Headlines News :
Home » » हामीलाई सही बाटो देखाउने यी 'पागल'..

हामीलाई सही बाटो देखाउने यी 'पागल'..

Written By news on Tuesday, 28 June 2016 | 21:26


लोकमानसिंह कार्की र डा. गोविन्द केसी, यी दुई नाम यतिबेला चर्चामा छन्। यी यस कारणले पनि चर्चित छन्, किनभने यी दुई नामले समकालीन नेपालमा दुईवटा जल्दाबल्दा प्रवृत्तिको यी प्रतिनिधित्व गर्छन्।
दुवै जना जोडिएको विषय भ्रष्टाचार हो। एक जना भ्रष्टाचार नियन्त्रण गर्ने मुलुककै शक्तिशाली निकायका प्रमुख हुन् भने अर्का यस्ता चिकित्सक हुन्, जसलाई उनको क्षेत्रमा भइरहेको भ्रष्टाचारको चासो छ। भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखले चालिरहेका कदम हामी उनको कार्यकालको प्रारम्भदेखि हेर्दै आइरहेका छौं भने सत्याग्रही स्वभावका चिकित्सकले आफ्नो अडानका निम्ति लामो समयदेखि अनसन बस्दै आएको पनि हामीले देखेका छौं।

म यहाँ भ्रष्टाचारका मामलामा यी दुवै जनाका कामको चिरफार गर्न गइरहेको छैन। धेरैले गरिसकेका छन्। राज्यकै एउटा शक्तिशाली अंगले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लिखित ती चिकित्सकप्रतिको धारणाले धेरै नेपाली मनमष्तिष्क खल्बल्याएको अवस्थामा मभित्र पनि उथलपुथल भयो। अरू ले लेख्दै आएको कुरालाई निरन्तरता नदिइकन म यस विषयमा मेरै सानो अनुभव उल्लेख गर्न चाहन्छु।

व्यक्तिगत रूपले म लोकमानसिंह कार्कीलाई चिन्दिन। दुई वर्षअघिको एउटा भिडभाडमा मैले उनलाई सबैभन्दा नजिकबाट देखेको हुँ।

त्यतिबेला म इन्द्रजात्राको सन्ध्याकालीन रमाइलो हेर्न हनुमानढोका पुगेको थिएँ। अचाक्ली भिडले त्यो ठाउँमा ठेलमठेल चलिरहेको थियो। मान्छे हिँड्नुपर्दैन थियो, धकेलिएर अघि बढिरहेका थिए। महिला र केटाकेटीको चिन्ता सबैभन्दा बढी थियो त्यहाँ।

यस्तैमा अचानक हनुमानढोका क्षेत्रमा खटिएका प्रहरी सिठ्ठी बजाउँदै अघि बढे। सामान्य रहेको त्यो ठाउँमा हल्लीखल्ली मच्चियो। थिचाथिच र पेलापेल झनै बढ्यो। प्रहरीहरू लठ्ठीको घेरा बनाउँदै भिडलाई ठेल्न थाले। के भयो–के भयो भन्दै सबै यताउता हेर्न थाले। त्यहाँ त यस्तो भिडमा पनि केही गाडीको लश्करै पो आउन खोजिरहेको रहेछ। अगाडि अगाडि साइरन बजाइरहेको एउटा जिप थियो, जसमा सफारी सुट लगाएका मानिस झ्यालबाट हात निकाल्दै भडलाई पन्छिन इसारा गरिरहेका थिए। त्यसभन्दा पछाडि सशस्त्र प्रहरीले भरिएका केही सवारी देखिन्थे। बीचमा एउटा ठूलो जिप देखियो।

पहिले पहिले राजपरिवारका सदस्य कतै आएका छन् भने यस्तै दृश्य देखिन्थ्यो। पछिल्लो समय राष्ट्रपतिको सवारी बेला त्यही तरिका अपनाइएको छ। राष्ट्रपतिकै भ्रमणमा पनि सर्वसाधारणको आवतजावत नबिथोलिने गरी कसरी सुरक्षा प्रबन्ध गर्ने भन्ने कुरा विवादमा आइरहेको छ। यहाँ त मर्कै पर्ने अवस्था थियो। यस्तो भिडमा मोटरको लश्करै कोचेर ल्याउनुपर्ने कुनै कारणै थिएन।

त्यो साँझ भैरवको मूर्ति उघारिने भएकै कारण त्यस क्षेत्रमा बढी नै भिड थियो। राष्ट्रपति नै आउन चाहेका भए पनि केही मिटर पर वसन्तपुर दरबार स्क्वायरमा मोटर रोकेर पैदलै आउन सक्थे। त्यसो गरेको भए भिड नियन्त्रण गर्न धेरै बल प्रयोग गर्नै पर्दैन थियो। त्यहाँ त कतिपय केटाकेटी चिच्याइरहेको आवाज सुनिँदै थियो। म राष्ट्रपतिको यस्तो व्यवहारप्रति निराश बन्दै गएँ।

