|
|
श्रावण २४, पोखरा –
पर्यटकीय नगरी पोखराको फेवातालम आज दिउँसो भएको डुंगा दुर्घटनामा दुईजना बेपत्ता भएका छन् । दुर्घटनामा परेका अरु ६ जनालाई घाईते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता हुनेहरुमा काठमाण्डौको चक्रपथ बस्ने बर्ष १९ को प्रतिक श्रेष्ठ, वसुन्धरा बस्ने बर्ष २३ को एलिन के.सी. रहेको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा काठमाण्डौको चक्रपथ बस्ने १९ वर्षीय सौगात श्रेष्ठ, सोही ठाउँका ३१ वर्षीिय दिपक न्योपाने, २० वर्षीय सम्राट गौतम, बसुन्धरा बस्ने रोशन न्यौपाने, मकवानपुरको हेटौडा नगरपालिका ६ बस्ने ३६ वर्षीय विदुर धिताल र सिन्धुली घर भई हाल पोखरा ६ लेकसाईड बस्ने डुंगा चालक ३० वर्षीया गंगा बस्नेत घाईते भएका छन् । दुर्घटनाको खबर पाएपछि हल्लनचोकस्थित सिआरभी र वडा प्रहरी कार्यालय बैदामबाट गएको टोलीले उनीहरुको उद्धार गरेको थियो ।
घाईते भएकाहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । यसैबीच बेपत्ता भएका २ जनाको खोजी कार्य जारी रहेको भएपनि साँझ ७ बजेसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । खोजीका लागि नेपाल प्रहरीको सशस्त्र प्रहरी गण पोखराबाट उद्वार टोली र शसस्त्र प्रहरी बल कालिका गणबाट समेत टोली परिचालन गरिएको प्रहरी प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । के कारणले डुंगा दुर्घटना भएको हो भन्नेबारेमा आवस्यक अनुसन्धान हुन बाँकी रहेको बताईएको छ ।
|
|
Post a Comment