Headlines News :
Home » » १० हजार म्यानपावर एजेन्टको लाइसेन्स खोस्ने सरकारको तयारी

१० हजार म्यानपावर एजेन्टको लाइसेन्स खोस्ने सरकारको तयारी

Written By news on Tuesday, 31 May 2016 | 00:05

१८ जेठ, काठमाडौं । वैदेशिक रोजगारीलाई ‘ठगीको धन्दा’ कसले बनायो ? धेरैैको एउटै उत्तर हुन्छ-‘म्यानपावर सञ्चालक र तिनका एजेन्ट (दलाल) ले ।’

लगभग वास्तविकता पनि त्यस्तै छ । म्यानपावरहरुसँग सेटिङ गर्दै सोझा-साझा युवालाई पुरा हुनै नसक्ने सपना बाँडेर कमाउ धन्दा चलाउने एजेन्टहरुको सञ्जाल बढ्दै छ । यसैलाई ध्यानमा राखेर सरकारले म्यानपावरका लागि एजेन्ट तोक्ने कानुनी व्यवस्था नै हटाउने तयारी गरेको छ ।

नेपालमा म्यानपावरको एजेन्टका लागि सरकारले लाइसेन्स नै जारी गर्दै आएको छ । यसका लागि दुई लाख रुपैयाँ धरौटी राख्नुपर्छ । तर, सुरक्षित आप्रवासनमा काम गर्ने अधिकारवादीले यसलाई ‘ठगीको लाइसेन्स’ भन्दै तीव्र आलोचना गरेपछि सरकारले लाइसेन्स दिने व्यवस्थालाई नै हटाउने तयारी गरेको छ ।

संशोधनको तयारीमा रहेको वैदेशिक रोजगार ऐनले अब एजेन्ट सम्बन्धी व्यवस्थालाई खारेज गर्ने लगभग पक्कापक्की भएको छ । नयाँ ऐन जारी भएपछि नेपालमा म्यानपावर एजेन्टको वैधानिकता सकिनेछ । यसपछि एजेन्टको लाइसेन्स देखाउँदै युवालाई शहरका म्यानपावरमा ल्याएर ‘बेच्ने’ एजेन्टहरु खारेज हुनेछन्।

सरकारले धेरै युवा एजेन्टमार्फत म्यानपावरसम्म आउँदा ठगिने गरेको निश्कर्ष निकालेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले मात्रै पछिल्ला १० महिनामा २२ वैदेशिक रोजगारीका नाममा भएका ठगीका मुद्दामा २४ एजेन्टलाई पक्राउ गरेको छ । यसै तथ्यबाट पनि सरकार झस्किएको हो ।

मन्त्री एजेन्टको विपक्षमा
श्रम तथा रोजगारमन्त्री दीपक बोहोरा जस्तोसुकै अवस्थामा पनि अब वैदेशिक रोजगारमा रहेका एजेन्टलाई वैधानिकता दिने पक्षमा छैनन् ।

ऐन संशोधनबारे सुझाव दिन गएको एक टोलीसँग मन्त्री बोहोराले एजेन्टका कारण वैदेशिक रोजगारी प्रदुषित भएको भन्दै नयाँ ऐनले एजेन्टको परिकल्पना नै नगर्ने बताए ।

‘अबको ऐन संशोधनपछि सरकारले एजेन्टलाई चिन्दैन,’ उनले भने-‘वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने दायित्व सरकारको हो । त्यसैले ठगीका लागि राज्यले प्रोत्साहन दिने व्यवस्था हटाउनुपर्छ ।’

म्यानपावरको पनि जोड

वैदेशिक रोजगार व्यवसायी संघले यसअघि नै सरकारलाई सबै एजेन्ट खारेज गरेको भन्दै पत्र लेखेको थियो । एजेन्टहरुले ठगी गर्ने क्रम बढ्दा आफूहरुले बदनामी भएको संघका अध्यक्ष बिमल ढकाल बताउँछन् ।

‘सरकारले कामदारसँग १० हजार रुपैयाँ लिन पाउने गरी शुल्क तोकेको छ । तर, एजेन्टले कामदर ल्याउँदा नै ठूलो रकम माग्छ’ अध्यक्ष ढकालले भने ।

