|
|
‘मुसाले बनाएका दुलाबाट कोठामा पानी भरिन्छ,’ उनले भनिन्, ‘पानी पर्न थालेपछि कहाँ भागेर ज्यान जोगाउने जस्तो हुन्छ ।’ ०७२ वैशाख १२ को भूकम्पले बस्न नहुने गरी चर्किएको उनको घर वैशाख २९ को धक्काले माटोमा मिलायो ।
चार जनाको परिवार मुस्किलले बाँच्यो । अन्नपात र भाँडाकुँडा निकाल्न पाएनन् । ‘ज्यान जोगाउन बसपार्कमा पाल हालेर बस्यौं,’ उनले भनिन्, ‘सरकारले गर्ला नि त भन्यो, अर्को वर्षा जान लाग्दा पनि घर बनाउन सुरसार गर्दैन ।’
सदरमुकाम धुलिखेलबाट एक किलोमिटर टाढाको नयाँगाउँका ९५ घरधुरी पूरै भत्केका थिए । तामाङ जातिको बसोबास रहेको बस्तीका पीडितले पुरानो घरकै जस्तापाता प्रयोग गरेर टहरो बनाएका हुन् ।
जर्मनीको एक संस्थाले दिएका जस्तापाताबाहेक पीडितले केही पाएका छैनन् । रविओपी ६ की मेनुका सार्कीका तीन साना नानी छन् । वर्षा सुरु भएकाले आफ्नो र बालबच्चाको ज्यान जोगाउने चिन्तामा छिन् उनी ।
‘अब पहिरो जान थाल्छ, तलबाट बगाउला कि माथिबाट थिच्लाजस्तो हुन्छ,’ उनले भनिन्, ‘सानो घर बनाउन पाए ज्यान जोगाउन सकिन्थ्यो कि ।’ जिल्ला भू–संरक्षण कार्यालयका अनुसार जिल्लाका करिब दुई हजार घरधुरी पहिरोको जोखिममा छन् ।
सम्झौता हुन सकेन
जनशक्ति अभाव र पीडितको अवरोधका कारण जिल्लामा भूकम्पपीडितसँग आवास अनुदान सम्झौता हुन सकेको छैन ।
६३ गाविस र दुई नगरपालिकाको लाभग्राही सूची प्रकाशित भइसकेको छ । तीमध्ये रविओपी र पात्लेखेतमा मात्रै सम्झौता भएका छन् । पीडितको व्यक्तिगत खाता खोल्नेबारे निर्णय नहुँदा रविओपीमा आवास अनुदानका लागि आएको चार करोड ८५ लाख रुपैयाँ जिविसको खातामै छ ।
रविओपी गाविसमा सात सय ७० र पात्लेखेतमा एक सय ७० पीडितसँग मात्र सम्झौता भएको छ ।
सांसद नै उपस्थित भएर वैशाख १२ बाट सुरु भएका पाँचखाल, कटुञ्जे र चलाल गणेशस्थान गाविसमा पनि जनशक्ति अभाव र विवादका कारण सम्झौता हुन सकेको छैन । पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका सूचना अधिकृत चञ्चलकुमार खड्का क्षत्रीले भने, ‘कर्मचारी व्यवस्थापन हुनेबित्तिकै सम्झौताले गति लिन्छ ।’
२९ ठाउँमा सामूहिक आवास
तत्काल व्यक्तिगत आवास बनाउने अवस्था नभएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत २९ गाविसमा सामूहिक आवास निर्माण गर्न लागिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले ठेक्का आह्वानसमेत गरिसकेको छ । नेपाली सेनाको खडग दल गणले पनि तत्काल पाँच गाविसमा निर्माण गर्न लागेको छ ।
‘१२ गाविसका लागि ठेक्का आह्वान गरिसकेका छौं,’ भवनका सूचना अधिकारी अशोक अधिकारीले भने, ‘पाँच गाविसको स्वीकृत भएर निर्माणको चरणमा छ ।’
उनका अनुसार फलामेटार र शंखुपाटीचौरमा सेनाले निर्माण गर्ने छ । चौवास, चलाल गणेशस्थान, च्यासिंखर्क, कलाँती भूमिडाँडा, शिखरआम्बोटे गाविसमा भवनले निर्माण थाल्ने छ । सिमेन्ट, प्रिफ्याब र जस्तापाताले बन्ने संरचनामा एक सय ६० परिवार अटाउने छन् । शौचालय, भान्सासहितका संरचना हुने छन् ।
‘बेरोजगार’ भए इन्जिनियर
पुनर्निर्माणको अनुगमन र निर्माण गरिएका घरको स्वीकृतीलगायत कामका लागि खटिएका इन्जिनियर काम सुरु नहुँदा ‘बेरोजगार’ जस्तै बनेका छन् । आवास अनुदान सम्झौतामा सघाउने भनिए पनि त्योसमेत सुरु हुन सकेको छैन ।
डिभिजन कार्यालयका इन्जिनियर अशोक अधिकारीका अनुसार जिल्लामा खटिएका एक सय ७८ इन्जिनियरमध्ये एक सय ३८ मात्रै हाजिर भएका छन् । ३/३ दिन केन्द्र र सहरी विकास तथा भवन डिभिजनको अनुशिक्षणपछि गाउँमा खटिएका इन्जिनियर गुनासो संकलन, जोखिमयुक्त तरिकाले बसेको परिवारको लगत र पालमुनि बस्ने पीडितको तथ्यांक लिइहरेका छन् ।
