|
|
बाँके, २६ साउन –
बाँके प्रहरीले अपहरण र फिरौती मुद्धाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।
नेपालगञ्जको त्रिभुवन चौकका आमिर अन्सारीलाई अपहरण गरी फिरौती लिएर बेपत्ता बनाएको मुद्धामा अदालतले दोषी ठहर गरी जरिबाना र जेल सजाय तोकिएकी स्थानीय सुषमा बर्मालाई प्रहरीले पक्राउ गरेको हो।
बर्माले २०६९ असार २६ गते अन्सारीलाई प्रेमजालमा फसाएर आफ्नो समुहद्वारा अपहरण गराई भारतमा राखेर उनको घरपरिवारबाट नौ लाख रुपैया फिरौती लिएको र बेपात्ता पारेको बताइएको छ।
मुन्नु बेपत्ता पारिएको केही समयपछि बर्मालाई प्रहरीले पक्राउ गरेको थियो। अदालतले १५ हजार धरौटीमा छोडेपछि पुनरावेदन अदालतले पुर्पक्षमा राख्न आदेश गरेपछि उनी त्यसयता फरार रहेकी थिइन्। २०७२ जेठ २० गते जिल्ला अदालत, बाँकेले अन्सारीलाई अपहरण, फिरौती, बेपत्ता पारेको ठहर गर्दै बर्मालाई आठ वर्ष ११ महिना एक दिन कैद र नौ लाख ५० हजार रुपैया जरिबाना तोकेको थियो।
बर्मालाई बेलभारस्थित एक घरको डेहरीमा लुकेको अवस्थामा पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। उक्त घटनामा आधा दर्जन बढिको संलग्नता रहेको प्रहरीको भनाई छ।
|
|
Post a Comment