फ्री भिसा र टिकट कार्यान्वयन बाधक

फ्री भिसा र टिकट कार्यान्वयनमा पनि एजेन्टको अनावश्यक सक्रियताले समस्या पारिरहेको एक श्रम अधिकारीले बताए । ‘एजेन्टले गाउँका युवालाई अनेक सपना देखाएर शहर ल्याउँछन्’ ति अधिकारी भन्छन्-‘म्यानपावरसँग बार्गेनिङ गर्छ, आफुले भनेजति पैसा नपाएसम्म युवालाई म्यानपावरमै लैजाँदैन । युवाको पासपोर्ट आफ्नो खल्तिमा हालेर पैसाको बार्गेनिङमा लाग्छ । त्यसैले अब एजेन्टलाई विस्थापन गर्नैपर्छ ।’

उनले एजेन्टको बदमासीले कतिपय व्यवसायी समेत बाध्य भएर ठगी धन्दामा लागेको बताए । आफूले भनेजति रकम नदिएसम्म कामदारलाई म्यानपावरमा नपुर्‍याउने र पैसाकै लागि अवैधानिक म्यानपावर र ठगको सञ्जालमा बुझाइदिने गरेको ति अधिकारी बताउँछन् ।

‘व्यवसायी पनि कमाउनै बसेका हुन्, गाउँबाटै पासपोर्ट नै होल्ड गरेर युवालाई बाध्य बनाइन्छ’ त्यसैका कारण व्यवसायी पनि कमाउने चक्करमा पर्दा युवा फस्छन्’ उनले भने ।

एजेन्ट खारेज भएपछि युवा जसरी पनि आफैं म्यानपावर पुग्ने सरकारको अपेक्षा छ ।

१० हजार एजेन्ट !

वैधानिक रुपमा लाइसेन्स लिएका एजेन्टको संख्या ७ सयको हाराहारी मात्रै छ । एजेन्टहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एसोशिएसनले वैधानिक एजेन्टले राखेका १० हजार सब-एजेन्ट नेपालका क्रियाशील रहेको दावी गर्ने गरेको छ ।

संघले दावी गर्ने सब-एजेन्ट कुनै रुपमा कानुनी होइनन् । तर, उनीहरु सरकारसँग विभिन्न कुरामा बार्गेनिङका लागि पुग्ने गरेका छन् । तिनै एजेन्ट र अवैधानिक सब-एजेन्टले कामदार ठग्ने क्रम पछिल्लो समयमा निकै बढेको छ ।

गत असार २१ गतेदेखि मलेसिया र खाडीका ६ मुलुकका लागि निःशुल्क भिसा र टिकटको नीति लागू भएपछि सूचीकृत एजेन्ट नवीकरण गर्न व्वयायीले चासो देखाएका छैनन् । यसैकारण सब-एजेन्टका नाममा सक्रिय हुनेहरुले कामदारलाई ठग्ने गरेका छन् ।

अहिले म्यानपावर व्यवसायीको सिफारिसमा २ लाख रुपैयाँ धरौटी राखेर विभागबाट एजेन्टको लाइसेन्स लिन पाइन्छ । उसले कामदार ठगेमा धरौटी रकम निकालेर कामदारलाई दिने व्यवस्था छ । तर, त्यसको कार्यान्वयन खासै हुन सकेको छैन ।

एजेन्ट नभए के हुन्छ ?

म्यानपावर व्यवसायीले सरकारसँग म्यानपावरको शाखा कार्यालय खोल्न पाउनुपर्ने माग गरेका छन् । एजेन्टको ठगी रोक्न जिल्लाहरुमा म्यानपवरको शाखा खोल्न दिनुपर्ने संघका अध्यक्ष ढकालले बताए । फ्री भिसा र टिकटको निर्णयपछि म्यानपावर व्यवसायीहरु एजेन्टको नवीकरण छाडेर यसैका लबिङ गरिरहेका छन् ।

तर, त्यसबारे सरकारले कुनै निर्णय गरेको छैन । सूचीकृत एजेन्टले कामदार खोजेर ल्याएबापत कमिसन लिन्छन् । तर, फ्री भिसाको निर्णयमा एजेन्टले कति पाउने भन्ने उल्लेख छैन ।

त्यसैकारण सरकारले फ्री भिसाको निर्णयमा रहेको यो जटिलता हटाउन पनि एजेन्ट नै नरहने व्यवस्था गर्न गर्न लागेको हो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger