|
|
प्राचीन भारतीय उपमहाद्धीप खण्डमा १६ भन्दा बढी गणराज्यहरु अस्तित्वमा थिए । तीमध्ये तत्कालीन मौर्य बंशका सम्राट अशोकले शासन गरेको मगध राज्य अत्यन्त शक्तिशाली थियो । ईसापूर्व तेस्रो शताब्दिको शुरुतिर मगधले विशाल कलिङग युद्ध लडे, जिते पनि । तर जितबाट सम्राट अशोक विल्कुलै खुसी भएनन् । उनी युद्धमा अपनाएइका हिंसात्मक गतिविधिबाट हदैसम्म निराश बन्न पुगे । त्यसपछि उनी बौद्ध दर्शनसंग नजिकिन पुगे ।
ईसापूर्व तेस्रो शताब्दिको शुरुतिर मगधले विशाल कलिङग युद्ध लडे, जिते पनि । तर जितबाट सम्राट अशोक विल्कुलै खुसी भएनन्
त्यसपछि उनी सिद्धार्थ गौतम बुद्धको जीवनसंग जोडिएका विभिन्न महत्वपूर्ण ठाउँहरुको धार्मिक तथा आध्यात्मिक भ्रमण गर्न थाले । उलने आफ्नो यात्रालाई जीवन्त बनाउन जुन ठाउँमा गए त्यही ठाँउमा शिलास्तम्भ र चैत्यहरु स्थापना गर्दै गए ।
यसैक्रममा भगवान गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेको २९४ वर्षपछि अर्थात् ईसापूर्व २४९ मा सम्राट अशोकले आफ्नो राज्यरोहण भएको बीसौ वर्षगाठको अवसरमा लुम्बिनी क्षेत्रको भ्रमण गरेका थिए । त्यसैवेला उनले बुद्धको जन्मस्थल लुम्बिनीलगायत नेपालको अन्य दुई ठाँउहरु क्रमस: क्रकच्छन्द बुद्धको जन्मस्थल कपिलवस्तुको गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा पनि शिलास्तम्भ स्तम्भ खडा गरेका थिए । त्यही शिलास्तम्भहरुमा कुँदिएका अभिलेखहरुकै आधारमा प्राचीन बौद्ध ग्रन्थहरुमा व्याख्या गरिएको तीन बुद्धहरुको जन्मस्थल पत्ता लागेको हो । तीन बुद्धहरुले नेपाली भूमिमा जन्म लिएको हुनाले अन्तर्राष्ट्रिय बौद्धजगतमा नेपाललाई पवित्र बुद्धभूमिको नामले पनि चिन्ने गरिन्छ ।
बुद्धको जीवनसंग जोडिएका ठाउँहरु हालको भारतको क्रमशः बोधगया(ज्ञान प्राप्त गरेको) , सारनाथ(पहिलो उपदेशना दिएको) र कुशीनगर(महापरिनिर्वाणा प्राप्त गरेको) धेरै वर्षअघि नै पत्ता लागिसकेको थियो । तर उनको जन्मथलोको बारेमा संसारका विद्वानहरु अध्ययन अनुसन्धानकै क्रममा थिए । कतिले भगवान बुद्धको जन्म पनि उत्तरी भारतको कुनै भूभागमा भएको हुनसक्दछ भन्ने अनुमानसमेत लगाउने गर्दथे । तर, जब १८९६ मा अशोक स्तम्भको उत्खनन्बाट भगवान बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाणित भयो ती सबै भ्रमहरु खतम भए ।
बौद्ध दर्शनको विस्तारमा सम्राट अशोकको अतुलनीय योगदानलाई नकार्न सकिन्न । कलिङ्ग युद्धपछि उनले आफ्नो सम्पूर्ण राज्यशक्ति नै बौद्ध दर्शन विस्तारमा लगाए । मगध राज्यको राष्ट्रिय धर्म नै बुद्धधर्म बनाईदिए । अशोकको छोरी संघमिता र छोरो महिन्दाले आफ्नो बुवाको पाईला पछ्याउँदै इँटमा इँट थप्ने काम गरे । बौद्ध दर्शन विस्तारको क्रममा सम्राट अशोकले ८४,००० साना चैत्यहरु बनाए भने जम्मा ४० वटा अशोक स्तम्भहरु विभिन्न स्थानमा खडा गरे । अशोकको पालामा सम्पूर्ण भारतीय उपमहाद्धीप नै बौद्ध दर्शनले ढाक्न पुगेको थियो ।
सम्राट अशोकपछि चाईनिज यात्रीहरु क्रमशः सेङ साई (चौथो शताब्दी) , फा–सियानँब (पाँचौ शताब्दी) र युयन च्वाङ (सातौ शताब्दी) ले लुम्बिनी क्षेत्रको भ्रमण गरेका थिए । सन् ६३६ मा चाईनिज भिक्षु युयन च्वाङले लुम्बिनी क्षेत्रको भ्रमण गर्दा घोडा र कमलको फूलको आकृति अशोक स्तम्भको माथिल्लो भागबाट भुईमा झरेको अवस्थामा देखेका थिए । उनले यो कुरा आफ्नो यात्रा संस्मरणमा स्पष्टसंग लेखेका छन् । उनले देखेको कमलको फूलको आकृति आज पनि सुरक्षित रहेकोछ भने घोडाको आकृति लोप भइसकेको छ ।
