|
|
काठमाडौं, २ असार ।
नेपालमा संविधानमा असन्तुष्टि जनाउँदै नाकाबन्दीसम्म लगाएको भारतले अहिले नेपाललाई नै समेटेर विकासका परियोजना समेत ल्याउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अडान, राष्ट्रियताका मुद्दामा नझुक्दा भारत आफै झुकेको छ ।
जसकारण नेपाललाई फकाउन विकासे परियोजना ल्याएको देखिन्छ । भारतले नेपालसहितका छिमेकी मुलुकसँगको कनेक्टिभिटी परियोजनालाई तीव्र ढंगले अगाडि बढाउने तयारी गरेको छ । भारतले छिमेकी मुलुकसँगका परियोजना सन्तोषजनक ढंगले अगाडि बढ्न नसकेको निष्कर्ष निकाल्दै केही वर्षमा नै तीव्र ढंगले अगाडि बढाउने तयारी गरिरहेको जानकारी भारतीय उच्च अधिकारीले दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ । उनका अनुसार रोड, रेलवे र उड्डयनका माध्यमले कनेक्टिभिटी अगाडि बढाउने तयारी भइरहेको छ । नेपाल, बंगलादेश, पाकिस्तान तथा म्यानमार भारतको उच्च प्राथमिकतामा छन् । भारतको विदेश नीति सम्बन्धमा सोमबार र मंगलबार मुम्बईमा आयोजना गरिएको सम्मेलनमा विदेश सचिव एस जयशंकरले भारतीय विदेश मन्त्रालयको एक महत्त्वपूर्ण जिम्मेवारी छिमेकी मुलुकसँगको कनेक्टिभिटीसम्बन्धी परियोजनाको अवधारण तयार पार्नु र कार्यान्वयन गर्नु रहेको बताए । ‘हामीले हालै छिमेकी मुलुकसँगका कनेक्टिभिटी परियोजनाका बारेमा मूल्यांकनसमेत गरेका छौं,’ उनले भने, ‘यसबाट हामी विश्वासका साथ भन्न सक्छौं कि हाम्रो क्षेत्रीय कनेक्टिभिटी आगामी केही वर्षमा नै महत्त्वपूर्ण ढंगले अगाडि बढ्ने छन् ।’ नजिकका छिमेकी मुलुकसँगको सम्बन्धलाई अगाडि बढाएपछि अन्य मुलुकसँग कनेक्टिभिटी राम्रो हुने भारतीय अधिकारीहरूको भनाइ छ । पछिल्ला दुई वर्षमा भारत र नेपालबीच बस सञ्चालनको क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएका छन् । दुई वर्ष अगाडि नेपाल, भारत, बंगलादेश र नेपालबीच बससेवा सञ्चालन गर्ने सहमति भएको थियो । त्यसलगत्तै नेपाल र भारतबीच बससेवा सञ्चालनसमेत भइरहेको छ । काठमाडौं–दिल्ली र वाराणसी–काठमाडौं सिधा बससेवा पहिला नै सञ्चालनमा आइसकेको छ । मंगलबारमात्रै दिल्ली–पोखरा बस सञ्चालनका लागि दुई देशबीच हस्ताक्षरसमेत भएको छ । उक्त कार्यक्रममा बोल्दै भारतको उत्तरप्रदेश पारवहन कार्यालयका प्रमुख पीके घोसले पोखरालगायत लुम्बिनी तथा अन्य सहरमा बससेवा सञ्चलान गर्ने विषयमा छलफल गर्न तयार रहेको बताए । विगतमा दुई देशबीच रेलवे कनेक्टिभिटीमा खासै प्रगति नभएको निष्कर्ष निकाल्दै भारत सरकारले आगामी दिन रेलवे विस्तार गर्ने नीति लिएको छ । विशेषगरी उत्तर प्रदेश र विहारमा रेलवे परियोजनाहरू चालु रहेको सन्दर्भमा त्यसलाई नेपालसम्म विस्तार गर्ने तयारी रहेको भारतीय अधिकारीको भनाइ छ ।
|
|
Post a Comment