|
|
फुटबल खेलाडी विमल घर्तिमगरको बर्दघाट- ८ भुताहमा रहेको घरमा पुग्दा देखिएको दृष्य हो यो । छोरीको रहस्यमय मृत्युको बज्रपात सहेकी धनमाया अझै पनि भावविव्हल छिन् । विमल ठूलो बुबाको घरमा सुत्न गएका रहेछन् । घरमा विमलकी धर्म बहिनी र मनिषाकी साथी बसिरहेका थिए । आफन्त, छिमेकी र शुभचिन्तकहरु आउने र सान्त्वना दिएर जाने क्रम चलिहरेको थियो ।
हामी आएको खबर पाएपछि विमल उठेर आए । उनको अनुहारमा बहिनी गुमाउँदाको पीडा त छँदै थियो । उनीसँग राज्यप्रति केही गुनासो र प्रहरी अनुसन्धानमाथि प्रश्न पनि छन् । उनी मात्र होइन, सबै आफन्त मनिषाको हत्या भएको भन्नेमा ढुक्क छन् र प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाइरहेका छन् ।
विमलले हामीसँग बहिनीको मृत्युबारे यसरी मुख खोलेः
पहिलो कुरा यो आत्महत्या होइन, मेरो बहिनी मनिषाको हत्या भएको छ । बहिनी झुन्डिएको स्थानमा आफैं झुन्डिन सक्ने अवस्था छैन । घरमा रहेको पंखा र तल रहेको टेबल देखाउँदै उनले भने, ल आफैं हरेर भन्नुस् पंखा उता छ टेबल यता छ अब कसरी कोही यहाँ आफैं झुन्डिएर आत्महत्या गर्न सक्छ ।
यती मात्र होइन यस्ता धेरै कुराहरु छन् जसले आत्महत्या नभइ हत्या भएको देखिन्छ । त्यसैले मेरो बहिनीको हत्या भएको हो । र, मेरो बहिनीको हत्या गर्ने जो सुकै भएपनि घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ ।नवलपरासी जिल्ला प्रहरी कार्यालयले दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै बिमल आक्रोश समेत पोखे यहाँ बाट न्याय नपाए उनि न्यायको लागि सर्बोच्च अदालतको ढोका ढकढक्याउन जाने उनले बताए
मेरो बुबाले देशको लागि लड्नुभयो । म पनि देशकै लागि खेल्दैछु । तर, आज हामी नै सुरक्षित छैनौं भने सरकारले अन्य जनताको घरमा कसरी सुरक्षा दिन सक्छ ? हामी अहिले पनि असुरक्षित महसुस गरिरहेका छौँ । अहिलेसम्म देशको लागि यत्रो गरे तर सरकारले केही गरेन ।
विमलको प्रश्न पनि छ, हामी आफैं सुरक्षित छैनौं भने देशको लागि लडेर के काम ? उनी भन्छन्, दोषीले उन्मुक्ति पाए मैले देशको लागि फुटबल खेल्ने अवस्था रहने छैन ।
विमल मनिषाको मृत्यु प्रकरणमा भइरहेको अनुसन्धानमाथि पनि प्रश्न उठाएका छन् । उनले भनेका छन्, बहिनीको मृत्युको घटनाको अनुसन्धान पनि चलखेल भएको छ । प्रहरीको अनुसन्धान, विशेष गरी प्रहरीले गरेको पोलिग्राफ परिक्षणमा मलाई आशंका लागेको छ । प्रहरी दुई जिब्रे भएका छन् । यता हामीलाई पत्रकारसँग कुराकानी नगर्नुहोला भन्छन्, उता आफू पत्रकार सम्मेलन गर्छन । (पोलिग्राफपछि प्रहरीले गत बुधबार पत्रकार सम्मेलन गरेको थियो) । प्रहरीले हामीलाई पनि पत्रकार सम्मेलनमा सहभागी गराएर घटना र अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी गराउनु पथ्र्यो । तर, हामीलाई केही जानकारी गराउन चाहेन । पत्रकार सम्मेलन भएको दिन बिहान अनुसन्धानबारे बुझ्न हामी आफैं जिल्ला प्रहरी कार्यालय नवलपरासीमा गएका थियौं । तर प्रहरीले अनुसन्धान भइरहेको छ भन्दै केही जानकारी गराएन ।
बहिनीको मृत्यु कसरी भएको हो भन्ने पोस्टमार्टम रिपोर्ट आइसकेको भनेर सञ्चारमाध्यमबाट थाहा पायौं । तर, हामीलाई न जानकारी दिइएको छ न रिपोर्ट हेर्न पाएका छौं । घटनाको अनुसन्धानका विषयमा प्रहरीले हामीसँग समन्यव नै गरेको छैन । प्रहरी के गरिरहेको छ, के गरेको छैन हामीलाई केही थाहा छैन । नेपाल कानुन दैवले जानुन् भने जस्तै भएको छ हामीलाई ।
विमल देशका आशलाग्दा युवा फुटबलर हुन् । उनीबाट नेपाली फुटबलले धेरै आश गरेको छ । तर, उनी आफैं बहिनी गुमाएर शोकमा रहँदा सरकार सान्त्वनाका दुई शब्द पनि खर्चिएको छैन । उसमा विमलको गुनासो छ । उनी भन्छन्, घरमा अहिलेसम्म प्रहरी बाहेक सरकार तर्फबाट कोही आएको छैनन् । जिल्लाको प्रमुख जिल्ला अधिकारी समेत घरमा आएका छैनन् ।’
धनमाया भन्छिन्ः हत्या नै हो
१७ वर्षको उमेर पुगेकी छोरी गुमाएकी धनमाया अझै सम्हालिन सकेेकी छैनन् । उनी धेरै बोल्न पनि सक्दिनन् । मनिषाको कुरा गर्यो कि उनको आँखा रसाइहाल्छ ।
उनीको पनि विमलकै जस्तो गुनासो छ । उनले भनिन्, ‘प्रहरीले अहिले घटनाको अनुसन्धानबारे हामीसँग समन्वय नै गरेन । छोरा देशको लागि खेलिरहेको छ तर, सरकारले केही गरेको छैन । मनिषा आत्महत्या गर्न निकै डराउने मान्छे हो । मनिषाले आत्महत्या गर्नै सक्दिन यो हत्या नै हो । दोषीलाई कडा कारवाही हुनुपर्छ ।
भोलि विमलको खुट्टा लर्बराउन सक्छः कान्छोबुवा
टेकबहादुर घर्ती मगर मनिषाको कान्छो बुबा हुन् । उनको पनि ठोकुवा छ, छोरी मनिषाले आत्महत्या गर्नै सक्दिनन्, उनको हत्या नै भएको हो । टेकबहादुरले भने, ‘विमलले राष्ट्रका लागि खेलिरहेको छ । यदि यो घटनाको दोषीलाई कारवाही नभए भोलि विमलले गोल गर्न खोज्दा उसको खुट्टा ललरबराउन सक्छ ।
घटनाको दोषीले उन्मुक्ति पाए कानुनदेखि जनताको विश्वास हट्नेछ । गम्भिरतापूर्वक अनुसन्धान गरेर दोषीलाई कडा कारवाही गर्नुपर्छ । यस्तो घटनालाई आत्महत्या गराउने हो भने अपराधीलाई प्रोत्साहन मिल्छ ।
|
|
Post a Comment