संयुक्त अरब इमिरेट्स (युएई) ले आजदेखि राजदूृतस्तरमा दूतावास स्थापना गरेर प्रवेशाज्ञा लगायत सेवा प्रवाह गर्ने भएको छ। दूतावास उद्घाटन एवम् सेवा आरम्भ गर्न युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान आजै अपराह्न यहाँ आउँदै छन्। स्थानीय लाजिम्पाटमा स्थापना भएको दूतावास उद्घाटनअघि नेपाल र युएईबीच द्विपक्षीय वार्ता हुने छ।

वार्तामा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा तथा युएईको नेतृत्व त्यहाँका विदेशमन्त्रीले गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग युएईका विदेशमन्त्रीले आजै बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने छन्। विदेशमन्त्री नाह्यान युएईका प्रथम संस्थापक राष्ट्राध्यक्ष एवम् अमिरका सुपुत्र हुन्। नेपाल–युएई वार्तामा द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने तथा पारस्परिक सहयोग र लाभका क्षेत्र अभिवृद्धिबारे विचारविमर्श हुने मन्त्रालयका एक उच्च अधिकारीले बताए । वार्तामा परराष्ट्र मन्त्रालयका अतिरिक्त श्रम तथा रोजगार, उद्योग, अर्थ, गृह र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुने उनले जानकारी दिए । दूतावास स्थापनासँगै युएईले सइद हमदान अल नाक्वीलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको छ । नवनियुक्त राजदूत नाक्वीले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिसकेका छैनन्। नेपाल र युएईबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । केही वर्षयता नेपाली श्रमिकका निम्ति युएई आकर्षक गन्तव्य बन्दै गएको छ । हाल उक्त मुलुकमा दुई लाखको हाराहारीमा नेपाली कार्यरत छन् । उपप्रधानमन्त्री थापाको निमन्त्रणामा विदेशमन्त्री नाह्यान विशेष विमानबाट नेपालको भ्रमणमा आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment