|
|
विराटनगर, १७ साउन ।
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएकी छिन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको कार्यान्वयन र २०७४ माघ ८ गतेभित्र तीनवटा निर्वाचन गराउनुपरेकाले सहमतिको सरकार आवश्यक रहेको स्पष्ट पारिन् ।
नेत्री कोइरालाले संविधान कार्यान्वयन र संशोधनलगायत प्रस्ताव पारित गराउन संसद्मा दुई तिहाई चाहिएकाले एमालेसहितको राष्ट्रिय सरकार गठन गरिनुपर्नेमा जोड दिइन् ।
कुनै पनि सरकारलाई अवधिभर काम गर्न दिनुपर्ने उल्लेख गर्दै अब नयाँ बन्ने सरकारलाई पनि ढाल्ने प्रयास भएमा मुलुकमा अस्थिरता आउने सम्भावना व्यक्त गरिन् ।
वर्तमान सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने, चिनीयाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिँदै उनले मुलुकको लागि के गर्दा राम्रो हुन्छ, त्यसतर्फ नयाँ सरकार अग्रसर हुनुपर्ने आवश्यकता औंल्याइन् ।
राष्ट्रिय मुद्दालाई कार्यान्वयनका लागि नेकपा (एमाले)सँग राम्रो सम्बन्ध राख्नुपर्ने सुझाव दिँदै उनले मुलुकमाथि खतरा आउन नदिन राजनीतिक दल जिम्मेवार हुनुपर्ने धारणा प्रकट गरिन् । रासस
|
|
Post a Comment