शिलास्तम्भमा भगवान बुद्ध यहा जन्मेको हुनालेबुद्धको जन्मस्मारक शिलामा पुजापाठ गर्नुका साथै शिलास्तम्भ स्थापना गरियो भनेर सम्राट अशोकले लेखेका छन् । उनले कूल ९० वटा ब्राह्मी अक्षरको प्रयोय गर्दै ५ लाईनमा पाली भाषामा आफ्नो तीर्थयात्राबारे लेखेका छन् । जसबाट बुद्ध को थिए ? उनी कहाँ जन्मे ? र भौगोलिक रुपमा लुम्बिनी कहाँ पर्दछ ? भन्ने प्रश्नहरुको विश्लेषात्मक उत्तर सजिलै पाउन सकिन्छ । उनका अनुसार बुद्ध हामी जस्तै सामान्य मानिस थिए । उनी लुम्बिनीमा जन्मे र लुम्बिनी भनेको यही हो जहाँ यो शिलास्तम्भ उभिएको छ ।
सन् १३१२ मा कर्णालीको राजा रिपु मल्ल लुम्बिनी भ्रमणमा आएका थिए । उनले अशोक स्तम्भको माथिल्लो भागमा ‘ॐ मने मद्मे हुम् रिपु मल्ल चिरञ्जयतु’लेखेका छन् । राजा रिपु मल्लको आगमनपछि ठीक ५८४ वर्षसम्म लुम्बिनी क्षेत्र मानव सम्पर्क बाहिर रहन गएको देखिन्छ । यसबीचमा यस क्षेत्रमा कुनै पनि मानव क्रियाकलाप सञ्चालन भएको देखिन्न । जब सन् १८९६ मा पाल्पाका बडाहाकिमखड्ग शम्सेर र डा. एलियस फुहररले अशोक स्तम्भलगायत मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे तब फेरि लुम्बिनी क्षेत्र मानवसम्पर्कसंग जोडियो ।
दुवैले अशोक स्तम्भको उत्खनन् गरे । तर,स्तम्भमा कुँदिएको अक्षर पढ्न सकेनन् । त्ययसपछि उनीहरुले शिलालेखको फोटो खिचे र त्यसलाई अष्ट्रियाको भियना विश्वविद्यालय पठाए । जहाँ ब्राह्मी लिपि र पाली भाषाको विज्ञ प्रो. डा. बुलर हुनुहुन्थ्यो
पाल्पाका बडाहाकिम खर्गशम्शेर लुम्बिनीको घना जङ्गलमा शिकार खेल्दै गर्दा उनले अशोक स्तम्भको टुप्पोको सानो भाग जमीनमाथि देखे । उनलाई खुल्दुली उत्पन्न भयो । तर, के गर्ने भन्ने मेलोमेसो पाउन सकेनन् । संयोगले ब्रिटिश ईन्डिया कम्पनी सरकारमा पुरातत्वविदका रुपमा कार्यरत जर्मनी नागरिक डा. एलियस फुहररसंग उनको भेट भयो । र, दुवैले अशोक स्तम्भको उत्खनन् गरे । तर,स्तम्भमा कुँदिएको अक्षर पढ्न सकेनन् । त्ययसपछि उनीहरुले शिलालेखको फोटो खिचे र त्यसलाई अष्ट्रियाको भियना विश्वविद्यालय पठाए । जहाँ ब्राह्मी लिपि र पाली भाषाको विज्ञ प्रो. डा. बुलर हुनुहुन्थ्यो । अन्ततः प्रो. बुलरले अंग्रेजीमा सो अभिलेखलाई जस्ताको तस्तै उल्था गरिदिए । तत्पश्चात् बुद्धको वास्तविक जन्मस्थल लुम्बिनी पत्ता लाग्यो ।
अशोक स्तम्भलगायत यसको वरिपरि रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको स्मारकहरुकै कारण सन् १९९७ देखि बुद्धको जन्मस्थल लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भइसकेको छ । सम्राट अशोकले अशोक स्तम्भ स्थापना नगरेको भए हामी यति निर्धक्कसाथ भन्न सक्ने हुन्थेनौ – बुद्ध यही हाम्रो लुम्बिनीमा जन्मेको हो । यसर्थ अशोक स्तम्भ हामी सबै नेपालीका लागिे भाग्य र गौरव दुवै हो । जसले भगवान बुद्धको जन्मस्थलवारे भ्रमको खेती गर्नेहरुलाई हरेक पल खबरदारी गरिरहेको छ – भगवान गौतम बुद्ध केवल नेपालको लुम्बिनीमा जन्मेका हुन् भनेर ।
|
|
Post a Comment