एकछिन छेउ लागेर उभिएँ र त्यो मोटरको लस्कर हेर्न थालेँ। प्रहरीका सिठ्ठी र लठ्ठी जोडजोडले सक्रिय भइरहेका थिए। सफारी सुट लगाउनेमध्ये कोहीकोही मोटरबाट ओर्लिएरै सडक क्लियर गर्न थाले। यसरी मोटरको लस्कर झन्डै हनुमानढोका प्रहरी कार्यालय नजिकै पुगेर रोकियो। त्यो अघिदेखि मैले हेर्दै आएको विशेष गाडीको ढोका खुल्यो। म तत्कालीन राष्ट्रपति रामवरण यादवलाई गुनासोयुक्त नजरले हेर्न खोजिरहेको थिएँ। ठिक त्यतिबेलै त्यो खुलेको मोटरको ढोकाबाट त अर्कै मानिस पो निस्कँदै गरेको देखियो। उनी थिए, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की।

हरे ... !

यस्तो हरिबिजोगमा बाँचिरहेका यो मुलुकका सर्वसाधारणले कति धेरै मानिसको तुजुक बेहोर्नुपरिरहेको छ? म एकछिन वाल्ल परेर हेरेँ। अत्यन्त बलियो सुरक्षा घेराले ठेलठाल पारेर तयार पारेको फराकिलो बाटो हुँदै कार्की मन्दिरतर्फ बढे।

राष्ट्रप्रमुखले धार्मिक र साँस्कृतिक महत्वका कार्यक्रममा सहभागिता जनाउनैपर्ने अवस्था र उनको सुरक्षा प्रबन्ध बुझ्न सकिन्छ। तर, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने मान्छेले यत्रो दुनियाँलाई दुःख दिएर उनको व्यक्तिगत इच्छा पूरा गर्नु कत्तिको न्यायसंगत थियो? कार्कीका अन्य पक्ष त थिए नै, सामान्य मानवीय चेतनाका मामलामा पनि कति गरिब रहेछन् भन्ने कुरा त्यहाँ छर्लङ भएको थियो। आफूसँग शक्ति छ भन्दैमा के जथाभाबी बल प्रयोग गर्नु पनि भ्रष्टाचार होइन र?

अब अर्का व्यक्ति डा. गोविन्द केसी।

त्रिविवि शिक्षण अस्पतालमा अनसन बसेका बेला पटक–पटक उनीप्रतिको श्रद्धा र ऐक्यबद्धता प्रकट गर्न जाँदा हाम्रो कुनै चिनजान थिएन। म प्रायः जान्थेँ, केहीबेर छेउमा उभिन्थेँ र फर्किन्थेँ। जहिले पनि भित्र पस्दा र बाहिर निस्कँदा मेरा हात श्रद्धापूर्वक उनका अघिल्तिर जोडिन्थे। उनी कहिले फर्काउन भ्याउथे, कहिले भ्याउँदैन थिए। कहिलेकाहीँ त सुतेकै हुन्थे।

केसीसँग मैले परिचित हुने मौका पाएको भने करिब दुई महिनाअघि मात्रै हो। त्यतिबेला धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा कार्यक्रममा हामी सहभागी थियौं।

त्यस बिहान म आफ्नै सुरमा गेस्टहाउसतर्फ जाँदै थिएँ। एउटा जिप मेरै छेउबाट विपरित दिशातर्फ लाग्दै थियो। थोरैमात्र दुरीमा पुगेर जीप घ्याच्च रोकियो।

‘आउनुस् आउनुस्, हिडौं,’ आवाज मतिरै सोझिएको थियो।

मैले भित्र चियाएर हेरेँ। त्यहाँ पूर्व मुख्यसचिव लीलामणि पौडेललाई देखेँ। साथमा डा. गोविन्द केसी पनि।

म ‘कहाँ ?’, ‘किन?’, ‘कतिबेर?’ केही नसोधी सरासर भित्र पसेँ।

मोटर धरानको भानुचोक पुगेर रोकियो।

त्यहाँ सडक सरसफाइको कार्यक्रम राखिएको रहेछ। नगरपालिकाको आयोजनामा भएको त्यस कार्यक्रमलाई सघाउन प्रहरी र सेना पनि खटिएका थिए। पत्रकारको हुलमा धरानका केही परिचित पुराना साथी पनि भेटिए। एकछिन औपचारिक कार्यक्रम सकिनेबित्तिकै हामी सबैलाई हातमा लगाउनका निम्ति रबरको पन्जा दिइयो।

म पहिलोपटक गोविन्द केसीसँग परिचित हुन पाएको थिएँ। स्वाभाविक छ डा. केसी जता जता गए म त्यतै त्यतै हिँड्न थालेँ।

उनले फोहोरको थुप्रोमा हात लगाउँदै त्यसलाई उठाउन र ठेलामा राख्न थाले। उनी यसरी मन लगाएर काम गरिरहेका थिए, मानौं त्यो फोहोर नै होइन।

अचानक उनी कुना कुनातिर जान थाले। त्यो भानुचोकको बस रोकिने स्थानकै वरपर थियो। उनलाई म मात्र पछ्याइरहेको थिएँ। उनी धमाधम फोहोर उठाउन थाले। त्यसलाई निकै परसम्म लैजाँदा चुहिन थालेको देखेपछि मैले कुदेर गएर कुटको एउटा ठूलो टुक्रा ल्याएँ र त्यसमा राख्न अनुरोध गरेँ। उनले उठाएका फोहोरलाई मैले त्यसै कुटको सहायताले ठेलामा राख्न थालेँ। त्यहाँ सरसफाइमा जुटेका धेरैजसो मानिस कुचो समातेजस्तो गरेर फोटो खिच्नतर्फ बढी तल्लीन थिए। तर, लीलामणि पौडेल र गोविन्द केसीको अवस्था बेग्लै थियो। पौडेल र केसी असाध्यै दुर्गन्धित फोहोरमा अलिकति पनि अप्ठेरो नमानेर हात गाडिरहेका थिए।

गर्दागर्दै एकछिनमा डा. केसी एउटा अड्किरहेको नालीमै हात लगाउन पुगे। त्यहाँ हात हाल्नेबित्तिकै बान्ता आउलाजस्तो दुर्गन्ध झनै तीब्र हुन थाल्यो। मैले यसो वरपर हेरेँ। हत्तेरी, त्यो त छेवैको सार्वजनिक शौचालयबाट निस्केको नाली पो रहेछ। डा. केसी धमाधम त्यहाँ जमेको फोहोरलाई हातैले निकाल्न थाले। छेउछाउमा बसेका मानिस दुर्गन्धले यताउता भाग्दै थिए। डा. केसी भने त्यो नालीको पानीले निकास नपाएसम्मै त्यसैलाई खोतल्दै र निकाल्दै थिए।

यसो सम्झेँ, बिहे पनि नगरी बसेका एक्ला प्राणी, त्यत्रो प्रतिष्ठित चिकित्सक, के नपुग्दो छ यिनलाई? झन् उता त्यस्तै फोहोरमा हात हालिरहेका व्यक्ति त निजामती सेवाकै सर्वोच्च पदमा पुगिसकेका। पूर्व मुख्यसचिव। यी दुवैका गतिविधिले म अवाक् भएँ। फेरि अर्कोतिरबाट मनमा लाग्यो, सर्वत्र यस्तै दुर्गन्धित फोहोरले पुरिएको यो मुलुकलाई अब कसैले केही गर्न सक्छ भने यस्तै मानिसले मात्र सक्छ।

‘चल भाइ,’ मैले पनि पाखुरो सुर्कें र डा. केसीले खोतलिरहेकै नालीमा आफ्नो हात गाडेँ। सुरुमा दुर्गन्धले असह्य भयो। पछि पछि त सामान्य लाग्न थाल्यो। एक खालको आनन्द पनि मिल्यो। आखिर संसार संगतले नै बदल्ने त हो। मलाई लाग्छ हामीले यस्ता डा. केसीहरू अरू पनि पाउने र यस मुलुकका तन्नेरी पुस्ताले त्यस्ताको संगत भेट्टाउने हो भने हाम्रा हातका रेखा फेरिन बेर लाग्ने छैनन्।

हिजो अख्तियारको विज्ञप्ती सम्झँदै छु। उनीहरूले डा. केसीलाई पागल भनेछन्। हो, हामीलाई यस्ता धेरै पागलको खाँचो छ। केही क्षणको संगतमै मानिसलाई ‘यसो गर’ नभनिकनै सकारात्मक बाटोमा फेरिदिन सक्ने पागल नै चाहिएको छ हामीलाई।

त्यो केही क्षणको भेटयता डा. केसीलाई मैले फेरि देख्न पाएको छैन। तर, त्यति एकछिनमै उनले ‘समाज’, ‘फोहोर’ र ‘सफाइ’बारे फेरिदिएको मेरो मानसिकता सदैव मसँग छ र रहिरहने छ।

र, अन्त्यमा विद्वान सूर्यराज आचार्यको सोमबार बिहानै ट्विटर टाइमलाइनमा प्रकाशित विचार जस्ताको त्यस्तै–

‘सुरुमा तिमीलाई बेवास्ता गर्छन्
अनि तिमीलाई उडाउँछन्
अनि तिमीसँग भिड्छन्
अनि तिमीले जित्छौ’– गान्धी
#‘तिमीलाई पागल भन्छन्’ छुटेछ!

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger