
काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिजेरियन सेक्सन (सी सेक्सन) अर्थात् अपरेसन गरी बच्चा जन्माउने कार्यलाई बढीमा १५ प्रतिशतमा सीमित राख्न अपिल गरेको छ । उसले १० अप्रिल २०१५ मा विज्ञप्ति जारी गरेर आवश्यकतामा मात्रै सी सेक्सन गर्न र अनावश्यक अपरेसन नगर्न सुझाएको छ । इन्टरनेसनल हेल्थ केयर कम्युनिटीले पनि सन् १९८५ मै सी सेक्सनलाई १० देखि १५ प्रतिशतमा सीमित राख्न सुझाएको थियो । तर, विश्व स्वास्थ्य संगठनको अपिललाई पाखा लगाउँदै नेपालका निजी अस्पतालको सी सेक्सन दर हेर्ने हो भने कहालीलाग्दो देखिन्छ । अझ देशकै राजधानी काठमाडौँका केही निजी अस्पतालको सी सेक्सन दर त ९३ प्रतिशतसम्म पुगेको छ । आर्थिक वर्ष २०७१/०७२ मा काठमाडौँ जिल्लामा २५ हजार ४ सय ६२ महिला सुत्केरी भए । सुत्केरी भएकामध्ये ३६ प्रतिशत महिलाले अपरेसन गरेर बच्चा जन्माएका छन् । तथ्यांकअनुसार २५ हजार ४ सय ६२ महिला सुत्केरी हुँदा ९ हजार १ सय ९२ महिलाले अपरेसन गरेर बच्चा जन्माएका हुन् । यो तथ्यांक सरकारी अस्पतालले सुत्केरी गराएकोसमेत जोड्दा हुन आएको सरदर प्रतिशत हो । निजी अस्पतालको मात्रै सी सेक्सन हेर्ने हो भने काठमाडौँमा ४८ प्रतिशत सी सेक्सन डेलिभरी छ । सामान्य प्रकृतिले सुत्केरी हुन नसकने अवस्था आएमा मात्रै अपरेसन गरेर बच्चा जन्माउनुपर्ने हो । अध्ययनअनुसार विश्वमा अपरेसन नै गर्नुपर्ने अवस्था एक सय महिला सुत्केरी हुँदा ५ देखि १० जनामा मात्रै आउने देखिन्छ । तर, नेपालमा भने विभिन्न कारणले सिजेरियन सेक्सन गरी बच्चा जन्माउने पद्धति डरलाग्दो तवरबाट भइरहेको छ । कस्तोसम्म भने गर्भवती महिलाले आपूm सुन्दरी भइरहनका लागि मात्रै होइन, प्रसव पीडा नझेल्नसमेत बिरामी वा बिरामीको आफन्तको आग्रहमा अपरेसन गरेर बच्चा जन्माउन थालिएको छ । कस्तो अवस्थामा गर्नुपर्छ सी सेक्सन डेलिभरी ? सामान्य अवस्थामा बच्चा जन्माउनका लागि अपरेसन नै गर्नुपर्दैन भन्छन् प्रसूति गृह निर्देशक प्रा.डा. जागेश्वर गौतम । तर, कम वा बढी उमेर, बच्चा उल्टो भएमा, पहिले पनि अपरेसन गरी बच्चा जन्माएको भएमा, मुटुरोग, एचआइभी एड्स आदि रोग लागेको भएमा अपरेसन गरी बच्चा जन्माउनुपर्ने हुन सक्छ । गर्भवती र परिवारको चाहनामा सी सेक्सन डेलिभरी ! सम्भव भएसम्म सामान्य प्रकृतिबाटै बच्चा जन्माउनुपर्छ । केही जटिल देखिए चिकित्सकको सल्लाह र आवश्यकतामा अपरेसन गरेर बच्चा जन्माउनुपर्ने हो । तर, नेपालमा त चिकित्सकको सल्लाहभन्दा पनि गर्भवती महिला, उनको श्रीमान् वा परिवारको चाहनामा अपरेसन गरेर बच्चा जन्माउनेक्रम बढ्दो रहेको प्रा. डा. गौतमको भनाइ छ । गत आर्थिक वर्षमा परोपकार प्रसूति गृह अस्पतालमा १५ हजार ३ सय १९ महिला सुत्केरी भएका थिए । जसमध्ये ४ हजार ४ सय १७ जनाको अपरेसन गरी बच्चा जन्माइएको थियो । जुन कुल संख्याको २८ दशमलव ८३ प्रतिशत हो । सरकारी अस्पतालमा २८ प्रतिशत सी सेक्सन डेलिभरी भए पनि निजी अस्पतालामा यो संख्या निकै बढी छ । यतिसम्म कि निजी अस्पतालले त कुल संख्याको ९३ प्रतिशतभन्दा बढी अपरेसन गराएर बच्चालाई जन्म दिएका छन् ।
डेलिभरी कुन अस्पतालमा गराउने सोच्दै हुनुहुन्छ ?
