Headlines News :
Home » » काठमाडौं उपत्यकाभित्र जिउदो राँगा–भैंसी भित्र्याउन नपाइने,..

काठमाडौं उपत्यकाभित्र जिउदो राँगा–भैंसी भित्र्याउन नपाइने,..

Written By news on Wednesday, 15 June 2016 | 23:35

काठमाडौं उपत्यकाभित्र जिउदो राँगा–भैंसी भित्र्याउन नपाइने, अब उपत्यकाबाहिरका वधशालामा वध गरी चिस्यानमा राखिएका स्वस्थ र गुणस्तरीय मासुमात्र उपत्यकामा ल्याई बिक्री गर्न दिइनेछ मासुको पुख्र्यौली पेसा अँगाल्दै आएका व्यवसायीलाई मात्र मासु बिक्री गर्न पाईने

असार २ २०७३ काठमाडौं उपत्यकाभित्र राँगाभैंसी भित्र्याउन निषेध गरिने भएको छ । काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा मध्यपुर ठिमी, भक्तपुर र कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरूको कार्यदलले यो निर्णय गरेको हो ।

अब उपत्यकाबाहिरका वधशालामा वध गरी चिस्यानमा राखिएका स्वस्थ र गुणस्तरीय मासुमात्र उपत्यकामा ल्याई बिक्री गर्न दिइनेछ । उपत्यकाभित्र व्यवस्थित वधशाला नै नभएको र अव्यवस्थित रूपमा सञ्चालित मासुपसल सुधार गर्न नसक्ने भएपछि विज्ञको सल्लाहमा गठित समितिले राँगाभैंसी भित्र्याउने प्रक्रिया नै बन्द गर्न लागेको हो । भेटेरिनरी कार्यालय, पशु सेवा विभाग, पशुपक्षी बजार प्रवद्र्धन र वधशाला व्यवसायीको सहभागितामा कार्यसमिति नै गठन गरी यो निर्णय भएको हो ।

महानगरका अनुसार उपत्यकामा पूर्ण रूपमा राँगाभैंसी निषेध हुन भने ३ वर्ष लाग्नेछ । नेपालमा पहिलोपटक डेनिस सरकारको सहयोगमा हेटौंडामा स्तरीय वधशाला निर्माण भएको थियो । उक्त वधशालाको उद्देश्य काठमाडौंका लागि राँगाभैंसी र खसीको मासु आपूर्ति गर्नु रहेको थियो । तर, स्थापनाको करिब ३० वर्षपछि मात्र सञ्चालनमा आयो । २०६६ मा सुनसरीको दुहबीमा दोस्रो र सोही वर्ष इनरुवा, सुनसरीमा तेस्रो ठूलो क्षमताको वधशाला सुरु भयो । यस्तै, बारामा २ तथा मलंगवा, नेपालगन्ज, बर्दिया र धनगढीमा गरी हाल नेपालमा ९ वटा वधशाला छन् । प्रतिवधशाला निर्माणमा पुँजीगत लगानी दस करोडदेखि २५ करोडसम्म भएको महानगरले जनाएको छ । तर तिनको खासै प्रयोग भने हुन सकेको छैन । कार्यसमितिले ती वधशालाहरूको अनुगमन पनि गरेको थियो ।

ती वधशालाहरूमा दैनिक २ सय राँगाभैंसी वध गर्न सक्ने क्षमता छ । उपत्यकाबाहिरका वधशालामा वध गरी तयारी मासु ल्याउँदा ढुवानी सस्तो पर्ने, चिस्याएको स्वच्छ र स्वस्थ मासुमात्र उपत्यका भित्रिने, उपत्यकाको वातावरणमा स्वच्छता राख्न थप सहयोग पुग्ने समेत महानगरले जनाएको छ । यसबाट भेटेरिनरी डाक्टरबाट निरीक्षण गरिएको स्वस्थ मासुमात्र काठमाडौं भित्रिने अपेक्षा गरिएको छ । उपभोक्ताले सस्तो मूल्यमा उच्च गुणस्तरयुक्त स्वस्थ मासु उपभोग गर्न पाउने पनि अधिकारीले बताए । चिस्यानयुक्त ट्रकमा प्याकिङ गरी उपत्यकामा रहेका चिस्यान केन्द्रबाटै होलसेल र खुद्रा पसललाई वितरण गरिनेछ ।

मासुको पुख्र्यौली पेसा अँगाल्दै आएका व्यवसायीलाई मात्र मासु बिक्रीमा सहभागी गराइने समेत महानगरले जनाएको छ । हालसम्म मासु उत्पादनका लागि अधिकांश जनावर तराईबाट ल्याई उपत्यकाका नदीखोलाको बगरमा वध गर्ने गरिन्छ । ती मासु छरिएर रहेका पसलहरूमा अव्यवस्थित रूपमा पुर्‍याइन्छ । कतिपयले सडकमै वध गर्ने गरेका छन् । राँगाभैंसी ट्रकमा लोड गरी काठमाडौंसम्म ल्याउने, सार्वजनिक स्थानमा वध गर्ने र खुला रूपमा पसल पुर्‍याउने प्रक्रिया अव्यावहारिक, अपरिपक्व, अवैज्ञानिक र स्वास्थ्यलाई प्रतिकूल असर पार्ने किसिमको भएको भेटरिनरी विज्ञ डा. बोधनाथ अधिकारीले बताए । यी प्रक्रियालाई सुधार गर्न समितिले जिउँदो राँगा/भैंसी उपत्यकामा ल्याउन निषेध गर्ने पक्रिया थालिएको उनले बताए ।

महानगरका अनुसार उपत्यकाका अधिकांश मासु पसल मासु ऐन २०५५ विपरीत छन् । जिउँदो औसत ३ सय किलोको राँगा/भैंसीबाट १ सयदेखि १ सय ५० किलो मासु मात्र उत्पादन हुन्छ । जसमा २५ देखि ३० किलो छाला, ३५ देखि ४० किलो हड्डी, १० देखि १५ लिटर रगत, १० देखि १५ किलो बोसो, ३५/४० किलो लादी निस्कन्छ । प्रतिजनावर दिनहुँ झन्डै १ सय २५ किलो फोहोर निस्कन्छ । दैनिक ७ सय वटा राँगा/भैंसी काटिँदा ८७ हजार ५ सय किलो फोहोर निस्कने गरेको तथ्यांक महानगरको छ । मासुको स्वच्छता कायम गर्न र वातावरण सफा राख्न यस्तो प्रक्रिया थालिएको अधिकारीले बताए ।

मासुभन्दा पनि फोहोर बढी निस्कने र उक्त फोहोर व्यवस्थापन गर्न उपत्यकामा पर्याप्त खाली जग्गा पनि नभएकाले राँगा/भैंसीको आयात निषेध गरिने निर्णय भएको महानगरले जनाएको छ । तर उपत्यकामा व्यवस्थित वधशाला निर्माण गर्न सक्ने अवस्था नभएको अधिकारीको भनाइ छ । उपत्यकामा राँगा, भैंसीको आयात रोकिएसँगै हाल सञ्चालित अव्यवस्थित वधशाला स्वत: हट्ने अपेक्षा महानगरको छ । उपत्यकाका तीन जिल्लामा दैनिक राँगा ७ सय वटा, खसीबोका १५ सय, कुखुरा ७०, बंगुर १ सय ५० टन, माछा ७ टन र आयातित मासु १० टन भित्रिने महानगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger