|
|
९ साउन, काठमाडौं । नेपाली कांग्रेस र माओवादी नेताहरुको आशंकालाई गलत सावित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्या भण्डारीले उनको राजीनामा तत्कालै स्वीकृत गरेकी छन् ।
राजीनामा स्वीकृत भइसकेपछि अब ओली सरकार कामचलाउमा परिणत भएको छ । अब नयाँ प्रधानमन्त्री चयन नहुँदासम्म उनले कामचलाउ प्रधानमन्त्रीका रुपमा काम गर्नेछन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि नै प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि यो प्रस्तावमा संसदभित्र मतदान नै गर्नुपरेन । संसद सचिवालयले मतदानको तयारी गरिसकेको थियो । कांग्रेस र माओवादीका नेताहरु केपी ओलीले सत्ता लम्ब्याउने आरोप लगाइरहेका थिए, ओलीले उनीहरुलाई गलत सावित गरिदिए । गत असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओली नौ महिना बढी अर्थात २८८ दिनसम्म पदमा रहे । राष्ट्रपतिलाई राजीनामा बुझाएर प्रधानमन्त्री ओली आफ्नाविरुद्ध परेको अविश्वासको प्रस्तावको जवाफ दिन संसदमा पुगेका थिए । बजेट आश्रति विधेयक असफल भएपछि नै संसदमा आफ्नो पक्षमा बहुमत नरहेको आफूलाई थाहा भएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष राजीनामा दिएको संसदलाई जानकारी गराए ।हाँस्दै बाहरिए प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्न जानुअघि विपक्षी दलका नेता शेरबहादुर देउवासँग हात मिलाएका थिए । रोष्ट्रममा उभिएर झण्डै २ घन्टा सम्बोधनपछि फर्किने क्रममा उनी निकै प्रफुल्लित मुद्रामा थिए । उनले आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्डसँग पनि हात मिलाएर कुरा गरे । त्यसपछि आफ्नो सरकारमा उपप्रधानमन्त्री रहेका सीपी मैनाली, कमल थापा हुँदै उनले आफ्नो कटू आलोचक मानिएका उपेन्द्र यादवसहितका मधेसी नेताहरुसँग पालैपालो हात मिलाए । अरुले उठेर हात मिलाए पनि उपेन्द्र यादवले बसीबसी ओलीसँग हात मिलाए । त्यसपछि प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिँदै गर्दा पानी परिरहेको थियो । उनी छाता ओढेर बाहिरिए ।
|
|
Post a Comment