस्तो चिज के छ, जसले उनलाई चार वर्षमै यो उचाईमा पुर्‍यायो ? आउनुस, उनका सवल पक्षबारे चर्चा गरौं ।

१. एक्स्ट्रा लुक्स: अनमोलको अनुहार नै उनको प्रमुख आकर्षण मान्नेहरु धेरै छन् । परम्परागत नेपाली हिरोहरुभन्दा उनको अनुहारको आकृति अलिकति ‘युनिक’ छ । कोरियन जस्तो लाग्ने लुक्सले विशेषत युवतीहरुलाई एकै नजरमा लोभ्याउँछ । त्यसैले अनुहार उनको पहिलो बिकाउ वस्तु हो ।

२. स्टाइलिस व्यक्तित्वः अनमोल फिल्मभित्र जति स्टाइलिस देखिन्छन् बाहिर पनि त्यस्तै छन् । आफु सुहाउँदो ड्रेसअप गर्छन् । सार्वजनिक कार्यक्रमहरुमा जाँदा ड्रेसअपदेखि हेयर स्टाइलसम्ममा निकै ध्यान दिएको पाइन्छ । समग्रमा एउटा सुपरस्टारको छवि उनको व्यक्तित्वमा झल्किन्छ ।

३. स्टारडमः एउटा स्टारका लागि आफ्नो स्टारडम मेन्टेन गर्नु पनि एउटा चुनौति हो । सबैले यो जान्दैनन् र सक्दैनन् । केही समयअघि उनी आफ्नो चलचित्र ड्रिम्स हेर्न हलमा पुग्दा चार जना बडिगार्ड लिएर गए । कुनै पनि नेपाली हिरोले बडिगार्ड लिएर हिँडेको त्यो पहिलोपटक थियो ।

उनी चलचित्रसम्वन्धि सानातिना सबै कार्यक्रममा पुग्दैनन्, खास-खास ठाउँमा मात्रै देखिन्छन् । अन्तरवार्ताहरुमा सन्तुलित भएर बोल्छन् । यी सबै उनको स्टारडमका लक्षण हुन् ।

४. चुजी एक्टरः अनमोलले चार वर्ष लामो फिल्मी करिअरमा केवल चार फिल्म खेले । जबकि पहिलो फिल्म हिट हुनासाथ उनलाई अफरहरुको ओइरो लागेको थियो । फिल्म साइन गर्ने सवालमा उनी एकदमै चुजी देखिए । विगतमा राजेश हमालले जस्तो पाएजति फिल्ममा अभिनय गर्दै हिँडेको भए उनले यतिबेलासम्म दुई दर्जन फिल्म आइसक्थे होला । तर, आजको स्टाटसमा उनी सायदै पुग्थे ।

५. आफ्नो फिल्ममा सिरियसः आफूले खेल्ने फिल्मप्रति अनमोल अत्यन्तै उत्तरदायि देखिन्छन् । आफ्नो भूमिका मात्रै नभएर फिल्मको हरेक पक्षमा ध्यान दिन्छन् । को स्टारदेखि म्युजिकसम्ममा चासो राख्छन् । स्त्रिmप्टमा नै दख्खल दिन पनि पछि पर्दैनन् । कलिलो उमेरमा नै यो स्तरको गम्भीरताले उनी लामो रेसका घोडा हुन् भन्ने संकेत गर्छ ।

अनमोलका दुर्वल पक्ष पनि थुप्रै छन् । तीनको पनि चर्चा गरौं ।

१. अभिनय कमजोरः एउटा अभिनेतामा हुनुपर्ने पहिलो गुण भनेको अभिनय हो । तर, अनमोल अभिनयमा कमजोर रहेको आरोप लाग्ने गरेको छ । चारवटा फिल्मसम्म आइपुग्दा उनको अभिनयमा निखार आउन बाँकी नै रहेको देखिन्छ । धेरै दर्शकलाई उनको डाइलग बोल्ने स्टाइल पनि अलिकति बनावटी लाग्छ ।

२. विविधताको कमिः अहिलेसम्म अनमोलले कुनै पनि यस्तो भूमिका गरेका छैनन्, जसमा उनको अभिनय कलाको परिक्षा होस् । चारवटै फिल्ममा उनको भूमिका लगभग उस्तै-उस्तै नै छ । फलस्वरुप उनको अभिनयमा पनि नयाँपनको अभाव देखिन्छ । अनमोलको आलोचना हुने एउटा पक्ष यो पनि हो । एउटै खालको भूमिकालाई अझै निरन्तरता दिइरहे भने विस्तारै उनका डाइहार्ड फ्यान पनि वाक्क बन्ने छन् । अभिनयको अन्तरालकै कारण बौद्धिक दर्शकले अनमोललाई दयाहाङ राईको छेउछाउ पनि पनि मान्दैनन् ।

३. डान्स जान्दैनन्ः बलिउडमा जस्तै नेपाली चलचित्रमा पनि संगीतलाई अपरिहार्य तत्वका रुपमा समावेश गरिन्छ । संगीतसँग जोडिएर आउँछ नृत्य । अहिलेसम्मका चलचित्र हेर्दा अनमोलको नृत्य कमजोर होइन, दयनीय देखिएको छ । उनका बाबु भुवन केसीको डान्स जिरो थियो, अनमोल पनि अहिलेसम्म बाबुकै पदचिन्हमा छन् । अनमोलको कमजोर डान्सका कारण नै उनका फिल्ममा बढि सफ्ट मेलोडीका गीतहरु राखिन्छ ।

३. सानो घेराः चुजी हुनु अनमोलको सवल पक्ष हो तर अनमोल अहिलेसम्म सानो घेरामा कैद भएको प्रतित हुन्छ । उनले चार वर्षमा चारवटा फिल्ममा अभिनय गरे जसमध्ये तीनवटा फिल्ममा एउटै निर्देशक थिए । बाँकी एउटा फिल्म उनकै पिता भुवन केसीले निर्देशन गरेका थिए । अहिले नेपाली चलचित्र उद्योगमा प्रतिभाशाली निर्देशकहरुको कमि छैन । तर, अनमोलले उनीहरुलाई विश्वास नगरेको प्रतित हुन्छ ।

रेट कति ?
अनमोलको स्टारडम नेपाली चलचित्र उद्योगकै लागि सुखद समाचार हो । नेपाली हिरो भनेपछि नाक खुम्च्याउने र हलिउड-बलिउडका स्टारहरुप्रति क्रेजी हुने युवा जमातले अनमोललाई मन पराएको छ । अनमोलको अबको चुनौति भनेको यो क्रेजलाई निरन्तरता दिनु हो ।

अनमोल अहिले पनि आफ्नो करिअरको प्रारम्भिक चरणमा नै छन् । यतिबेला उनले पैसा होइन, निर्देशक र स्त्रिmप्ट हेरेर फिल्म साइन गर्नुपर्छ । उनले लिएको २० लाख पारिश्रमिक नेपाली चलचित्रको धरातलीय यथार्थसँग मेल खाँदैन । उनले यसैलाई आफ्नो रेट बनाए भने आत्मघाति हुन सक्छ ।

अनमोलले सम्झौता गरेर भए पनि राम्रा निर्देशकहरुसँग फिल्म खेल्नु आवश्यक छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger