|
|
असार २ २०७३ काठमाडौं उपत्यकाभित्र राँगाभैंसी भित्र्याउन निषेध गरिने भएको छ । काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा मध्यपुर ठिमी, भक्तपुर र कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरूको कार्यदलले यो निर्णय गरेको हो ।
अब उपत्यकाबाहिरका वधशालामा वध गरी चिस्यानमा राखिएका स्वस्थ र गुणस्तरीय मासुमात्र उपत्यकामा ल्याई बिक्री गर्न दिइनेछ । उपत्यकाभित्र व्यवस्थित वधशाला नै नभएको र अव्यवस्थित रूपमा सञ्चालित मासुपसल सुधार गर्न नसक्ने भएपछि विज्ञको सल्लाहमा गठित समितिले राँगाभैंसी भित्र्याउने प्रक्रिया नै बन्द गर्न लागेको हो । भेटेरिनरी कार्यालय, पशु सेवा विभाग, पशुपक्षी बजार प्रवद्र्धन र वधशाला व्यवसायीको सहभागितामा कार्यसमिति नै गठन गरी यो निर्णय भएको हो ।
महानगरका अनुसार उपत्यकामा पूर्ण रूपमा राँगाभैंसी निषेध हुन भने ३ वर्ष लाग्नेछ । नेपालमा पहिलोपटक डेनिस सरकारको सहयोगमा हेटौंडामा स्तरीय वधशाला निर्माण भएको थियो । उक्त वधशालाको उद्देश्य काठमाडौंका लागि राँगाभैंसी र खसीको मासु आपूर्ति गर्नु रहेको थियो । तर, स्थापनाको करिब ३० वर्षपछि मात्र सञ्चालनमा आयो । २०६६ मा सुनसरीको दुहबीमा दोस्रो र सोही वर्ष इनरुवा, सुनसरीमा तेस्रो ठूलो क्षमताको वधशाला सुरु भयो । यस्तै, बारामा २ तथा मलंगवा, नेपालगन्ज, बर्दिया र धनगढीमा गरी हाल नेपालमा ९ वटा वधशाला छन् । प्रतिवधशाला निर्माणमा पुँजीगत लगानी दस करोडदेखि २५ करोडसम्म भएको महानगरले जनाएको छ । तर तिनको खासै प्रयोग भने हुन सकेको छैन । कार्यसमितिले ती वधशालाहरूको अनुगमन पनि गरेको थियो ।
ती वधशालाहरूमा दैनिक २ सय राँगाभैंसी वध गर्न सक्ने क्षमता छ । उपत्यकाबाहिरका वधशालामा वध गरी तयारी मासु ल्याउँदा ढुवानी सस्तो पर्ने, चिस्याएको स्वच्छ र स्वस्थ मासुमात्र उपत्यका भित्रिने, उपत्यकाको वातावरणमा स्वच्छता राख्न थप सहयोग पुग्ने समेत महानगरले जनाएको छ । यसबाट भेटेरिनरी डाक्टरबाट निरीक्षण गरिएको स्वस्थ मासुमात्र काठमाडौं भित्रिने अपेक्षा गरिएको छ । उपभोक्ताले सस्तो मूल्यमा उच्च गुणस्तरयुक्त स्वस्थ मासु उपभोग गर्न पाउने पनि अधिकारीले बताए । चिस्यानयुक्त ट्रकमा प्याकिङ गरी उपत्यकामा रहेका चिस्यान केन्द्रबाटै होलसेल र खुद्रा पसललाई वितरण गरिनेछ ।
मासुको पुख्र्यौली पेसा अँगाल्दै आएका व्यवसायीलाई मात्र मासु बिक्रीमा सहभागी गराइने समेत महानगरले जनाएको छ । हालसम्म मासु उत्पादनका लागि अधिकांश जनावर तराईबाट ल्याई उपत्यकाका नदीखोलाको बगरमा वध गर्ने गरिन्छ । ती मासु छरिएर रहेका पसलहरूमा अव्यवस्थित रूपमा पुर्याइन्छ । कतिपयले सडकमै वध गर्ने गरेका छन् । राँगाभैंसी ट्रकमा लोड गरी काठमाडौंसम्म ल्याउने, सार्वजनिक स्थानमा वध गर्ने र खुला रूपमा पसल पुर्याउने प्रक्रिया अव्यावहारिक, अपरिपक्व, अवैज्ञानिक र स्वास्थ्यलाई प्रतिकूल असर पार्ने किसिमको भएको भेटरिनरी विज्ञ डा. बोधनाथ अधिकारीले बताए । यी प्रक्रियालाई सुधार गर्न समितिले जिउँदो राँगा/भैंसी उपत्यकामा ल्याउन निषेध गर्ने पक्रिया थालिएको उनले बताए ।
महानगरका अनुसार उपत्यकाका अधिकांश मासु पसल मासु ऐन २०५५ विपरीत छन् । जिउँदो औसत ३ सय किलोको राँगा/भैंसीबाट १ सयदेखि १ सय ५० किलो मासु मात्र उत्पादन हुन्छ । जसमा २५ देखि ३० किलो छाला, ३५ देखि ४० किलो हड्डी, १० देखि १५ लिटर रगत, १० देखि १५ किलो बोसो, ३५/४० किलो लादी निस्कन्छ । प्रतिजनावर दिनहुँ झन्डै १ सय २५ किलो फोहोर निस्कन्छ । दैनिक ७ सय वटा राँगा/भैंसी काटिँदा ८७ हजार ५ सय किलो फोहोर निस्कने गरेको तथ्यांक महानगरको छ । मासुको स्वच्छता कायम गर्न र वातावरण सफा राख्न यस्तो प्रक्रिया थालिएको अधिकारीले बताए ।
मासुभन्दा पनि फोहोर बढी निस्कने र उक्त फोहोर व्यवस्थापन गर्न उपत्यकामा पर्याप्त खाली जग्गा पनि नभएकाले राँगा/भैंसीको आयात निषेध गरिने निर्णय भएको महानगरले जनाएको छ । तर उपत्यकामा व्यवस्थित वधशाला निर्माण गर्न सक्ने अवस्था नभएको अधिकारीको भनाइ छ । उपत्यकामा राँगा, भैंसीको आयात रोकिएसँगै हाल सञ्चालित अव्यवस्थित वधशाला स्वत: हट्ने अपेक्षा महानगरको छ । उपत्यकाका तीन जिल्लामा दैनिक राँगा ७ सय वटा, खसीबोका १५ सय, कुखुरा ७०, बंगुर १ सय ५० टन, माछा ७ टन र आयातित मासु १० टन भित्रिने महानगरपालिकाको तथ्यांकमा उल्लेख छ ।
|
|
Post a Comment