यी अस्पतालमा अपरेसन गरी बच्चा जन्माउने सम्भावना उच्च छ ।
कुन अस्पतालको कति प्रतिशत ?
१. ग्रिनसिटी अस्पताल, धापासी
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको तथ्यांकअनुसार काठमाडौँमा सबैभन्दा बढी सिजेरियन डेलिभरी ग्रिनसिटी अस्पताल धापासीले गराउने गरेको छ । आर्थिक वर्ष २०७१÷७२ मा यो अस्पतालमा ४७ महिला सुत्केरी भएकामा ४४ जनाको अपरेसन गरिएको तथ्यांक छ । जुन डब्लुएचओले तोकेभन्दा ६ सय प्रतिशतभन्दा बढी हो ।
२. भ्याली मेटरनिटी अस्पताल तथा नर्सिङ होम, पुतलीसडक
पुतलीसडकमा रहेको भ्याली मेटरनिटी अस्पताल तथा नर्सिङ होमले पनि डब्लुएचओले तोकेभन्दा अत्यन्तै बढी सिजेरियन सेक्सन डेलिभरी गराएको छ । यहाँ गत आर्थिक वर्षमा ६ सय ८३ जना सुत्केरी भएकामा ५ सय ८३ जनाको अपरेसन गरिएको थियो । जुन कुल संख्याको ८५.३६ प्रतिशत हो ।
३.ओम अस्पताल, चाबहिल
चाबहिलको ओम अस्पतालको सिजेरियन सेक्सन रेट पनि डरलाग्दै देखिन्छ । ओम अस्पतालमा गत वर्ष १ हजार २ सय ३७ जना महिला सुत्केरी भएकामा ८ सय ७६ जनाको अपरेसन गरिएको थियो । जुन कुल संख्याको ७०.८२ प्रतिशत हो ।
४.काठमाडौँ मोडल हस्पिटल, बागबजार
बागबजारको काठमाडौँ मोडल अस्पतालको सिजेरियन सेक्सन दर पनि डरलाग्दो नै देखिन्छ । गत आर्थिक वर्षमा यस अस्पतालमा ६ सय ६५ महिला सुत्केरी भएकामा ४ सय ५३ जनाको अपरेसन गरी बच्चा जन्माइएको थियो । जुन कुल संख्याको ६८ दशमलव १२ प्रतिशत हो ।
५. हिमाल हस्पिटल, कमलपोखरी
कमलपोखरीमा रहेको हिमाल हस्पिटलको सिजेरियन डेलिभरी पनि ७५ प्रतिशत छ । गतवर्ष यस अस्पतालमा २४ महिला सुत्केरी भएकामा १८ जनाको अपरेसन गरी बच्चा जन्माइएको थियो । जुन कुल संख्याको ७५ प्रतिशत हो ।
६. विनायक अस्पताल, गोंगबु
आफ्नै श्रीमती तथा परिवारका सदस्यको पाठेघर फालेको नक्कली कागजात बनाएर सरकारी रकम कुम्ल्याएको गोंगबुको विनायक अस्पतालको सी सेक्सन दर पनि उच्च छ । विनायक अस्पतालले गत आर्थिक वर्षमा १ सय १९ महिलाको सुत्केरी गराएकामा ८१ जनाको अपरेसन गरेको थियो । जुन ६८.७ प्रतिशत हो । काठमाडौँका २२ निजी अस्पतालको सुत्केरी संख्या र सी सेक्सन डेलिभरी प्रतिशत हुर्नुहोस् ।स्वास्थ्य सेवा तथा सुविधाको दृष्टिकोणले देशभरिको सिजेरियन सेक्सन दर ८ प्रतिशतको हाराहारीमा छ । तर, काठमाडौँमा भने सरकारी अस्पतालमा २८ र निजीमा करिब ४८ प्रतिशतको हाराहारीमा छ । अझ ठूला भनिएका निजी अस्पतालको सिजेरियन सेक्सन दर ५० प्रतिशतभन्दा बढी नै छ । नेपाल विश्व स्वास्थ्य संगठनको सदस्यराष्ट्र हो । यसको अर्थ विश्व स्वास्थ्य संगठनले तोकेको मापदन्ड र नियम यस देशले पनि मान्नुपर्छ । तर, यो वा त्यो बहाना र लहडमै यतिबेला सिजेरियन डेलिभरी वा अपरेसन गरी बच्चा जन्माउने विधिमा व्यापक वृद्धि भइरहेको छ, जो आमा र बच्चा दुवैका लागि खतराको सूचकसमेत हो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment