Headlines News :
Home » » श्रीलंका पुर्‌याइएका ९० भन्दा बढी नेपाली महिला अलपत्र

श्रीलंका पुर्‌याइएका ९० भन्दा बढी नेपाली महिला अलपत्र

Written By news on Tuesday, 2 August 2016 | 23:54


श्रीलंका पुर्‌याएर अलपत्र पारिएका नेपाली महिला ।
 तस्बिर सौजन्य: मनमाया दनुवार

काठमाडौं: इराक, कुवेत, ओमनलगायत मुलुकमा धेरै आम्दानी हुने काम लगाइदिन्छु भन्दै श्रीलंका पुर्‌याइएका ९० जनाभन्दा बढी नेपाली महिलालाई त्यहाँको एउटा घरमा थुनेर राखिएको छ । ‘मलाई सन्चो पनि छैन । अब यहीं आत्महत्या गर्छु’ भन्दै रोइकराइ गरेपछि श्रीलंकाबाट नेपाल फर्कन सफल ४१ वर्षीया मनमाया दनुवारले त्यहाँ अलपत्र दिदीबहिनीको उद्धार गरिदिन सरकारलाई गुहारेकी छन् ।

उदयपुर गाईघाटकी मनमायाले गत असार १० गते एजेन्टलाई दुई लाख रुपैयाँ बुझाएपछि त्यसको भोलिपल्ट बिहानै उनलाई स्वयम्भूबाट नयाँदिल्ली जाने बस चढाएर भारत पुर्‌याइएको थियो । नयाँदिल्लीमा तीन रात राखेर उनीलगायत अन्य १७ जनालाई हवाईजहाजबाट नै श्रीलंका लगिएको थियो । श्रीलंकामा बस्न पाउने ३० दिनको उनको भिसा सकिइसकेको छ भने अन्य सबै महिला पनि अनुमतिभन्दा धेरै दिन बसिरहेका छन् ।

श्रीलंका विमानस्थलमा उनीहरूलाई लिन एउटा अरबी युवक आयो र अत्यन्तै द्रुत गतिमा चलाइएको गाडीमा करिब साढे तीन घन्टाको यात्रापछि एउटा भुइँतले घरमा पुर्‌यायो । त्यहाँ अन्य थुप्रै महिलालाई भेडाबाख्राजस्तै गरी कोचेर राखिएको दृश्यले उनको विदेश जाने आस त्यहीं टुंगियो ।

अरू दिदीबहिनीको रुवाइ र चित्कार देखेपछि उनी पनि त्यहाँ पुग्नेबित्तिकै रुन थालिन् । मनमायाले भनिन्, ‘त्यहाँ भान्छे काम गर्ने उर्मिला पौडेल नाम गरेकी महिला आएर उनीहरूसँग भएको पैसा, मोबाइल, पासपोर्टलगायत सबै सामान खोसेर राखिन् ।’

आफूहरूलाई विदेश नलैजाने भए किन यहाँसम्म ल्यायौ भनेर विरोध गर्दा गाली गरेको र पछि कुटपिट नै गरेको पनि मनमायाले सुनाइन् । ‘बिहान कालो चिया, खाना दिउँसो दुई बजे र बेलुकीको खाना राति ११ बजे दिन्थे’, उनले भनिन्, ‘त्यसमा पनि उसिनेको चामल र एक किलो माछामा सबैलाई पुग्ने गरी हालिएको झोल दिन्थे ।’ आठकोठे उक्त भवनका जम्मा तीनवटा कोठामा नेपाली महिलालाई राखिएको थियो ।

चिसो भुइँमा तन्ना ओछ्याएर सुत्नुपरेकाले धेरैलाई स्वास्थ्य समस्या आए पनि औषधिउपचार केही नपाइने गरेको उनले बताइन् । ‘बाहिर निस्कन खोजे यहाँ सीसी क्यामरा छ । बाहिर पुलिसले देखे पक्रेर लैजान्छ भन्दै तर्साउने गरिन्छ । त्यसमा पनि अग्लो पर्खाल र गेटमा लगाइएको दोहोरो ताल्चा फोरेर भाग्ने हिम्मत कसैले गर्न सक्दैन’, उनले भनिन् ।

मनमायाका अनुसार त्यहाँ अलपत्र पर्नेमा १८ वर्षदेखि ५६ वर्षसम्मका महिला छन् । ‘केही सुन्दर महिलालाई त बेलुकी ११ बजेदेखि ३ बजेभित्रै कतै लैजान्छन् । त्यता लगेपछि ती फर्केर आएको देखिएन’, उनले भनिन् । पाँच महिनादेखि त्यहाँ बस्ने महिला पनि रहेका र उनीहरूले ‘मेरो भिसा कहिले आउँछ’ भनेर प्रश्न गर्दा ‘अब तेरो भिसा आउँदैन’ भन्ने जबाफ पाउने गरेको पनि मनमायाले बताइन् ।

उनका अनुसार यस्तो जबाफ सुनेपछि ती महिला रातभरि रुने, कराउने र नेपाल फर्काइदेऊ भनेर चिच्याउने गर्छन् तर उनीहरूको बिन्ती कसैले सुन्दैन । यसरी श्रीलंका पुर्‌याइएका नेपाली महिलालाई त्यहाँ मात्रै नभई अन्य दुईवटा घरमा पनि थुनेर राखिएको छ भन्ने आफूले सुनेको मनमायाले बताइन् ।

बेलाबेलामा त्यहाँ रहेका महिलालाई अर्को घरमा सारिदिन्छु भनेरसमेत धम्क्याउने गरिएको उनले बताइन् । मनमाया नेपाल फर्कंदैछिन् भन्ने थाहा पाएपछि त्यहाँ बस्ने सरस्वती सुनुवार, सुक्लैया चौधरीलगायत महिलाले आफ्नो फोटो र आफन्तको नम्बर दिएर पठाएका छन् । यीमध्ये पाँचथर माङ्जाबुङकी बुद्धमाया विश्वकर्माले पठाएको नम्बरमा फोन गर्दा उनका पति लालबहादुर विश्वकर्माले फोन उठाउँदै भने, ‘खोइ उनी कहाँ छिन् थाहा छैन । डेढ महिनाअघि श्रीलंकाबाट फोन गरेर अब म जान लागेको, घरमा राम्ररी हेर्नू भनेकी थिइन् ।’

बालाजुमा करिब चार वर्ष सँगै घर बनाउने काम गरेकी सिन्धुलीकी सरस्वती सुनुवारले आफूलाई जसरी भए पनि नेपाल फर्काइदिन गुहार मागेको ठेकेदार प्रेम खत्रीले बताए । ‘दुई दिनअगाडि मोबाइलमा मिस कल आएपछि मैले नै फोन गरें । मेरो भिसा अझै पठाएन । अब मलाई नेपाल फर्काइदिन मेरो एजेन्ट र दिदीबहिनीलाई भनिदिनु न भनिन्’, खत्रीले भने । उनले आफूहरूले जानुअगाडि पनि यसरी नजाऊ भनेर धेरै सम्झाएको तर उनले नमानेको बताए । पतिको मृत्यु भइसकेकाले सरस्वतीले आफ्ना दुई सन्तानलाई सासूससुराकहाँ छाडेर हिँडेकी हुन् ।

गत आइतबार काठमाडौं आइपुगेकी मनमायाले आफूलाई विदेश लैजान्छु भनेर पैसा लिने दलालले पनि बारम्बार धम्की दिने गरेको बताइन् । ‘जहाँ भेट्यो त्यहीं मारिदिन्छु, कतै उजुरी दिइस् भने मान्छे लगाएर भए पनि तलाई सिध्याउँछु भनेर दुईतीनपटक फोन गरिसक्यो’, मनमायाले भनिन् ।

वैदेशिक रोजगारीमा जाने महिला कामदारको सुरक्षा र पेसागत हितको प्रवद्र्धनका उद्देश्यले श्रम तथा रोजगार मन्त्रालयले गत वैशाख ३१ गते आभा श्रेष्ठ कर्णको संयोजकत्वमा गठन गरेको ‘र्‌यापिड रेस्पोन्स टिम’ ले श्रीलंकामा अलपत्र ती महिलाको उद्धार गरी नेपाल ल्याउन प्रक्रिया अगाडि बढाएको छ ।

महानगरीय अपराध महाशाखाअन्तर्गत मानव बेचबिखन सेलका डीएसपी मुकुन्द मरासिनीले आफूहरूले तथ्य र लोकेसन पत्ता लगाउने काम गरिरहेको जानकारी दिँदै श्रीलंका प्रहरीको सहयोग लिएर ती महिलालाई तुरुन्तै नेपाल ल्याउने व्यवस्था मिलाइने बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger