|
|
चन्दनकुमार यादव, राजविराज
सप्तरीमा तीनजना युवाले विदेश पठाइदिन्छु भनेर आफूलाई ठग्ने एजेण्टलाई व्याज सहित रकम फिर्ता गराएका छन् । चर्को रकम लिएर युवालाई विदेश पठाउँदै आएका स्थानीय एजेण्ट दिपेन्द्र देव पैसा तिर्न बाध्य भएका हुन् । उनले तीन युवालाई ५ लाख ८ हजार फिर्ता गरे ।
पीडितहरुले आफूहरु ठगिमा परेको भन्दै रकम उठाइदिन सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, राजविराजमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा भएको छलफलमा एजेण्ट देव बैदेशिक रोजगारीमा पठाउन भन्दै लिएको पासपोर्ट र केहि रकम देवले फिर्ता गरेका हुन् ।
दुई वर्ष अगाडी मलेसियाको राम्रो कम्पनीमा काम लगाइदिने भन्दै देवले राजविराज ९ का रामकुमार दास, दिनेश सदा तथा सञ्जीव साहसँग चार लाख उठाएका थिए । उनीहरुले आफूहरुले साहुमहाजनसँग ५ प्रतिशत ब्याजमा लिएको रकम बताएका छन् ।
उनीहरुले एजेन्ट देवसँग प्रमाणको रुपमा २० लाख वरावरको कागज पनि गराएका थिए । यसैगरी समयमा बिदेश नपठाएमा सो रकमको ब्याज सहित तिर्ने एजेन्टले तिर्ने लिखित प्रमाण समेत राखेका थिए ।
सोही प्रमाणसहित उनीहरुले सामी हेल्भेटासको सहयोगमा सवल नेपालद्धारा सञ्चालित सुचना तथा परार्मश केन्द्र राजबिराजमा निवेदन दिएका थिए । निवेदन प्राप्त भएपछि केन्द्रले एजेन्ट देवलाई दुई महिना देखि रकम र पासपोर्ट फिर्ता गर्न दवाव दिंदै आएको सवल नेपालका कार्यक्रम संयोजक अशोक साह बताउँछन् ।
छलफलकै क्रममा एजेण्ट देवले तिर्न कवुल गरेको ५ लाख ८ हजार मध्ये ३ लाख ५० हजार तत्काल दिएका छन् भनें बाँकी रकम एक महिना भित्र फिर्ता गर्नेगरी कागज गरेका छन् ।
|
|
Post a Comment