‘जे कामका लागि खटिएका हौं, त्यो गर्न पाइएको छैन,’ रयाले बिहाबर गाविसमा खटिएका इन्जिनियर विनय खरेलले भने, ‘मुख्य काम नभए पनि अरू काममा संलग्न छौं ।’ ७५ गाविसमा १/१ र पाँच नगरपालिकामा ३/३ इन्जिनियर खटाइएको छ ।
खटिएका इन्जिनियरले भूकम्पप्रतिरोधी प्रमाणित गरेपछि मात्रै अर्को किस्ता बापतको रकम वितरण हुन्छ । उनीहरूले पाँच वर्षसम्म गाविसमै बसेर काम गर्ने छन् ।
जनजीवन कष्टकर
सिन्धुपाल्चोक– बाह्रबिसे बजारबाट तीन घण्टा गाडी र केही समय हिँडेपछि पुगिन्छ गोल्ची । करिब दुई हजार ६ सय मिटरमा रहेको उक्त गाउँ विकट बस्तीको नमुना हो । त्यहाँ बस्ने शेर्पा, तामाङ र गुरुङ बस्तीका आफ्नै पीडा छन् । हरेकको जीवनशैली कष्टपूर्ण छ ।
मार्मिङ ३ मा पर्ने उक्त गाउँका सुकु तामाङ दम्पती अझै पालले बेरेको टहरामा बस्छन् । महाभूकम्पले पुख्र्याैली घर ध्वस्त बनाएदेखि पालमुनि रात कटाउन बाध्य छन् । ‘अघिल्लो बर्खामा त नयाँ पाल पाएका थियांै, जेनतेन धान्यो तर त्यो च्यातिइसक्यो । यसपालि धान्लाजस्तो लाग्दैन,’ तामाङले भने ।
ओढ्ने, ओछ्याउने कपडा नहुँदा पालमा रात काट्न कठिन भएको सानुमाया तामाङले बताइन् । ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका वृद्ध दम्पती दमका रोगी पनि हुन् ।
आर्थिक अभावका कारण दुवैले उपचारसमेत गर्न सकेका छैनन् । मार्मिङ ४ का ब्राङगका काले शेर्पा भने अरूले छाडेको चर्किएको घरमा आश्रय लिइरहेका छन् । उनी भन्छन्, ‘यो घरका मान्छे काठमाडौं गएका छन् । बस्ने ठाउँ नभएकाले मर्मत गरेर परिवारलाई यहीं राखेको छु ।’
उनका अनुसार चर्किएको घरमा ३५ भन्दा बढी घरधुरीले आश्रय लिइरहेका छन् । मार्मिङका २ सयभन्दा बढी घरधुरीका परिवार अझै गोठमा बस्न बाध्य छन् । भूकम्पपछि गोल्चीमा पानीको चरम अभाव छ ।
स्थानीय किसान आलु नफलेपछि थप चिन्तामा छन् । आम्दानीको मुख्य स्रोत आलु खेती भए पनि उब्जनी नभएपछि मार्मिङवासी चिन्तित छन् ।
गोल्ची आलुका लागि प्रसिद्ध छ । मार्मिङ ३ गोल्चीका नोर्वु तामाङले बर्सेनि आलु बेचेर आफ्नो परिवार पाल्दै आएका थिए । भूकम्पपछि उत्पादन नै हुन छाडेकाले उनी निराश छन् । उनले भने, ‘लेकाली जातको आलुको माग बढी भएकाले सबै खेतमा लगाएको थिएँ तर एक गेडो पनि फलेन ।’
सूचीमा नामै छैन
रसुवा– सरकारले दिने २ लाख अनुदानको सूचीमा वास्तविक भूकम्पपीडितको नाम छुटेको छ । घरै नभत्केकाहरूको नाम समाबेश छ । तर, वास्तविक पीडित छुटेका हुन् ।
टहरामा कष्टपूर्ण जीवन गुजारिरहेका पीडितको नाम छुटेपछि उनीहरू सरकारी सुविधाबाट वञ्चित भएका छन् । दुई आना जग्गामा छाप्रो हालेर बसेकी गेर्खु ३ की ६० वर्षीया माइली रानामगरले पीडितको सूचीमा आफ्नो नाम नभएको गुनासो गरिन् । ‘अन्यत्र जमिन छैन, सरकारले दिएको पैसाले घर बनाउँला भनेको त नामै परेन,’ उनले भनिन् ।
प्राविधिकले लगत संकलन गर्दा दोबाटोमै फोटो खिचेको र हर्ट नामक संस्थाले लगत संकलन गरेको एक पीडितले बताए ।
संस्थाले ल्याएका प्राविधिक सिकारु परेकाले नाम छुटाएको हुन सक्ने गेर्खुटारका स्थानीयवासीको आरोप छ । उक्त गाविसमा मात्रै ९० जना पीडितको नाम छुटेको छ । जिल्लाभर लगत संकलनमा खटिएका सुपरभाइजर अशोक ढकालले प्राविधिकहरूको बचाव गर्न खोजे ।
‘तथ्यांक विभागले नै ग्रेडअनुसार राख्दा पीडित छुटेका हुन सक्छन्,’ उनले भने । पीडितलाई अवस्था हेरेर एकदेखि ५ ग्रेडसम्म छुट्टयाइएको थियो । अधिकांशलाई ४ वा ५ ग्रेडमा राख्दा नाम छुट्ने सम्भावना बढ्ने प्राविधिकको तर्क छ ।
जिल्लाका ४१ गाविसको तथ्यांक सार्वजनिक भएको छ । २० गाविस र एक नगरपालिकाको अझै बाँकी छ । घरघरे गाविसका सचिव रामहरि आचार्यले भने, ‘नाम छुट्यो भन्दै डेलिगेसन आउँछन्, के भनेर जवाफ दिने ?’
|
|
Post a Comment