|
|
चीन, ७ साउन ।
उत्तरी र मध्यचीनमा केही दिन यता परेको अविरल बर्षा र आँधीको कारण ४२ जनाको मृत्यु भएको छ भने ७४ जना वेपत्ता भएका छन् ।
बर्षाको कारण हजारौँ व्यक्ति विस्थापित भएको जनाइएको छ । चीनमा को हेबेइ प्रान्तमा अविरलरुपमा परेको पानीका कारण ३० जनाको ज्यान जानुका साथै अन्य ६८ जना हराइरहेका प्रान्तीय नागरिक मामिलासम्बन्धी विभागले जानकारी दिएको छ ।
सो प्रान्त करिब एक लाख ६३ हजार नौ सय व्यक्तिलाई सुरक्षित स्थानमा सारेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उक्त प्रान्तका विभिन्न नगरका गरी करिब १० लाख नागरिक प्रभावित भएका छन् ।उक्त हेबेइ प्रान्तका ११ वटा नगरमा पानीको मात्रा घटेको छैन । निरन्तरको वर्षाका कारण बाढी आएको छ र सो बाढीमा कैयौँ व्यक्ति थुनिएका वा हराएका छन् ।
त्यसैगरी छिमेकमा पर्ने प्रान्त हेनानमा अबिरल बर्षा र आँधीको कारण १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना हराइरहेको प्रान्तीय बाढी नियन्त्रण प्रमुख कार्यालयले जनाइएको छ । मुसलधारे बर्षासहितको आँधी र बाढीको कारण सो क्षेत्रबाट एक लाख पाँच हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
घनघोर बर्षापछि आएको बाढीले हजाराँै घर ध्वस्त बनाएको छ । बाढीका कारण बालीनाली, स्थानीय पूर्वाधारका साथै ठूलो जनधनको क्षति पुगेको समाचारमा जनाइएको छ । उक्त दुवै प्रान्तमा उद्वारको प्रयास जारी रहेको पनि बताइएको छ । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उद्वारकर्मी खटाइएको सो समाचारमा उल्लेख गरिएको छ ।
यसैबीच बेइजिङ्मा पनि भारी बर्षाको चेतावनी कायमै रहेको छ चीनको मध्य र उत्तरी बन्दरगाह सहरमा व्यापक मात्रामा वर्षा भएको छ । अविरल वर्षा भएपछि सतर्कताको लागि चेतावनी दिइएको मौसम विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
|
|
Post a Comment